Matra Education आइतबार, साउन १० २०८३

युनि कन्सलट्यान्स अलायन्सको तेस्रो वार्षिक साधारण सभा सम्पन्न

युनि कन्सलट्यान्स अलायन्सको तेस्रो वार्षिक साधारण सभा सम्पन्न

  • मात्र एजुकेशन
  • आइतबार, माघ २१ २०८०


काठमाडौँ- परामर्श व्यवसायमा केन्द्रित नेपालकै पहिलो ‘बि टु बि प्लेटफर्म’ युनि कन्सलट्यान्स अलायन्स (युसिए) को तेस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ। संस्थाले शुक्रवार र शनिवार दुई दिन लगाएर दहचोक स्थित ऐतिहासिक कालू पाँडे समाधिस्थल नजिकको एक रिसोर्टमा वार्षिक साधारणसभा सम्पन्न गरेको हो। शुक्रवार एक विशेष कार्यक्रम सहित उद्घाटन सत्र सम्पन्न गरेको संस्थाले शनिवार महत्त्वपूर्ण निर्णयहरू गर्दै बन्दसत्र बाट कार्यक्रम समापन गरेको हो।

युसिएका अध्यक्ष विनोद कुमार सुवेदीको सभापतित्वमा शुक्रवार सम्पन्न उद्घाटन सत्रमा संस्थाको सञ्चालक समिति तथा सदस्यहरू, संस्थाको निर्माणमा योगदान गरेका अतिथिहरू, विभिन्न शैक्षिक संस्थाका प्रतिनिधिहरू तथा आमन्त्रित सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो।

उद्घाटन सत्रलाई विभिन्न क्षेत्रको प्रतिनिधित्व गर्ने अतिथिहरूले सम्बोधन गर्दै युसिएको सफलताको काममा गरेका थिए। संस्थाले खेलिरहेको भूमिकालाई अझै प्रभावकारी बनाई नेपालका शैक्षिक परामर्श व्यवसायीहरूले अधिकतम लाभ लिन सक्ने बनाउनुपर्ने र संस्थाको उद्देश्य अनुरूप विदेशी विद्यार्थी अध्ययनका लागि नेपाल ल्याउनुपर्नेमा समेत वक्ताहरूको जोड थियो।

युसिएका अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुख राम शरण ढकालले उपस्थित अतिथिलाई स्वागत गर्दै संस्था सबैको निरन्तरको साथ सहयोगले आजको स्थानमा आइपुगेको भन्दै आगामी दिनमा यसले अझै बढी गति लिने धारणा राखे। ढकालले छोटो समयमै संस्थाले अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त २५० भन्दा बढी शैक्षिक संस्था सँग आबद्धता लिइसकेको र साना व्यवसायीहरूको पहुँच त्यस्ता शैक्षिक संस्थाहरू सम्म पुर्‍याउन सफल भएको उल्लेख गरे। उनले आगामी दिनमा पनि सबै मिलेर संस्थालाई नयाँ उचाइमा पुर्‍याउन लाग्नुपर्ने बताए।

कार्यक्रमका सभापति तथा युसिएका अध्यक्ष विनोद कुमार सुवेदीले तेस्रो वार्षिक साधारणसभा सम्म आइपुग्दा संस्थाले सफलताको गोरेटो कोर्न थालिसकेको भन्दै सकारात्मक भूमिकाका लागि सम्बद्ध सबैलाई धन्यवाद दिए। संस्था स्थापनाको दिन देखि नै हातेमालो गरेका तर बिचमा कारणवश छुटेका समेतलाई स्मरण गरेका उनले अन्य विदेशी बि टु बि प्लेटफर्महरू जस्तो बादलमा घर बनाउने नभई जमिनमा घर बनाएको हुँदा संस्था दिगो हुने विश्वास व्यक्त गरे। सुवेदीले सन् २०२४ भित्र स्टडी इन नेपालको कन्सेप्टमा काम सुरु गर्ने प्रतिबद्धता समेत व्यक्त गरे । उनले सबै सदस्य परामर्श व्यवसायीले विश्वास गरेर सहकार्यको हात फैलाए मात्रै संस्थाको हित हुनसक्ने भन्दै सबैलाई त्यसका निम्ति अपिल गरे। युसिएले ल्याएको अभियानकै कारण नेपालको शिक्षा क्षेत्रमा रूपान्तरण आउन सक्ने उनको भनाइ थियो।

वार्षिक साधारण सभाकै अवसर पारेर संस्थाले उत्कृष्ट काम गर्ने आफ्ना सदस्यहरू तथा कर्मचारीहरूलाई सम्मान समेत गरेको थियो।

तेस्रो वार्षिक साधारणसभा मार्फत संस्थाले पुनः विनोद कुमार सुवेदीकै नेतृत्वमा सञ्चालक समिति बनाएको छ। सञ्चालक समितिमा पुरानै कार्यसमितिका रामशरण ढकाल, विपिन केसी, शैलेन्द्र चापागाईँ र निशा भट्टर्राईले निरन्तरता पाएका छन् भने सुवास विक्रम राई र उमाकान्त शर्मा नयाँ सदस्यका रूपमा सञ्चालक समितिमा भित्रिएका छन् ।

त्यस्तै यही साधारणसभा बाट संस्थाले सञ्चालक समितिको कामलाई सहयोग गर्ने, अनुगमन गर्ने र आवश्यक पृष्ठपोषण समेत दिने उद्देश्य सहित ‘कर्पोरेट गभरनेन्स मनिटरिङ कमिटी’ को निर्माण गरेको छ। रामचन्द्र ओली संयोजक रहेको यो ५ सदस्यीय समितिमा कृष्णहरी केसी, ईश्वर घिमिरे, राजकुमार ढकाल र बालकृष्ण बिस्ट (गगन) सदस्यका रूपमा रहेका छन्।

थप तस्बिरहरु हेर्न यहाँ क्लिक गर्नुहोस्।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड