काठमाडौँ- नेपाल उद्योग परिसंघले नेपालको शिक्षा क्षेत्रको स्तर वृद्धिका लागि विभिन्न विश्वविद्यालयका उपकुलपतिहरूसँग छलफल गरेको छ ।परिसंघको शिक्षा परिषद्को संयोजनमा शुक्रवार भएको छलफलमा पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा. डा. बिजु कुमार थपलिया, लुम्बिनी विश्वविद्यालयका उपकुलपति प्रा. डा. सुवर्ण बज्राचार्य र मध्यमाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा. डा. ध्रुव कुमार गौतम सहभागी थिए। कार्यक्रममा अबको शिक्षाको प्रणाली तथा संयन्त्र कस्ता हुनुपर्ने, विश्वविद्यालय र उद्योगहरूबिच सहकार्यको सम्भावना र बजार केन्द्रित शैक्षिक कार्यक्रम लगायतका विषयमा छलफल भएको आयोजकले जनाएको छ।
नेपाल उद्योग परिसंघ शिक्षा परिषद्का सभापति द्धिराज शर्माको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा परिसंघका उपाध्यक्ष निर्वाण चौधरीले स्वागत मन्तव्य राखेका थिए। परिसंघले उक्त अवसरमा तिन विश्वविद्यालयसँग फरक फरक कामका लागी सम्झौता पनि गरेको छ। यस अन्तर्गत पूर्वाञ्चल विश्वविद्यालयसँग अनुसन्धान र इन्क्युबेटर सञ्चालनको लागि सम्झौता भएको छ भने उद्योग-सँग सम्बन्धित पाठ्यक्रम सुधारका लागि मध्यपश्चिम विश्वविद्यालयसँग सहकार्यको सहमति भएको छ। त्यस्तै लुम्बिनी बौद्ध विश्वविद्यालयसँग नेपालमा अध्ययन र बौद्ध धर्मको अध्ययनलाई प्रोत्साहित गर्नका लागि अन्तर्राष्ट्रिय सम्मेलनहरूमा सहभागी हुने योजनाहरूमा सहमति भएको छ। लुम्बिनी बौद्ध विश्वविद्यालयले यस सेप्टेम्बरमा सयौँ नयाँ चिनियाँ विद्यार्थीहरूलाई अध्ययनका लागि स्वागत गर्न लागिरहेको भन्दै परिसंघले खुसी व्यक्त गरेको छ।
उक्त छलफल कार्यक्रममा शिक्षा परिषद्का सदस्य र उद्यमीहरूले नेपाली सार्वजनिक संस्थाहरूलाई बलियो बनाउने विषयमा आ-आफ्ना भनाइहरू राखेका थिए।