काठमाडौँ- विदेश अध्ययन गर्न जाने विद्यार्थीलाई चाहिने वैदेशिक अध्ययन अनुमति पत्र (नो अब्जेक्सन लेटर/ एनओसी) वितरणमा समस्या आएको करिब एक साता पुगिसक्दा पनि समस्या समाधान नहुँदा सेवाग्राहीले सास्ती व्यहोर्नु परेको छ। शिक्षा मन्त्रालय अन्तर्गतको वैदेशिक अध्ययन अनुमति शाखाले प्रदान गर्दै आएको उक्त सेवा प्राविधिक समस्याका कारण अवरुद्ध बन्दा आवेदन लिने, प्रमाणीकरण गर्ने र एनओसी प्रमाणपत्र दिने काम रोकिएको हो।
शाखाले सफ्टवेयर अपडेट गर्ने क्रममा सर्भर डाउन भएको र आवेदन दिएका विद्यार्थीहरूको डेटा समेत हराएको हुँदा यो समस्या देखिएको शिक्षा मन्त्रालयले जनाएको छ। उक्त डेटा रिकभर गर्ने प्रयास भए पनि मङ्सिर २३ देखि २९ सम्मको डेटा रिकभर हुन नसकेपछि समस्या थप जटिल बनेको हो। प्राविधिक क्षेत्र बुझेकाहरू भने शाखाका डेभलपरले सिस्टमको ब्याकअप नराख्दा समस्या उत्पन्न भएको र सर्भरलाई दोष दिएर उम्कन खोजेको बताउँछन्।
आइतबार सम्म पनि समस्या समाधान नभए पछि विद्यार्थीहरूले शाखामा नाराबाजी गरेका थिए। मन्त्रालयले पुरानै राजस्वमा पुनः आवेदन दिने व्यवस्था मिलाएर समस्या समाधानको प्रयास गरिरहेको जानकारी दिएको छ।
सोमवार कार्यालय समयपछि पनि २०० जना जति विद्यार्थीहरू लाइनमा रहेको र उनीहरूलाई सेवा दिइएको वैदेशिक अध्ययन अनुमति शाखाका प्रमुख उपसचिव शान्तिराम पौडेलले बताए। विगतमा अनलाइनबाट आवेदन दिएपछि स्वीकृत आवेदकहरूलाई सूचना गएअनुसार उनीहरू पत्र लिन कार्यालय जाने गर्थे। त्यसले गर्दा पछिल्ला दिनहरूमा एनओसी वितरण सहज बनेको थियो।
हाल दैनिक ३ सयदेखि एक हजार विद्यार्थीले एनओसीका लागि अनलाइन आवेदन दिने गरेको तथ्यांक छ । एक/दुई दिनमै एनओसी वितरण प्रक्रियामा पहिलेकै अवस्थाबाट सञ्चालन हुने शाखाको दाबी छ ।