Matra Education आइतबार, साउन १० २०८३

नर्दन स्टार एजुकेसन कन्सल्टेन्सीको अब्रोड स्टडी तथा करियर काउन्सिलिङ कार्यक्रम सम्पन्न

नर्दन स्टार एजुकेसन कन्सल्टेन्सीको अब्रोड स्टडी तथा करियर काउन्सिलिङ कार्यक्रम सम्पन्न

  • मात्र एजुकेशन
  • मंगलबार, असार ५ २०८१


काठमाडौँ- चाबहिलमा रहेको नर्दन स्टार एजुकेसन कन्सल्टेन्सीले अब्रोड स्टडी तथा करियर काउन्सिलिङ कार्यक्रम सम्पन्न गरेको छ। मङ्गलवार इम्पेरीयल बैंकेटमा आयोजित एक कार्यक्रमका बिच कन्सल्टेन्सीले विभिन्न देशका विश्वविद्यालयका प्रतिनिधि तथा विज्ञहरूको उपस्थितिमा आफ्ना विद्यार्थीहरूलाई परामर्श प्रदान गरेको हो।

नर्दन स्टार एजुकेसन कन्सल्टेन्सीका प्रबन्ध निर्देशक सोम दर्शनधारीको सभापतित्वमा सम्पन्न कार्यक्रममा युनि कन्सलट्यान्स अलायन्स (युसिए) का अध्यक्ष विनोद कुमार सुवेदी प्रमुख अतिथिका रूपमा रहेका थिए। कार्यक्रममा विभिन्न अन्तर्राष्ट्रिय विश्वविद्यालय तथा क्याम्पसका प्रतिनिधिहरू, नेपाली शैक्षिक संस्थाका प्रतिनिधिहरू अतिथिका रूपमा रहँदा १०० भन्दा बढी विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको थियो।

कार्यक्रममा क्यानडाको ‘युनिभर्सिटी अफ क्यानडा वेस्ट’ का ‘बिजनेस डिभलपमेण्ट म्यानेजर’ नेत्र कोइरालाले अध्ययन गन्तव्यका रूपमा क्यानडा बारे जानकारी गराएका थिए। उनले क्यानडा अध्ययन गर्न जाँदा लिनुपर्ने जानकारीहरू बारे अवगत गराउँदै अध्ययनका लागि जुनसुकै देश जाने भए पनि बुझेर जान सुझाव दिए।

त्यस्तै अस्ट्रेलियाको ‘नेसनल एकेडेमी अफ प्रोफेसनल स्टडिज (न्याप्स)’ का ‘रिजनल मार्केटिङ म्यानेजर’ मुकेश धमलाले अस्ट्रेलिया अध्ययन बारे जानकारी गराउँदै पछिल्लो समय अस्ट्रेलियाले नीति नियमहरूमा ल्याएका विभिन्न परिवर्तनहरू बारे समेत जानकारी दिए। उनले अस्ट्रेलिया अध्ययनका लागि जानु अघि विद्यार्थीले बुझ्नुपर्ने कुरा देखि त्यहाँको शिक्षा र जीवनशैली बारे समेत बताएका थिए।

कार्यक्रममा आयरल्यान्ड स्थित आइब्याट कलेजकी ‘बिजनेस डिभलपमेण्ट एक्जिक्युटिभ’ आश्ना श्रेष्ठले आयरल्यान्ड अध्ययन बारे जानकारी दिएकी थिइन्। उनले अध्ययन गन्तव्यका रूपमा युरोप र आयरल्यान्ड बारे समग्र जानकारी गराउँदै त्यहाँको शिक्षा, जीवनशैली, पढाई पछिको अवसर लगायत विषयमा उपस्थित विद्यार्थीलाई अवगत गराएकी थिइन्।

कार्यक्रममा युसिएका प्रबन्धक सुनिल काफ्लेले अमेरिका र न्युजिल्याण्ड अध्ययन बारे महत्त्वपूर्ण जानकारी विद्यार्थीहरूलाई दिएका थिए। आफ्नो प्रस्तुति पश्चात् सबै वक्ताहरूले आफ्नो प्रस्तुतिका बारेमा विद्यार्थीहरूले उठाएको प्रश्नको जवाफ दिएका थिए।

कार्यक्रमका प्रमुख अतिथि सुवेदीले अर्थपूर्ण कार्यक्रम आयोजना गरेको भन्दै आयोजकलाई धन्यवाद दिए। उनले आजका विद्यार्थी सामु विदेश जाने वा नेपाल अध्ययन गर्ने भन्ने दुई विकल्प रहेको र ती दुवै विकल्प आ-आफ्नो ठाउँमा राम्रो रहेको बताए। विद्यार्थीको रुचि, चाहना, क्षमता र अवस्थाले कुन विकल्प उपयुक्त भन्ने निर्धारण गर्ने उनको भनाई थियो। उनले विदेश जाने सोच बनाएको भए आफैँले राम्रो सँग बुझेर, अनुसन्धान गरेर मात्रै जान र नेपालमै पढ्ने सोच बनेको भए पनि समय खेर नफाली मेहनत गर्न सुझाव दिए। भविष्य निर्माणको महत्त्वपूर्ण निर्णय लिँदा अनिवार्य अभिभावकलाई त्यो प्रक्रियामा समावेश गराउन सुवेदीले अनुरोध गरे।

कार्यक्रमका सभापति दर्शनधारीले विद्यार्थीको उत्साह र अतिथिहरूको साथले कार्यक्रम सफल भएको भन्दै सबैलाई धन्यवाद दिए। उनले नर्दन स्टार एजुकेसन कन्सल्टेन्सीले विद्यार्थीको हितका लागि यस्ता कार्यक्रम आयोजना गर्दै आएको र स्तरीय परामर्श दिन प्रतिबद्ध रहेको भन्दै कार्यक्रम समापन गरे।

कार्यक्रमका तस्बिरहरु हेर्न यहाँ क्लिक गर्नुहोस्

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड