काठमाडौँ- नेपाल शैक्षिक परामर्श संघ (इक्यान) ले नेपालमै अध्ययन अर्थात् ‘स्टडी इन नेपाल’ लाई प्रवर्द्धन गर्ने भएको छ। अभियान नै सञ्चालन गरेर संघले यो कार्यक्रममा जोड दिएको हो। इक्यानको सामाजिक उत्तरदायित्व विभागको संयोजनमा सफ्ट एड ग्रुप अन्तर्गतको सन्वे कलेज सँग ५० जना नेपाली विद्यार्थीहरूलाई छात्रवृत्ति दिने गरी सम्झौता गरेर इक्यानले त्यसको विधिवत् सुरुवात गरेको छ।
मंगलबार राजधानीको एक होटेलमा आयोजित कार्यक्रममा इक्यान अध्यक्ष शेषराज भट्टराई र सफ्ट एड ग्रुपका अध्यक्ष विज्ञान श्रेष्ठ सहित सफ्ट एड ग्रुपका निर्देशक प्रमोद पौडेल, सनवे कलेजका हेड अफ अपरेसन सिमोली गौतम देशइ, इक्यानका महासचिव दीपकराज भुसाल र कार्यसमिति सदस्य उमा खड्काले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन्। सम्झौता पश्चात् अब २०२३ को नोभेम्बर सेसन तथा २०२४ को मार्च सेसनका निम्ति सूचना प्रविधि विषयको स्नातक तहमा अध्ययन गर्न चाहने २ जना नेपाली विद्यार्थीले पूर्ण र ४८ जनाले इक्यानको आंशिक छात्रवृत्ति सन्वे कलेजमा प्राप्त गर्नेछन्।
आंशिक छात्रवृत्ति पाउने १० जनाले ५० प्रतिशत र ३८ जनाले ३० प्रतिशत छात्रवृत्ति पाउने छन् । पूर्ण छात्रवृत्ति पाउनका लागि प्लस टुमा ३.६० जि पि ए ल्याएको हुनुपर्ने छ भने ५० प्रतिशत छात्रवृत्ति पाउनका लागि प्लस टुमा ३.५० जि पि ए ल्याएको हुनु पर्नेछ । ३० प्रतिशत छात्रवृत्ति पाउन प्लस टुमा ३.०० जि. पि. ए. ल्याउनु पर्नेछ । त्यस्तै आइएलटिएस परीक्षामा कम्तीमा ५.५ स्कोर ल्याएको हुनुपर्ने मापदण्ड तोकिएको छ।
सनवे कलेजले नेपालमा नै अन्तर्राष्ट्रिय स्तरको आइटी शिक्षा प्रदान गर्दै आइरहेको कलेजका एकेडेमिक डाइरेक्टर प्रमोद पौडेलले बताए । सम्झौताबाट धेरै विद्यार्थीहरू लाभान्वित हुने इक्यान उपाध्यक्ष गीता शर्मा सिवाकोटीको भनाई थियो। नोभेम्बर सेसनका लागि छात्रवृत्ति पाउनका लागि आगामी नोभेम्बर ३ सम्म र मार्च सेसनका लागि फेब्रुअरी १८ सम्म आवेदन दिइसक्नु पर्नेछ।
नेपाली विद्यार्थीलाई विदेश अध्ययनका लागि पठाउने परामर्श व्यवसायीहरूको छाता संगठन इक्यानलाई देशको शैक्षिक विकासका लागि निभाएको भूमिका बारे प्रश्न उठाउने गरिएको थियो। संघका कतिपय पदाधिकारीहरूले नेपालमै अध्ययन आफूहरूको पनि पहिलो प्राथमिकता भएको बताउँदै आए पनि त्यसको ठोस उदाहरण केही थिएन। अब भने त्यो बारे जवाफ दिन उनीहरूलाई सहज हुने भएको छ।
