काठमाडौँ- रातको साँढे दश बजेछ । पक्कै पनि उसलाई कुनै कुरा मज्जाले खड्किएको हुनुपर्दछ; धेरै समयदेखि सायद – जसले गर्दा उ आज निन्द्रा त्यागेर शब्दहरूको गगनमा छलाङ मार्न पुग्दछ । ऊ शब्दको तरबार यसरी चलाउने प्रयत्नमा लाग्दछ, मानौँ ऊ वर्षोंदेखि कहीँ कतै शोषित छ, दबिएको छ; फुट्न मात्र बाँकी रहेको ज्वालामुखी झैँ।
उसलाई एउटा भनाइले निकै गढेर लागेको छ यो बखत – ” अधुरो निन्द्राले एक दिन मात्रै पिरोल्छ तर अधूरो सपनाले जिन्दगी भर ।” चाहे जतिसुकै विशाल सपना उसले बोकेको होस्, आज उसलाई आफ्नो एघार वर्षअघिको चालिएको पाइला याद आउँछ – जीवनको पहिलो जागिर, एक निजी विद्यालयको सामाजिक तथा अङ्ग्रेजी शिक्षकको भूमिकामा । सुरुको दिन, उसले याद गर्दछ त्यो सङ्घर्ष, कक्षा तीनमा सामाजिक विषयको किताब थमाइएको; सोही कक्षाको अन्तिम बेन्चमा विद्यालयकी प्रधानाध्यापक कक्षा-निरीक्षणमा/शिक्षक मूल्यांकनमा बस्नुभएको र ‘ऊ’ पुलुक्क विद्यार्थीतिर, त कहिले प्रधानाध्यापक तिर किताबले मुहार छोप्दै पढाउन लागेको । भलै त्यो दिन ऊ दिगो, आशामुखी र दृढ संकल्प लिएर सङ्घर्षको मैदानमा उत्रिएको होला तर आज त्यही एघार वर्षदेखि अँगालेको पेसा यत्तिका वर्षपछि छोड्नुपर्दा ऊभित्रै त्यही असजिलोपन छाउन पुग्दछ जून यही एघार वर्षअघि सदैव लाग्नेछु भन्दै सुरु गरिएको थियो: शिक्षण पेसामा । नेपालमा विशेष भन्नुपर्दा एक ‘ प्रतिनिधि पात्र ‘; प्राय।
उसको मस्तिष्कमा उसले नै लेखेका केही फेसबुक कमेन्टहरू याद सरह आए जसमा लेखिएको हुन्थ्यो – ” ह्याव ए सेफ फ्लाइट “। हो, ती छुटेका मित्रहरू याद आए जोसँग क्याम्पस पढ्दा सदैव साथ दिने, एकसाथ अघि बढ्ने, व्यापार-व्यवसाय वा नोकरी जे भए पनि साथै रहने बाचा बन्धन गरिएको हुन्थ्यो; यद्यपि पूरा भने भएनन् । आज एघार वर्षपछि उसलाई तुलना गर्न मन लागेको छ उपलब्धिको – राम्रो/ नराम्रो आफ्नो ठाउँमा होला, यद्यपि उसले खुसी (सन्तोष) दिने उल्लेख्य उपलब्धिहरू पत्ता लगाउन सकेन जुन त्यो पेसाले दिनुपर्ने थियो। यो मन खिन्न हुने सिलसिला अझै थपियो जब उसलाई ती छुटेका हातहरू याद आयो जो आफू विदेश नगएर स्वदेशमै केही गर्नेछु यही पेसामा भन्दै गर्दा छुटेका थिए ।
बिहान सबेरै उठेर छिट्टै तयार भएर क्याम्पस पढ्न गएका ती दिन, त्यो शरीरको ऊर्जावान् जोस, त्यो कहिले नअघाइने मित्रताको घेरा अनि त्यो क्याम्पसको अन्तिम घण्टी पाँच हजारको नोकरीको लागि छोडेरै भए पनि पाँच लाखको आडम्बर बोकेर गएको पो थियो ऊ, कामका सुरुवाती दिनहरूमा । ऊसँग कामप्रति उल्लेख्य लगाव, इमानदारिता र कार्य थलोमा नियमितता थियो कि मानौँ यो उसकै लागि बनेका गुणहरू थिए । आज उसलाई खित्का छोडेर हाँस्न मन लागेको छ सम्झेर ती मित्रहरू जसले भन्ने गर्दथे – “तिमी त पढाउनै जन्मिएका हौ।”– यो आधारमा कि परिवार, आफन्तजन र स्वयम आफूले चाहेको झैँ स्थिरता, सामाजिक / आर्थिक वृद्धिदर र तुलनात्मक रूपमा सुरक्षाको प्रत्याभूति पक्कै पनि प्राय: निजी विद्यालयले दिन चुकेका छन्। सोहीको फलस्वरूप, कैयौँ विद्यार्थीको नजरमा आदर्शवान् लाग्ने शिक्षक-शिक्षिकाहरू सदाका लागि ‘विस्थापित’/पलायन हुनुपर्ने अवस्था आएको छ । आखिर चुकियो कता ?
