काठमाडौँ- अस्ट्रेलियाको ‘फाम ट्रिप’ मा रहेको स्वतन्त्र शैक्षिक परामर्श संघ नेपाल (फेकन) को टोलीले नेपाललाई शैक्षिक हब बनाउन सहयोग गर्न अस्ट्रेलिया स्थित भिक्टोरियन सरकारलाई अनुरोध गरेको छ। अस्ट्रेलियाका विभिन्न शैक्षिक संस्थाहरूको २१ दिने भ्रमणका क्रममा त्यहाँ पुगेको टोलीले भिक्टोरिया प्रदेश सरकार, शिक्षा विभाग अन्तर्गतको ‘स्टडी इन मेल्वर्न’ सँग उक्त आग्रह गरेको हो। गत शुक्रवार भएको भेटमा संस्थाले स्टडी मेलबर्नका ‘मार्केट डेभलपमेन्ट म्यानेजर’ जोनाथन रसेल र ‘स्टडी हब मेलबर्नका म्यानेजर’ जुलियन जेफरिस समक्ष यस्तो प्रस्ताव गरेको हो।
उक्त अवसरमा भिक्टोरियन सरकारले फेकन टोलीलाई स्वागत गर्दै आवश्यक सहयोगको प्रतिबद्धता समेत व्यक्त गरेको थियो। फेकनका तर्फबाट संस्थाका अध्यक्ष राजु निरौलाले ‘फेकन फार्म ट्रिप’ को उद्देश्य बारे प्रस्ट पार्दै नेपाली विद्यार्थीहरूले अत्यधिक रुचाएको गन्तव्यका रूपमा रहेको अस्ट्रेलियामा देखिएका विभिन्न समस्याहरूको समाधान खोज्नु र नेपाललाई अन्तर्राष्ट्रिय विद्यार्थीहरूको अध्ययन गन्तव्य बनाउन पहल गर्नु आफूहरूको लक्ष्य भएको बताएका थिए। उनले बुद्धिजम, पर्वतारोहण, मेडिसिन, पर्यटन, होटेल व्यवस्थापन लगायतका थुप्रै विषयहरू पढ्न नेपाल सर्वोत्कृष्ट गन्तव्य भएको हुँदा नेपाललाई यी विषयहरूको शैक्षिक हब बनाउन सहयोग गर्न उनले अपिल गरेका थिए।
जवाफमा भिक्टोरियन सरकारका प्रतिनिधिहरूले फेकनले चासो राखेका विषयहरूमा सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । त्यस्तै फेकनको आग्रहमा विभिन्न ‘कल्चर एक्सचेन्ज’ का कार्यक्रमहरू सञ्चालन गर्नका लागि पनि भिक्टोरियन सरकार तयार भएको छ।
यस बिचमा अस्ट्रेलियाका विभिन्न शैक्षिक संस्थाहरूको भ्रमण गरेको फेकन टोलीले त्यहाँ अध्ययनरत नेपाली विद्यार्थीको अवस्था, शैक्षिक संस्थाहरूले उनीहरूलाई दिइरहेको सेवा सुविधा लगायतका विषयमा अन्तरक्रियाहरू गरेको छ।
त्यस्तै ‘फाम ट्रिप’ कै क्रममा फेकनले ‘अस्ट्रेलियन एजुकेसन कन्सल्टेन्ट एलायन्स’ (एका), ‘नेपलिज एसोसिएसन अफ भिक्टोरिया’ (एनएभी), ‘एनआरएनए अस्ट्रेलिया’ र ‘जनरल कन्सुलेट’ सँग पनि अन्तरक्रिया गरेको छ। सोमबार भएको उक्त अन्तरक्रियामा पनि नेपाली विद्यार्थीहरूलाई छात्रवृत्ति दिने, उनीहरूलाई कुनै समस्या परेमा समाधान गर्ने, वासस्थान खोजी लगायतका काममा सहयोग गर्दै आएकोमा सम्बन्धित संस्थाहरूलाई धन्यवाद दिँदै फेकनले यी सेवाहरू अझै बिस्तार गर्न र नेपाललाई शैक्षिक हब बनाउन सहयोग गर्न अनुरोध गरेको थियो।
आफूहरूले सधैँ नेपाली विद्यार्थीहरूलाई प्राथमिकतामा राखेको भन्दै ती संस्थाहरूले पनि थप सहकार्यको बाचा गरेका छन्। उक्त कार्यक्रम बाट ती संस्थाका प्रतिनिधिहरू अर्को वर्ष नेपाल आएर अन्तरक्रिया गर्ने, नेपाल सरकार सँग यस विषयमा कुराकानी गरेर आवश्यक प्रक्रिया अगाडी बढाउने र फेकनले आवश्यक सहजीकरण गर्ने सहमति बनेको छ।
उक्त अन्तरक्रिया कार्यक्रममा जनरल कन्सुलेट चन्द्र योञ्जन, एका अध्यक्ष रामचन्द्र पौडेल, एनएभी अध्यक्ष प्रेम राज उप्रेती, एनआरएनए अस्ट्रेलियाका उपाध्यक्ष मणि रत्न सापकोटा, फेकन अध्यक्ष राजु निरौला, फेकन पूर्व अध्यक्ष युवराज कटुवाल सहित भ्रमण दलमा आबद्ध अन्य सदस्यहरू सहभागी थिए।
यिनै एजेन्डाहरू बोकेर थप सहकार्यको प्रस्ताव सहित फेकन भ्रमण दल अब एन.एस.डब्ल्यु राज्यतिर जान लागेको संस्थाका सचिव इन्द्रजित गौतमले मात्र एजुकेसनलाई बताए। उनका अनुसार संस्थाले त्यहाँ रहुन्जेल थप शैक्षिक संस्थाहरूको भ्रमण गरी त्यहाँ रहेका नेपाली विद्यार्थीहरूको अधिकतम हितका लागि पहल गर्नेछ।
