काठमाडौँ – नेपाल शैक्षिक परामर्श संघ (इक्यान) को १८औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । आइतबार राजधानीको गैह्रिधारा स्थित
एलिस रिसेप्सनमा आयोजित एक भव्य कार्यक्रमका बिच संस्थाले साधारण सभा सम्पन्न गरेको हो ।
इक्यानका केन्द्रीय अध्यक्ष अध्यक्ष शेषराज भट्टराईको सभापतित्वमा सम्पन्न साधारण सभामा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव सुरेश अधिकारी प्रमुख अतिथिका रूपमा रहेका थिए। कार्यक्रममा महानायक राजेश हमाल, इक्यानका पूर्व अध्यक्ष राजेन्द्र बराल, विष्णुहरी पाण्डे, निवर्तमान अध्यक्ष प्रकाश पाण्डे सहित विभिन्न संस्था र क्षेत्रको प्रतिनिधित्व गर्ने व्यक्तित्वहरू अतिथिका रूपमा उपस्थित थिए। कार्यक्रममा इक्यान सदस्य परामर्श व्यवसायीहरूको उत्साहजनक उपस्थिति रहेको थियो।
इक्यानका महासचिव दीपकराज भुसालले सञ्चालन गरेको कार्यक्रममा वरिष्ठ उपाध्यक्ष लक्ष्मण पौडेलले स्वागत मन्तव्य राखेका थिए। साधारण सभा बाट संस्थाले वार्षिक प्रतिवेदन, लेखापरिक्षण प्रतिवेदन र संगठनात्मक प्रतिवेदन पास गरेको छ भने आगामी एक वर्षको कार्ययोजना पनि पारित गरेको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि अधिकारीले विदेश पलायन रोकेर नरोकिने बताए । उनले नेपालको शिक्षा प्रणालीमा परिवर्तन ल्याउने, समयमै परीक्षा लिएर समयमै नतिजा दिने, नेपालका शैक्षिक संस्थाहरूको स्तर वृद्धि गर्ने, देशमै रोजगारी सिर्जना गर्ने आदि गर्न सके मात्रै यो लहर बिस्तारै कम हुने धारणा राखे। नेपाल बाट विद्यार्थीहरू अध्ययनका लागि मात्रै नभई जीवनशैली परिवर्तन गर्नका लागि पनि विदेसिने गरेको अधिकारीको भनाई थियो। उनले अध्ययनका लागि विदेश जाने विद्यार्थीहरूलाई सहजीकरण गर्ने परामर्श व्यवसायीहरूको भूमिका महत्त्वपूर्ण रहेको बताए।
