Matra Education आइतबार, साउन १० २०८३

होराइजन एसोसिएट्स अब इटहरीमा पनि, गुणस्तरीय शैक्षिक परामर्श सेवा प्रदान गर्ने

होराइजन एसोसिएट्स अब इटहरीमा पनि, गुणस्तरीय शैक्षिक परामर्श सेवा प्रदान गर्ने

  • मात्र एजुकेशन
  • आइतबार, बैशाख २ २०८१


Horizon

काठमाडौँ- शैक्षिक परामर्श सेवा प्रदायक संस्था होराइजन एसोसिएट्सको सेवा इटहरीमा पनि बिस्तार भएको छ। राजधानीमा प्रधान कार्यालय राखेर सेवा दिँदै आएको यो संस्थाले इटहरीका विद्यार्थीको सुविधालाई मध्यनजर गर्दै उनीहरूकै सहरमा स्तरीय भाषा कक्षा तथा परामर्श सेवा प्रदान गर्ने उद्देश्यले सेवा बिस्तार गरेको हो। वैशाख १ गते नयाँ वर्षको पावन अवसर पारेर इटहरीमा होराइजनको कार्यालय उद्घाटन गरिएको हो।

होराइजन एसोसिएट्सका संस्थापक अध्यक्ष प्रधुन्न बोगटीको सभापतित्वमा सम्पन्न उद्घाटन समारोहमा प्रमुख अतिथिका रूपमा लामो समय देखि शिक्षा क्षेत्रमा क्रियाशील व्यक्तित्व तथा इटहरी स्थित पिस जोन रेसिडेन्सियल सेकेण्डरी स्कुलका प्रधानाध्यापक जगदीश प्रसाद वली रहेका थिए। नेपाल शैक्षिक परामर्श संघ (नेका) का कोसी प्रदेश अध्यक्ष सन्तोष कुरुङ्वाङ तथा स्थानीय शैक्षिक संस्थाका प्रमुखहरू विशेष अतिथि रहेको कार्यक्रममा विभिन्न क्षेत्रको प्रतिनिधित्व गर्ने प्रतिष्ठित व्यक्तित्वहरू अतिथिका रूपमा उपस्थित थिए। कार्यक्रममा होराइजन इटहरीका कर्मचारीहरू तथा शुभचिन्तकहरूको भव्य उपस्थिति रहेको थियो।

कार्यक्रममा उपस्थित अतिथिलाई स्वागत गर्दै होराइजन इटहरीका ‘बिजनेस डेभलपमेन्ट म्यानेजर’ किरण कुमार थापाले उपस्थितिका लागि सबैलाई धन्यवाद दिए। सबैको साथ र सहयोगले होराइजन इटहरी भरपर्दो र विश्वासिलो परामर्शदाता हुने उनको विश्वास थियो।

त्यस्तै संस्थाका प्रबन्ध निर्देशक सचिन बस्नेतले होराइजनको बारेमा जानकारी गराउँदै होराइजनले परामर्श सेवा प्रदान गर्ने गन्तव्यहरू बारे चर्चा गरे। उनले होराइजनलाई इटहरीको सबैभन्दा विश्वासिलो परामर्शदाता तथा गुणस्तरीय भाषा कक्षाको केन्द्र बनाउने प्रयास गर्ने बताए।

कार्यक्रमका प्रमुख अतिथि ओलीले आफ्नै पूर्व विद्यार्थीहरूले व्यावसायिक कार्यालय खोलेर आफू बाटै उद्घाटन गराएकोमा खुसी व्यक्त गरे। उनले पछिल्लो समय परामर्श व्यवसायमा विभिन्न समस्या देखिन थालेको भन्दै नेपाली विद्यार्थी ठगिनु भनेको आफ्नै भाइ बहिनी ठगिएको हो भन्ने सोचेर काम गर्न सुझाव दिए। परामर्श व्यवसाय आफैँमा राम्रो पेसा भए पनि यो क्षेत्रमा हुने गरेका केही बदमासीहरूले सिङ्गो क्षेत्र नै बदनाम हुने गरेको प्रति संकेत गर्दै उनले समाज प्रतिको आफ्नो कर्तव्य सम्झिएर र सम्भव हुने जति मात्रै सपना देखाएर विद्यार्थी विदेश पठाउन सुझाव दिए। ओलीले नेपाली अभिभावकहरू पनि प्रतिस्पर्धाका लागि छोराछोरी विदेश पठाउने तिर लागेको भन्दै त्यसो गर्न नहुने र गएका विद्यार्थीहरू पनि आवश्यक ज्ञान, सिप र दक्षता हासिल गरेर नेपाल फर्किनुपर्ने भनाई राखे। उनले होराइजन इटहरीलाई आगामी दिनमा सफलताको शुभकामना दिए।

कार्यक्रममा बोलेका अन्य वक्ताहरूले होराइजनलाई व्यावसायिक उन्नति र प्रगतिको शुभकामना दिए।

कार्यक्रमका सभापति बोगटीले कार्यालय उद्घाटन कार्यक्रममा उपस्थित सबैलाई धन्यवाद दिए। उनले इटहरीको बजारमा स्तरीय परामर्श सेवा प्रदायकको आवश्यकता देखेर नै आफूहरूले सेवा बिस्तार गरेको बताए। होराइजनले वर्षौँ सेवा दिँदा कहिल्यै गलत काम नगरेको हुँदा आगामी दिनमा पनि कहिल्यै नगर्ने उनको प्रतिबद्धता थियो। बोगटीले स्तरीय सेवा प्रदान गरेर नै आफूहरू स्थापित हुने दाबी गरे। उनले उपस्थित सबैबाट सकारात्मक साथ सहयोगको अपेक्षा गरेको बताउँदै कार्यक्रम समापन गरे।

इटहरीमा कार्यालय उद्घाटन भएको अवसरमा संस्थाले भाषा कक्षा, भिसा आवेदन तथा अन्य प्रक्रियाहरूमा विशेष छुटको अफर घोषणा गरेको छ। उद्घाटन कार्यक्रममा सहभागी भएका विद्यार्थीहरूले आफूले पाएको भौचर बाट यस्तो सुविधा लिन सक्ने बताइएको छ।

कार्यक्रमका थप तस्बिरहरू हेर्न यहाँ क्लिक गर्नुहोस्।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड