गुजारामुखी खेतीको गरिखाने शिक्षा
हिजो हामी गुजारामुखी खेतीमा थियौँ । त्यसमा पर्म प्रणाली थियो । पाखुरी साट्ने । पालैपालो एक अर्काको काम गर्ने । गराउने । खानलाई अैंचोपैंचो गर्ने । छैन कसैकोमा भने माग्ने । सघाउने । नपुग भएमा ज्याला गर्ने । बालीमा काम गर्ने । यो प्रणालीले मान्छेलाई मर्न दिएन । बढ्न पनि दिएन । यसको दर्शन थियो बाचुन्जेल खाने । मरेपछि सन्तानमा सबै कुरा सर्ने । सार्ने । यो खेतीले मान्छेलाई अनेकन सीप दियो —नाम्ला बाट्ने । दाम्ला बाट्ने । डोरी बाट्ने । टपरी गाँस्ने । धान रोप्ने । घाँस काट्ने । नाङ्ला बुन्ने । भात पकाउने । बच्चा स्याहार्ने । यसमा लैङ्गिक वैशिष्ट्यता पनि थियो । पुरुषले यो गर्ने । महिलाले यो गर्ने । बेलाबखतमा लैङ्गिक सीमा पनि नाघ्ने ।
गुजारामुखी खेतीमै गरिखाने जात जातीय सीप पनि थिए । नाङ्लो बुन्ने सुनुवार । डोको बुन्ने मगर गुरुङ । जुत्ता बनाउने मिजार । फलामको काम गर्ने विश्वकर्मा । सफाइको काम गर्ने पोडे । डोम । लुगा सिउने परियार । यसमा दुई वटा अभ्यास थिए । पहिलो, जिन्सीमा सामान लिने तथा दिने । साटफेर गर्ने । दोस्रो, बालीमा काम लगाउने । यो बेलामा हामीले जात जातीय विशेषता अनुसारका सीप सिक्थ्यौँ । सिकाउँथ्यौँ । यस अर्थमा सीप शिक्षा जात तथा जातीमा संस्थागत भएको थियो । प्लेटोको रिपब्लिकमा लेखिएजस्तो । संरक्षक समूहले बुद्धिको काम गर्ने । लडाकु समूहले राज गर्ने । ज्यामी समूहले अरू काम गर्ने । एकाध व्यक्तिले चाहिँ सीमा नाघेका थिए । अर्थात् जातको पेसा भन्दा भिन्न पेसा पनि गर्ने गर्थे । यो जातजातिगत वैशिष्ट्यताको अवस्थामा थियो । परियार, मिजार, विश्वकर्मा, पोडे , च्यामे, डोम, चमार आदिको पेसामा भने जातीय छुवाछुतको बिल्ला लगाइएको थियो । यस अर्थमा सामाजिक अपराध गरिएको थियो । मानव अधिकारको उल्लङ्घन गरिएको थियो ।
माथिको परिवेशमा हेर्दा गुजारामुखी खेतीको सीप शिक्षा बिना लगानी संस्थागत भएको थियो । त्यहाँ गुजारा बाहेकको गुञ्जाइस पनि थिएन । शोषण थियो । कर्कामर्कामा सघाउने कुराले मान्यता पाएको थियो । यसैले यी कुनै पनि सीप स्कुल कलेजमा पढाइएनन् । काठका सीप भए पनि । माटाका सीप भए पनि । धातुका सीप भए पनि । बेतबाँसका सीप भए पनि । छालाका सीप भए पनि । लुगा सिउने सीप भए पनि ।
बजारमुखी खेतीको गरिखाने शिक्षा
अहिले हामी बजारमुखी अभ्यासमा छौँ । यो अभ्यासले गुजारामुखी खेतीका बहु-सिपहरू पाखा लगाउँदै गयो । एकल सीपमा मानिसहरूलाई अभ्यस्त बनाउँदै लग्यो । तरकारी खेतीमा सीप । धान खेतीमा सीप । यो तरीकाले पनि हामीलाई सीप विज्ञ बनायो । यो सीपमा पनि सिकाइ ज्यासलमै भयो । अहिलेको शब्दावलीमा एपेरेण्टिसीप सिकाइ ।
