काठमाडौँ- स्वतन्त्र शैक्षिक परामर्श संघ नेपाल (फेकन) ले जाजरकोट भूकम्प बाट पीडितहरूका लागि सहयोग प्रदान गरेको छ। बुधवार बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेर फेकन पदाधिकारीहरूले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा जम्मा हुने गरी पाँच लाखको चेक प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड लाई हस्तान्तरण गरेका हुन्। फेकन अध्यक्ष राजु निरौला, महासचिव छविन्द्र ओझा, कार्यसमिति सदस्यहरू मञ्जु लामिछाने, सञ्जय बस्नेत र किशोर दुलाल सम्मिलित उक्त टोलीले परामर्श व्यवसायका विभिन्न समस्याहरू बारे ध्यानाकर्षण गराउँदै ज्ञापन पत्र पनि बुझाएको थियो।
यस अघि संस्थाले हरेक वर्ष विभिन्न चाडपर्वहरूको अवसरमा आयोजना गर्दै आएको शुभकामना आदानप्रदान कार्यक्रमलाई यो वर्ष सहयोग संकलन कार्यक्रममा रूपान्तरण गर्दै पाँच लाख सहयोग गर्ने घोषणा फेकनको तर्फबाट गरिएको थियो। संस्थाले राहत कोषमा सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गरेको छ।
सहयोग हस्तान्तरण सहित संस्थाले प्रधानमन्त्रीलाई बुझाएको ज्ञापन पत्रमा शिक्षा ऐन र धरौटी, एनओसी र कलेज सूचीकरणमा देखिएको समस्या, विद्यार्थी बिमा, परामर्श व्यवसायमा लगाइएका विभिन्न करहरू विदेशी विद्यार्थीलाई नेपालमा आकर्षित गर्ने कानुन निर्माण लगायतका
विषयमा ध्यानाकर्षण गराइएको छ।
सहयोग बुझ्दै प्रधानमन्त्री दाहालले फेकनले सामाजिक उत्तरदायित्व निर्वाह गरेको भन्दै धन्यवाद दिए । उनले संस्थाले राखेको मागलाई आफूले सकारात्मक रूपमा लिएको भन्दै ती समस्याहरू समाधानको प्रयास थालिने प्रतिबद्धता व्यक्त गरे।