सर्वप्रथम उसलाई याद आयो – मनोमानी। त्यो ९:३० देखि ४:१५ को काम गर्ने समयभन्दा पनि पछाडि ‘मिटिङ’ का नाममा घण्टौँ रोकिएर विद्यालय सञ्चालकका मुखबाट निस्केका तीता वाणीहरू(बेतुकका), अतिरिक्त कार्यभार (विना मजदुरी) थप, आदि कार्यहरू शोषणभन्दा कम थिएनन् ऊमाथि। कुनै एक सुझाव — छोटो मिठो तरिकाले सकिने पृष्ठपोषण लाई घण्टौँ दिएका पल । नातावाद, कृपावाद पनि ‘उसले’ कम झेल्नु परेको थिएन । एउटा शिक्षकलाई प्रयोगशालाको वस्तुको रूपमा हर- हिसाबले प्रयोग गरिएको परिदृश्य पनि कमको थिएन। फरक मत राख्नु र केवल एक पृथक् प्रस्ताव ‘ मिटिङमा ‘ राख्नाले कत्तिको तरङ्ग पैदा गर्ने रहेछ भन्ने उसले प्रायः संस्थामा देखे-भोगेको नै थियो। पक्कै पनि, ” आजकल बैठकमा त्यो कुरा मात्र बोलिनु पर्छ जुन सञ्चालकले सुन्न चाहन्छन् “भन्ने प्रवृत्ति हाबी छ ।
एक विद्यालयको बैठकमा फरक मत वा प्रस्ताव राख्दा ‘त्यही नै हुनुपर्छ’ भनेको झैँ बुझ्ने सञ्चालक झल्याँस्स याद आयो । वास्तवमै भन्नुपर्दा अहिलेको समयमा एक कुशल शिक्षक कहलिनको लागि नातावाद, कृपावाद र अहमतावादको पुलिन्दा कुनै मात्रामा हुनुपर्ने रहेछ भन्ने उदाहरणहरू उसको वर्षौँको अनुभवले पारदर्शी रूपमा देखाएको छ । उसले विद्यार्थीको माझमा , वर्षौँ पढाएको ‘बौद्धिक पलायन’ /ब्रेन ड्रेनको जालोमा स्वयम एक उदाहरण बन्ने अवस्था त्यसै उसको सामु आउने थिएन होला । विद्यार्थी लाई डेमोक्रेसी, रुल अफ ल, राइट टु अपिनियन , आदि जस्ता शीर्षक त पढाइयो तर कत्ति स्थानमा व्यवहारिकता मा आफैँ चुकियो कि? समय सापेक्ष वातावरण दिन हर हिसाबले चुक्यौँ की? वास्तवमै ‘ नोबेल प्रोफेसन ‘ को चरितार्थ पो हुन सकेन की?