बदलिँदो क्रमले हामीलाई छोटो अवधिको तालिम दिएको छ । दिन थालेको छ । त्यो तालिममा हामीले सिलाई बुनाइ जान्यौँ । खेतबारीका कुरा जान्यौँ । कागजका भाँडाकुँडा बनाउन जान्यौँ । यस्ता धरै सीप सिकेका छौँ । सिकाएका छौँ । यो पनि सन् २००० साल तिरको बुद्धि बन्न पुगिसक्यो । अमेरिकी तथा चिनियाँहरूको अनुभवले त्यसै भन्छ । उनीहरूले भने कि व्यावसायिक सीप चाहिँ आधुनिक प्रविधिबाट सिकाऊँ । प्राविधिक सीप चाहिँ आमने सामनेबाट सिकाऊँ । यसको अर्थ हो —उनीहरूले व्यावसायिक तथा प्राविधिक सीपको भिन्नता बुझिसके । हामी दुबै विषयलाई एउटै अर्थमा बुझिरहेछौँ । बुझाइरहेछौँ । अर्थात् भयौँ बजारमुखी । बुझाइ संकीर्णमुखी । यसैको परिणामस्वरूप व्यावसायिक तथा प्राविधिक धारका स्कुल खोलिरहेछौँ । विद्यार्थीको सङ्ख्या भने प्रतिवर्ष घटिरहेको छ । यो स्थितिमा पालिकाको सहकार्यमा सबै विद्यार्थीलाई छोटो अवधिको व्यावसायिक तालिम दिन सक्छौँ । आधुनिक प्रविधिमा हर खाले तालिम उपलब्ध गराउन सक्छौँ । स्थानीय तहमै सीप तालिम दिन सक्ने वा चाहनेहरूको सीप अद्यावधिक गर्ने प्रबन्ध मिलाउन सक्छौँ ।
प्रविधिमुखी खेतीका गरिखाने शिक्षा
हर क्षण हामी परिवर्तनमा बाँच्छौँ । प्रविधि पनि सोही गतिमा बदलिएको छ । अर्थात् दाउरा बालेर भात पकाउँथ्यौँ । मट्टितेलमा गयौँ । मट्टितेल छोडेर ग्यासमा गयौँ । ग्यास छोडेर बिद्युत्मा । विद्युत् जोडेर तरंगमा गयौँ । भोलि इलेक्ट्रोलाइसिस प्रक्रियाबाट घर घरमा हाइड्रोजन ग्यास निस्कन सक्छ । दाउराको विकल्प । मट्टितेलको विकल्प । मिथेन ग्यासको विकल्प । विद्युत्को विकल्प । तरंगको विकल्प । यी विकल्पहरूले दिने चिन्तन हो —आधुनिक प्रविधिको प्रयोगले अनेकन विकल्प जन्मन्छन् । ऋग्वेदको आगोमा पानी छ, पानीमा आगो छ भन्ने मन्त्रले काम गर्न सक्छ । पृथ्वीको आगो, आकाशको आगो तथा अन्तरिक्षको आगोको बेग्लाबेग्लै तथा एकसाथ प्रयोग गर्ने सोच बन्न सक्छ । अहिलेको युवाले त्यस्ता एप्स बनाउने सीप खोज्न सक्छन् । स्वदेश तथा विदेशका लागि एप्स बनाएर करिब ६७ करोड राजस्व बुझाउन सक्ने नेपाली युवाको तागतले नयाँ सीपको माग गर्छ । काम गर्छ । जापानीहरूले चिया तथा कफी बनाउँदा निश्चित एप्पसको प्रयोग गर्छन् । यो कुरालाई नजिर बनाई यस्तो एप्स बनाउन सक्छौँ भने युवाले बनाउँछन् । यो काम गर्न सकिन्छ । गराउन सकिन्छ । यसका लागि हामी प्रयासरत हुन सक्छौँ ।
भोलिको गरिखाने शिक्षा
भोलिको मान्छे के खाला ? सुन्दा अनावश्यक प्रश्न हो । यसको छनक अन्तरिक्ष यात्रीले दिन्छन् । लडाइका योद्धाले दिन्छन् । अपमार्गको चामल खाएर हप्तौँ पोषण पुर्याउने पुर्खाले दिन्छन् । समुद्रको झ्याउ खाने जापानीले दिन्छन् । पेटभरी खाने कि शरीरका लागि चाहिने क्यालोरी पुग्ने कुरा खाने भन्ने संवादीले दिन्छन् । पृथ्वी दोहन गरेर खानेले भन्दा आकाश दोहन गरेर खाने वैदिक पुर्खाले दिन्छन् । अन्तरिक्ष दोहन गरेर पनि बाँच्न सकिन्छ भन्ने ऋग्वेदी पर्खाले दिन्छन् । खेती गर्न जमिन चाहिन्छ भन्नेहरूलाई आक्वाफोनिक विधि प्रयोग गर्ने प्रविधिवालाले दिन्छन् । यसको सन्देश हो भोलिको गरिखाने शिक्षा आजको जस्तो हुँदैन । अर्थात् आमने सामनेको तालिमले पुग्दैन । युट्युब, मेसेञ्जर, ह्वाट्सएप, भाइबरको तालिमले पनि पुग्दैन । यसको अर्थ हो भोलिको तालिम कल्पनातीत हुन्छ । आकाशमा घर बनाउने डिजाइनको । एलियनसँग सहकार्य गर्ने डिजाइनको । त्यति बेलाको संसारमा आफू जोडिने खालको । अरूलाई जोडाउने खालको । यसको सन्देश हो —यसरी गरिखानुपर्छ भन्ने तालिमहरू बेकामे हुन्छन् । कसरी गरिखान्छौ भन्ने प्रश्नले नै सहज रूपमा गरिखाने बनाउँछ । दिमागमा चिप्स जोडिएको मान्छेको गरिखाने शिक्षा के होला ? उसले आफ्नो दिमागको उपयोग त गर्छ नै । कृत्रिम बुद्धिलाई पनि उपयोग गर्छ । यो सोचको आधारमा कुन सीप दिनुपर्ला ? कोही सोच्न सक्छौँ त ? मेरो सोचमा सीपको निर्णायक त्यही हुन्छ । कुन सीप दिने त्यही भन्छ । कुन सीप लिने पनि त्यही भन्छ । सोही आधारमा सीप शिक्षा दिन सकिन्छ । सक्नु पनि पर्छ ।
तरेलीका मान्छेको गरिखाने शिक्षा
हामी तरेलीमा छौँ । हुन्छौँ । कोही गुजारामुखी गरिखाने शिक्षा खोज्ने । कोही बजारमुखी गरिखाने शिक्षा खोज्ने । कोही प्रविधिमुखी गरिखाने शिक्षा खोज्ने । कोही दिमागमा चिप्स जडेर गरिखाने शिक्षा खोज्ने । कोही अर्कै खालका । यो स्थितिमा के सीप दिने ? यो प्रश्नको पनि सहज उपाय छ । त्यो हो—एउटै सीपको बहु परिवेशको शिक्षा दिने । गुजारामुखी छौ भने यस्तो सीप । बजारमुखी छौ भने यस्तो सीप । प्रविधिमुखी छौ भने यस्तो सीप । चिप्सवाला छौ भने यस्तो सीप । यति गर्नासाथ हामी सबैलाई गरिखाने बनाउन सक्छौँ । प्रश्न हो त्यतातर्फ सोच्ने वाला कोही छौँ त ? गर्नेवाला कोही छौँ त ? हिम्मतवाला ।
यकिनी कुरा
यो लेखको आशय हो—विद्यार्थीहरू एकै परिवेशका छैनन् । हुन्नन् पनि । यो स्थितिमा एउटा सामान्य उपायले हर विद्यार्थीलाई गरिखाने बनाउन सकिन्छ । त्यो उपाय हो —विद्यार्थीको प्रोफाइल निर्माण गर्ने । त्यसमा उसले आफूले चाहेको सीप लेख्छ । जुन आर्थिक पृष्ठभूमिको भए पनि । उसले जानेको सीप लेख्छ । जेजस्तो सीप भए पनि । अनि उसका घर परिवारका मान्छेको सीप लेख्छ । रहरको सीप प्रविधिमा खोज्छ । पालिकामा खोज्छ । स्कुलमा खोज्छ । त्यो सीप पाएपछि उसले उद्यमीकरणको अभ्यास गर्छ । यसका लागि अनिवार्य बचतको अभियानमा सहभागी हुन्छ । प्रत्येक विद्यार्थीका अभिभावकले सन्ततिको नाममा दिनको रु १ जम्मा गर्ने अभियानमा । पालिकालाई आफ्नो सीप बेचेर कमाएको पैसा त्यहीँ राख्छ । यति गर्नासाथ हामी गरिखाने शिक्षा यकिन गर्छौ । गर्न पनि सक्छौँ । अभ्यास गरौँ ।
सीप सिकाउनेहरूको रोष्टर त्यही प्रोफाइलको आडमा बन्छ । हामी नै बनाउन सक्छौँ । ती सीपवालाहरू शिक्षक हुन्छन् । एपरेण्टिस हुन्छन् । यति हुनासाथ हामी सहजै पढ्नेहरूलाई गर्नेमा बदल्न सक्छौँ । गर्नेलाई पढ्ने कला सिकाउन सक्छौँ । रुकुम पश्चिमको आठबीसकोट नगरपालिकाको विद्यार्थीको प्रश्नको प्रायोगिक उत्तर दिन सक्छौँ । उनको प्रश्न थियो —सबै पढ पढ भन्छन् । पढ्ने कसरी ? सबै पैसा कमाउ भन्छन् । कमाउने कसरी ? उनलाई सिकाउनु पर्ने कुरा हो सीपमा पढ्ने । पढाइमा सीप खोज्ने । जानेका सीपमा पैसा कमाउने अभ्यास गर्ने । अनिवार्य बचत गरी भोलिको जीवन गरिखाने बनाउने ।
अन्तमा मेरा चिन्तनमा आवश्यक थपघट गरौँ । कार्यान्वयन गरौँ । यो काम सहज छ । सिर्फ रहर भए पुग्छ । रहर भएको शिक्षक भए हुन्छ । अरूले त सघाउने हो । हामी गर्न थालौँ । सहयोगी हातहरू स्वतः आउँछन् ।