काठमाडौँ- राष्ट्रिय शैक्षिक परामर्श संघ (नेका) को पाँचौँ वार्षिक साधारणसभा सम्पन्न भएको छ। शुक्रवार लिसारा रिसेप्सनको हलमा आयोजित एक कार्यक्रमका बिच संस्थाले साधारण सभा सम्पन्न गरेको हो ।
नेका अध्यक्ष सन्तोष प्याकुरेलको सभापतित्व तथा संघीय संसद्को शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति भानुभक्त जोशीको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा रास्वपाका सह प्रवक्ता मनिस झा, स्वतन्त्र सांसद अमरेश कुमार सिंह, रास्वपा सांसद विराजभक्त महर्जन, जसपा नेता भिम राई, युवा क्रिकेटर अविनाश बोहरा सहित विभिन्न संस्थाका प्रतिनिधिहरू अतिथिका रूपमा रहेका थिए। कार्यक्रममा नेका सदस्य परामर्श व्यवसायीहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा उपस्थित अतिथिलाई स्वागत गर्दै नेका उपाध्यक्ष निरज सिटौलाले पाँचौँ वार्षिक साधारणसभा वार्षिक साधारण सभा मार्फत परामर्श व्यवसाय क्षेत्रमा देखिएका चुनौतीहरूको सामना गर्ने र व्यवसाय क्षेत्रमा नयाँ अवसर सिर्जना गर्ने वातावरण बनाउन सकियोस् भन्ने कामना गरे।
नेका वरिष्ठ सल्लाहकार द्विराज शर्मा सिवाकोटीले परामर्श व्यवसाय क्षेत्र अब देशको एउटा ठुलो उद्योग बनिसकेको उल्लेख गरे। उनले परामर्श व्यवसाय क्षेत्रका विविध विषयमा आफूले अध्ययन गरेर तयार पारेको एक विशेष प्रतिवेदन पढेर सुनाउँदै उक्त क्षेत्रको आजको विद्यमान अवस्था, समस्या र समाधानका लागि राज्य र नीतिनिर्माताहरुले खेल्नुपर्ने भूमिकाबारे ध्यानाकर्षण गराए।

साधारण सभालाई शुभकामना दिन पुगेका एरि नेपालका महासचिव राजेन्द्र रिजालले नेपालमा समस्याहरूमा धेरै छलफल हुने तर ठोस समाधान कहिल्यै ननिस्कने परिपाटी बन्दै गएको प्रति चिन्ता व्यक्त गरे। उनले नीति नियमले कसरी समग्र क्षत्रमा प्रभाव पार्छ भन्ने बुझाउनका लागि सही नीतिका कारण नेपाल जलविद्युतमा आत्मनिर्भर बनेको तर गलत नीतिका कारण नेपालका नर्सिङ कलेज बन्द हुने अवस्थामा पुगेको उदाहरण दिए। राज्यले व्यवसायी जोगाउन सके मात्रै राज्य जोगिने उल्लेख गरेका रिजालले परामर्श व्यवसायीले विदेशमा विद्यार्थी मात्रै होइन नेपालका सद्भावना दूत पठाउने गरेको बताए।
त्यस्तै फेकनका महासचिव छविन्द्र ओझाले साधारण सभालाई सफलताको शुभकामना दिँदै अबको १० वर्ष परामर्श व्यवसाय क्षेत्रले व्यहोर्नुपर्ने चुनौतीहरू बारे छलफल गरेर निष्कर्ष निकाल्न भेला सफल होस् भन्ने कामना गरे। उनले शैक्षिक परामर्श व्यवसायी प्रति राज्यले गलत नजर राखेको भन्दै देश बिगारेको परामर्श व्यवसायीले नभई राज्य, राजनीतिक दल, शिक्षा नीति र त्यसको नेतृत्व गर्नेहरूले भएको उल्लेख गरे। नेपालको विश्वविद्यालयले समय सान्दर्भिक शिक्षा नदिएको कारण विदेश जाने लहर बढेको ओझाको भनाई थियो। उनले उच्च शिक्षा विधेयकमा धरौटी र दण्ड जरिवाना बारे गलत बुँदा राखिएको भन्दै फेकन त्यसो विरुद्धमा रहेको प्रस्ट पारे। उपस्थित सांसदहरू माझ ओझाले प्रश्न गरे,” सेवा शुल्क मात्रै लिने परामर्श व्यवसायीले धरौटी किन राख्ने? १ करोड धरौटी राख्नेले १० करोड ठगेर भाग्यो भने त्यसको जिम्मेवारी राज्यले लिन्छ ? राज्यले अनुगमन नियमन गर्न नसक्ने अनि त्यसको भार परामर्श व्यवसायीले बोकिदिनु पर्ने ?” उनले शिक्षा समितिमा छलफलका क्रममा विधेयक आउने हुँदा आफूहरूको आवाज समावेश गरिदिन कार्यक्रमका प्रमुख अतिथि र उपस्थित सांसदहरूलाई आग्रह गरे।

कार्यक्रमलाई सम्बोधन गर्दै आइडिपी र ब्रिटिस काउन्सिलका प्रतिनिधिले सफलताको शुभकामना दिए।
त्यस्तै अन्तर्राष्ट्रिय अभिभावक संघका अध्यक्ष नवराज काफ्लेले परामर्श व्यवसाय आवश्यक भए पनि पछिल्लो समय गलत काम गर्नेहरू यो क्षेत्रमा हाबी हुँदै गएको तितो यथार्थ भुल्नु नहुने उल्लेख गरे। उनले सबै काम आफै गरिदिन्छु भनेर विद्यार्थी सँग पैसा असुल्ने गरिएको भन्दै सही काम गरेर मात्रै पैसा कमाउन व्यवसायीहरूलाई सुझाव दिए। विद्यार्थी विदेश गइसकेपछि राम्रो सँग पढ्ने, काम गर्ने भयो भने मात्रै व्यवसायी सफल हुने उनको भनाई थियो। राज्यले शिक्षा नीति बनाउँदा नेपालीका छोराछोरी देशमै बस्न पाउने वातावरण बनाउनु पर्नेमा काफ्लेले जोड दिए।
कार्यक्रमलाई शुभकामना दिँदै संघिय सांसद विराजभक्त श्रेष्ठले परामर्श व्यवसाय क्षेत्रका विविध समस्याहरू समेटेर नेकाले बुझाएको ध्यानाकर्षण पत्र आफ्नो पार्टीले पाएको र त्यसलाई अब संसदीय दलमा लगेर छलफल गराउने तयारी रहेको उल्लेख गरे। उनले अब नेपाली विद्यार्थीहरू के पढ्न जाने भन्ने कुरामा परामर्श केन्द्रित हुन जरुरी भएको भन्दै व्यक्तिलाई के पढ्दा भविष्य निर्माण हुन्छ भन्ने बुझाउन परामर्श व्यवसायीले सक्नुपर्ने बताए। आज नेपालीहरू श्रमिक मात्र बन्ने होइन विश्वका विभिन्न देशमा उच्च पदमा बसेर समेत काम गर्न सक्षम भएकोमा खुसी हुनुपर्ने उनको भनाई थियो। नेपालको कूटनीति कमजोर हुँदा नेपाली व्यवसायीलाई काम गर्न भएको कठिनाइ आफूले बुझेको भन्दै नेपालको कूटनीति सुधार्नका लागि उनले शैक्षिक परामर्श व्यवसायीहरू सँग सुझाव माग गरे । अब नेपाली विश्वविद्यालयमा विदेशी विद्यार्थी पढाउने तिर नेपालले सोच्नुपर्ने श्रेष्ठले उल्लेख गरे।

स्वतन्त्र सांसद अमरेश कुमार सिंहले परामर्श व्यवसायमा देखिएको समस्या प्रति आफूहरू चिन्तित रहेको भए पनि परामर्श व्यवसायीले रेमिटेन्स बारे गलत तथ्यांक दिने गरेको भन्दै आक्रोश व्यक्त गरे। अध्ययन गर्न विदेशिने धेरै विद्यार्थी देश नफर्किने र उनीहरूले पैसा पनि नेपाल नपठाउने उनको भनाई थियो। राजनीतिक नेतृत्वले यो देश न हुने खानेको बनाउन सकेको न हुँदा खानेको बनाउन सकेको भन्दै उनले हरेक क्षेत्रलाई ध्वस्त बनाउने राजनीतिकरणको अन्त्य हुनुपर्ने धारणा राखे। विश्वका विभिन्न देशका विकासको क्रमको उदाहरण प्रस्तुत गरेका उनले गुणस्तरीय शिक्षा दिन सक्ने नाम चलेका विश्वविद्यालयमा मात्रै नेपाली विद्यार्थी पठाउन आग्रह गरे। गलत परामर्शले शिक्षा र धन दुवै नरहने अवस्था आउन सक्ने तर्फ उनले व्यवसायीहरूलाई सचेत गराए। देशमा राजनीति गर्छु भन्नेहरूले देशका विश्वविद्यालयलाई बर्बाद बनाएको, आफ्नालाई जागिर खुवाउन विश्वविद्यालय खोलेको लगायतका आरोप लगाएका उनले बिदेसिने क्रम यही अनुपातमा रहे १० वर्ष पछि देशको हालत नराम्रो हुने टिप्पणी गरे ।
शुभकामना दिन मञ्चमा उक्लिएका जसपा नेता भिम राईले भने पूर्व वक्ता अमरेश कुमारलाई प्रश्न गर्नमै अधिकांश समय खर्चिए। कानुन निर्माताहरुले आफू त्यो ठाउँमा बसेर निराशा छर्नु नहुने उनको धारणा थियो । अक्सफोर्ड, क्याम्ब्रिज, एमआइटीमा विद्यार्थी किन पठाइएन भनेर प्रश्न गर्ने सांसदले हाम्रा विद्यार्थी त्यहाँ पढ्न योग्य छन् कि छैनन् भनेर बुझ्नुपर्दैन ? भन्दै उनले प्रतिप्रश्न गरे। उपदेश बाँडेर देश नबन्ने भन्दै उनले कानुन निर्माताले म्यानपावर र परामर्श व्यवसायीको फरक छुटाउन सक्नुपर्ने भनाई राखे।

राष्ट्रिय स्वतन्त्र पार्टीका सह-प्रवक्ता समेत रहेका सांसद मनिष झाले आफू तथ्यांकमा कुरा गर्न रुचाउने भन्दै बसाइसराइ भएन भने देश विकास हुन नसक्ने उल्लेख गरे । भू-राजनीतिको अर्को लक्ष्य अब एसिया बन्न लागेको विचार राखेका उनले नेपाल बाट बिदेसिने प्रचलन र त्यसको इतिहासको चर्चा गरे। एनओसिको तथ्यांकलाई अन्तिम तथ्यांक मानेर देश बर्बाद भयो भन्नु अल्प ज्ञान मात्रै भएको भन्दै उनले आफू त्यसमा विश्वास नगर्ने बताए । त्यो मान्छेलाई आतंकित बनाउने तथ्यांक हो भन्ने कुरा धेरै सांसदहरूले समेत नबुझेको उनको भनाइ थियो । शिक्षा र सूचना/जानकारीको फरक छुटाउन नेपालमा नसकिएको, एउटा विश्वविद्यालयले काम गर्न सकेन भनेर अरू थप्ने काम गरेको, ७ दशक अघि बनेको विश्वविद्यालयलाई ध्वस्त पार्ने काम भएको, कन्टेन्ट चोरहरूलाई त्रिविको उपकुलपति बनाउने प्रयास गरिएको र यी सबै थोक बिगारेर देशमा बस्ने वातावरण नभेपछि विदेशिनेलाई रोक्न खोजिएको भन्दै उनले आक्रोश व्यक्त गरे। सांसद झाले नेपालमा बौद्धिक दरिद्रता मौलाइरहेको र यसले हामीलाई कहीँ नपुर्याउने धारणा राखे।
कार्यक्रमका प्रमुख अतिथि जोशीले नेपाललाई शैक्षिक हब बनाउने तिर ध्यान दिन सम्बद्ध सबैलाई आग्रह गरे। उनले शैक्षिक परामर्श संघहरुले काठमाडौँ विश्व विद्यालय जस्ता विदेशी विद्यार्थी पढाउन तयार विश्व विद्यालयहरूलाई विद्यार्थी ल्याइदिएर सहयोग गर्नुपर्ने धारणा राखे। नेपालमा जताततै निराशा मात्रै पोख्नुपर्ने अवस्था बनाएको भए पनि समस्या सँगै देशमा अवसर पनि रहेको उल्लेख गरे। उनले शैक्षिक परामर्श सँग सम्बन्धित नीति नियम बनाउँदा सम्बन्धित सरोकारवालाहरू सँग छलफल गरेर, आवाज समेटेर नै बनाउने प्रतिबद्धता व्यक्त गरे।
कार्यक्रमका सभापति तथा नेका अध्यक्ष प्याकुरेलले उपस्थितिका लागि सबैलाई धन्यवाद दिए । उनले कार्यक्रम लामो भएको भए पनि व्यवसाय क्षेत्रमा देखिएको समस्या बारे छलफल गराएर निचोड निकाल्ने संस्थाको उद्देश्य पूरा भएको बताए। सांसदहरू तथा शिक्षा समिति सभापतिले प्रतिबद्धता गरे अनुसार नीति निर्माणमा सरोकारवालाको आवाज समेटिने छ भन्नेमा संस्था विश्वस्त रहेको उनले उल्लेख गरे। परामर्श व्यवसाय क्षेत्रलाई मिनी म्यानपावर बनाउने प्रयास भइरहेको भन्दै उनले आफूहरूले त्यो योजना सफल हुन नदिने बताउँदै कार्यक्रम समापन गरे।

कार्यक्रमका थप तस्बिरहरु हेर्न यहाँ क्लिक गर्नुहोस्।