काठमाडौँ- परामर्श व्यवसायीहरूको छाता संगठन स्वतन्त्र शैक्षिक परामर्श संघ नेपाल (फेकन) को आयोजनामा कर तथा भ्याट सम्बन्धी तालिम सम्पन्न भएको छ। शुक्रवार हात्तीसार स्थित नेपाल हाउसमा आयोजित तालिम फेकनको आयोजनामा आन्तरिक राजस्व कार्यालय पुतलीसडक सँगको सहकार्यमा सम्पन्न भएको हो । कार्यक्रमलाई सिटी एक्सप्रेस र एनएमबि बैंकले प्रायोजन गरी सहयोग गरेका थिए।
फेकनका अध्यक्ष राजु निरौलाको सभापतित्व र कर कार्यालय पुतलीसडकका कर अधिकृत हेलम राज न्यौपानेको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो। त्यस्तै कर कार्यालय बाट अतिथिका रूपमा अन्य दुई कर अधिकृत उपस्थित थिए। कार्यक्रममा फेकन सदस्य परामर्श व्यवसायीहरू, प्रायोजक तथा सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो।
कार्यक्रम बारे जानकारी दिँदै कार्यक्रमका सभापति तथा फेकन अध्यक्ष राजु निरौलाले फेकनले परामर्श व्यवसायीहरूको हितका लागि गर्ने कार्यक्रमहरूको शृङ्खला सुरु भएको बताए। उनले २०८० सालमा थुप्रै चुनौतीहरू अगाडी रहेको भए पनि फेकन कार्यसमिति त्यसको समाधान गर्न तयार रहेको बताए। फेकनलाई यहाँसम्म ल्याउन भूमिका खेल्ने सबै अग्रजलाई धन्यवाद दिएका उनले संघीय शिक्षा ऐन आउँदै गर्दा परामर्श व्यवसायलाई माफियाहरूको हातमा सुम्पिएर साना तथा मझौला व्यवसायीहरूको रोजीरोटी खोस्न खोजिएको हुँदा त्यो कुनै हालतमा स्वीकार नहुने उल्लेख गरे। व्यवसाय बचाउनका लागि आन्दोलन गरेर पुतलीसडक बन्द देखि सिंहदरबार घेराउ सम्मका कार्यक्रम गर्न तयार रहेको र त्यसको नेतृत्व फेकनले गर्ने उनको भनाइ थियो। अब परामर्श व्यवसायीहरूले पनि विद्यार्थी बाहिर पठाउने मात्रै नभई नेपालमा ल्याएर आफ्नो देशलाई शैक्षिक हब बनाउन प्रयास गर्नुपर्ने उनको तर्क थियो।
तालिम कार्यक्रम मार्फत करिब १८० जना व्यवसायी लाभान्वित भएको फेकनले जनाएको छ। तालिम पश्चात् नव निर्वाचित फेकन कार्यसमितिलाई आजै प्रमाणपत्र पनि प्रदान गरिएको थियो।
फोटो फिचर हेर्न यहाँ थिच्नुहोस्।