Matra Education आइतबार, साउन १० २०८३

मन्त्रालय ‘एजुकेसन डिप्लोमेसी’ मार्फत नेपाललाई शैक्षिक हब बनाउने तयारीमा छ: प्रवक्ता सापकोटा

मन्त्रालय ‘एजुकेसन डिप्लोमेसी’ मार्फत नेपाललाई शैक्षिक हब बनाउने तयारीमा छ: प्रवक्ता सापकोटा

  • मात्र एजुकेशन
  • मंगलबार, चैत्र ६ २०८०


काठमाडौँ- शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता शिव प्रसाद सापकोटाले शिक्षा मन्त्रालय ‘एजुकेसन डिप्लोमेसी’ मार्फत नेपाललाई शैक्षिक हब बनाउने तयारीमा रहेको बताएका छन्। सोमवार नेपाल शैक्षिक परामर्श संघ (इक्यान) ले आयोजना गरेको एडुक्लेभ २.० को एक सत्रमा बोल्दै उनले यस्तो बताएका हुन्। इक्यानले कार्यक्रममा प्रस्तुत समूहगत छलफलको चौथो सत्रमा ‘नेपालमा उच्च शिक्षाको सार अन्वेषण: नेपालमा प्रवर्द्धन र अध्ययन’ शीर्षकमा छलफल गराएको थियो। छलफलमा प्रवक्ता सापकोटा सहित लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति प्रा डा सुवर्ण लाल बज्राचार्य, काठमाडौँ विश्वविद्यालयका रजिस्ट्रार डा अच्युत वाग्ले, इन्जिनियरिङ अध्ययन संस्थान पुल्चोक क्याम्पसका सहायक डिन प्रा डा विनोद कुमार भट्टराई र प्रस्तावित शैक्षिक परामर्श व्यवसायी महासंघका संयोजक राजेन्द्र बराल प्यानल सदस्यका रूपमा रहेका थिए। उक्त सत्रको सहजीकरण सञ्चारकर्मी टिकाराम यात्रीले गरेका थिए।

सापकोटाले अध्ययनका लागि नेपाली विद्यार्थी बाहिरिनुमा नीतिगत समस्या मात्रै कारण नभएको बताए। उनले नेपाली शैक्षिक संस्थाहरूको गुणस्तर, परीक्षा र मूल्याङ्कन प्रणाली आदि बारे सोच्नुपर्ने बेला भएको उल्लेख गरे। उनले भने, : “प्रत्येक वर्ष एक लाखको हाराहारीमा नेपाली विद्यार्थी बाहिरिएपछि अब हामीले सोच्नुपर्‍यो। अब हाम्रो पनि आँखा खुल्नुपर्‍यो। विद्यार्थीको ‘पोइन्ट अफ भ्यु’ बाट हाम्रा विश्वविद्यालयहरूका नीतिहरूलाई सिर्जना गर्ने र पुनर्संरचना गर्ने ढङ्ग बाट अब हामीले सोचौँ। तपाईँहरूले जनस्तर बाट यसरी दबाब सिर्जना गर्ने, सुसूचित गर्ने जुन पहलकदमी लिनुभएको छ त्यसका लागि धन्यवाद।” नेपाललाई शैक्षिक हब बनाउने बाटो अब खुलेको भन्दै उनले अगाडी थपे, “अब मेरो विचारमा यो क्षेत्रमा हामीले केही न केही सुधार गरेर नेपाल जस्तो सुन्दर देशलाई हामीले एजुकेसन हब बनाउने अवसरको एउटा नयाँ ढोका खुल्यो भन्ने मलाई लाग्छ। सरकारले नयाँ ढङ्गले काम गर्नका लागि एउटा छुट्टै विधा ‘एजुकेसन डिप्लोमेसी’ बनाएर जाने गरी नयाँ मन्त्रीज्यू सँग पनि छलफल भइरहेको छ। नेपाललाई शैक्षिक हब बनाउन शिक्षा मन्त्रालय लागिरहेको जानकारी गराउन चाहन्छु। ”

प्यानलका अन्य ४ सदस्यहरूले पनि नीति निर्माण गरेर सरकारले उपयुक्त वातावरण बनाइदिने हो भने नेपाललाई विश्वकै आकर्षक शैक्षिक गन्तव्य बनाउन सकिनेमा जोड दिए।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड