काठमाडौँ- स्वतन्त्र शैक्षिक परामर्श संघ नेपाल (फेकन) ले चाडपर्वहरूको अवसरमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। बिहीबार राजधानीको नयाँ वानेश्वर स्थित इन्द्रेणी बैंकेटमा आयोजित एक औपचारिक कार्यक्रम मार्फत संस्थाले आफ्ना सदस्यहरू, शुभचिन्तकहरू सहित सम्पूर्ण नेपालीहरूलाई शुभकामना दिएको हो। साथै संस्थाले जाजरकोट भूकम्प बाट पीडित नेपालीहरूलाई सहयोग गर्ने घोषणा समेत कार्यक्रम मार्फत गरेको छ।
फेकनले भर्खरै सकिएको दसैँ, आउँदै गरेको तिहार, छठ, नेपाल संवत् लगायतका पर्वहरूको अवसरमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम आयोजना गरेको थियो। फेकन अध्यक्ष राजु निरौलाको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा राणा मगर प्रमुख अतिथि तथा नेकपा एमालेका महासचिव शंकर पोखरेल विशेष अतिथिका रूपमा रहेका थिए। कार्यक्रममा परामर्श व्यवसायीका विभिन्न छाता संगठनका प्रमुख तथा प्रतिनिधिहरू, फेकनका सदस्यहरू र शुभचिन्तकहरूको उपस्थिति रहेको थियो।
कार्यक्रमको सुरुवातमा संस्थाका इसिए विभाग प्रमुख सञ्जय बस्नेतले उपस्थित सबैलाई कार्यक्रममा स्वागत गर्दै उपस्थितिका लागि धन्यवाद दिए। त्यस्तै उनले यी चाडपर्वहरूले सबै परामर्श व्यवसायीको मुहारमा खुसीको बहार ल्याउने विश्वास व्यक्त गरे। बस्नेतले जाजरकोट भूकम्पले पुर्याएको क्षतिका कारण सिङ्गो फेकन परिवार स्तब्ध रहेको भन्दै सकेको सहयोग संस्थाले गर्ने प्रतिबद्धता व्यक्त गरे ।
त्यसलगत्तै संस्थाका महासचिव तथा कार्यक्रम सञ्चालक छविन्द्र ओझाले जाजरकोट भूकम्प बाट पीडितहरूलाई संस्थाको कोष बाट एक लाख सहयोग गर्ने र फेकन सदस्यहरू बाट थप सहयोग उठाएर एकमुस्ट पाँच लाख सहयोग प्रदान गर्ने निर्णय कार्यसमितिले गरेको सुनाए। उनले फेकनले राष्ट्रिय कलाकारहरूको उपस्थितिमा भव्य कार्यक्रम गर्ने योजना बनाएको भए पनि त्यसको प्रारूप परिवर्तन गरेर सहयोग संकलनलाई जोड दिइएको जानकारी गराए। कार्यक्रममै पनि विभिन्न सहभागीहरूले फेकन मार्फत सहयोग गर्ने घोषणा गरेका थिए।
कार्यक्रमकै अवसर पारेर फेकन सदस्यहरूको बैङ्किङ कारोबार सहज बनाउन माछापुच्छ्रे बैङ्क सँगको सहकार्यमा क्युआर हस्तान्तरण गरिएको थियो भने फेकनले यस अघि घोषणा गरेको निःशुल्क बिमा पोलिसी प्रदान गर्ने योजना कार्यान्वयनका लागि सगरमाथा लुम्बिनी इन्स्योरेन्स सँग पनि सम्झौता गरिएको थियो। यो सँगै अब फेकन सदस्यहरूले ७ लाख बराबरको दुर्घटना बिमा, १ लाख बराबरको औषधि उपचार र १ लाख बराबरको घातक रोग विरुद्धको बिमा सुविधा प्राप्त गर्ने भएका छन्।
कार्यक्रममा बोल्दै विभिन्न समानान्तर परामर्श व्यवसायी संगठनका अध्यक्ष तथा प्रतिनिधिहरूले आमन्त्रणका लागि फेकनलाई धन्यवाद दिँदै चाडपर्वको शुभकामना दिए। त्यस्तै भूकम्प पीडितलाई सहयोग गर्ने घोषणा गरेकोमा उनीहरूले संस्था प्रति आभार प्रकट गरे।
कार्यक्रमका विशेष अतिथि पोखरेलले फेकन परिवारलाई चाडपर्वहरूको अवसरमा एकमुस्ट शुभकामना दिए। उनले बाहिर नगई देशमा केही गर्नै सकिन्न भन्ने बुझाई पछिल्लो समय बढ्दै गएको भन्दै बिदेसिनेको सङ्ख्या बढ्नु राम्रो नभएको बताए। भारतीयले यहाँ आएर गर्ने काम नेपाली गर्न नसक्दा नेपाली मुद्रा भारत गइरहेको उनको भनाइ थियो। नेपालको शिक्षा व्यवस्थापनमा बजार अनुसारको संस्था खोल्ने र काम गर्ने दक्षता नदेखिएका कारण शिक्षा क्षेत्रको विकास हुन नसकेको धारणा पोखरेलको थियो। उनले परामर्श दिँदा विद्यार्थीलाई ज्ञान, सिप र दक्षता हासिल गरेर देश फर्किने सुझाव दिन परामर्श व्यवसायीलाई अनुरोध गरे। हाल त्यसो हुन नसक्दा राज्यले १२ वर्ष सम्म शिक्षामा गरेको लगानी नेपाललाई भन्दा विदेशलाई बढी काम लाग्न पुगेको उनको भनाइ थियो। उनले परामर्श व्यवसायीले आफ्नो संस्थाको वित्तीय व्यवस्थापन मात्रै भन्दा पनि शिक्षाको त्यो अनुभवले नीति निर्माणमा सहयोग पुर्याउने र राज्यलाई पनि योगदान गर्ने तिर ध्यान दिनुपर्ने आवश्यकता औँल्याए।
त्यस्तै कार्यक्रमकी प्रमुख अतिथि मगरले भूकम्प प्रभावित क्षेत्रमा पुगेको आफ्नो अनुभव सुनाउँदै त्यो दयनीय अवस्थामा रहेका नेपाली नागरिकलाई सहयोग गर्न लागेकोमा फेकनलाई धन्यवाद दिइन् । उनले राहतको लागि मात्रै हानाथाब गर्ने भन्दा पनि यस्ता विपद्मा परेकाहरूको दिगो व्यवस्थापन हुने गरी काम गर्नुपर्ने आवश्यकता औँल्याइन। नेपालको शैक्षिक अवस्था सुधार्नका लागि परामर्श व्यवसायीहरू पनि लाग्नुपर्ने उनको सुझाव थियो। नेपाललाई शैक्षिक हब बनाउने अवधारणा मन परेको भन्दै त्यसका लागि शुभकामना समेत दिएकी उनले मेडिकल शिक्षा लगायतमा देखिएको समस्या प्रति चिन्ता व्यक्त गरिन् । आफ्नै देशमा अवसर सिर्जना गर्न सके बिदेसिने दुख भोग्नु नपर्ने उनको भनाई थियो ।
कार्यक्रम समापन गर्दै सभापति निरौलाले परामर्श व्यवसायीलाई राज्यले गलत नजरले हेर्ने गरेको र केही सीमित कर्मचारीले गलत तथ्याङ्क पेस गर्दै यो पेसालाई बदनाम गराउने दुष्प्रयास गरिरहेको बताए। उनले आफूहरू विदेश पठाउने मात्रै नभई राज्यले उचित सहयोग गरे अन्तर्राष्ट्रिय विद्यार्थी नेपाल ल्याएर शैक्षिक हब बनाउन समेत लागिपर्ने उल्लेख गरे। निरौलाले विपद्मा सबै नेपाली एक हुनुपर्ने भन्दै फेकन मार्फत भूकम्प पीडितलाई सहयोग गर्न पनि सम्बन्धित सबैलाई अनुरोध गरे।
औपचारिक कार्यक्रम समापन पश्चात् उपस्थित सबै अतिथि तथा सहभागीहरू चियापानमा सहभागी भएका थिए भने अनौपचारिक रूपमा शुभकामना आदानप्रदान भएको थियो। कार्यक्रममा तस्बिरहरू हेर्न यहाँ क्लिक गर्नुहोस्।