काठमाडौँ- स्वतन्त्र शैक्षिक परामर्श संघ नेपाल (फेकन) को सक्रियतामा आज परामर्श व्यवसायी संघ संगठनहरु बिच छलफल भएको छ। पुतलीसडक स्थित फेकन कार्यालयमा भएको छलफलमा विभिन्न परामर्श व्यवसायी छाता संगठनहरु तथा राजनीतिक दल निकट परामर्श व्यवसायी संगठनका अध्यक्ष तथा प्रतिनिधिहरू बिच छलफल भएको हो। फेकन, इक्यान, नेका, जाल्सान, नायर, एरी, एकेन सहितका परामर्श व्यवसायी संघ तथा नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी (केन्द्र) निकट परामर्श व्यवसायी संगठन सम्मिलित छलफलले धरौटी लगायत चुनौतीहरूमा सँगै लड्ने सहमति गरेको फेकन महासचिव छविन्द्र ओझाले जानकारी दिए।
यस अघि शिक्षा मन्त्रालय पुगेर धरौटी आवश्यक नरहेको भन्दै ज्ञापन पत्र बुझाएको फेकन कार्यसमितिले लगत्तै साझा मुद्धाहरुमा जुटेर लड्न भन्दै विभिन्न सघ संगठनलाई आज भेला गराएको थियो। फेकनमा राजु निरौलाको नेतृत्वमा नवनिर्वाचित कार्यसमितिले व्यावसायिक हितलाई पहिलो प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गर्दै आएको छ।
छलफल पछि मात्र एजुकेसन सँग कुरा गर्दै फेकनका कोषाध्यक्ष दिपेन्द्र पोखरेलले एउटा राम्रो सुरुवात भएको प्रतिक्रिया दिए। व्यावसायिक हितका लागि खुलेका सबै संघ संगठन एकै ठाउँ आउनुको विकल्प नभएको हुँदा साझा मुद्धामा मिलेर जाने सहमति भएको र बैठक लगत्तै सम्बद्ध सांसद, मन्त्रीहरू सँग लबिङ गरेर धरौटी लगायत परामर्श व्यवसायमा देखिएका चुनौती समाधान गर्न लागिपर्ने अर्थपूर्ण सहमति भेलाले गरेको उनको भनाइ थियो।
प्रस्तावित संघीय शिक्षा ऐन भित्र परामर्श व्यवसायीलाई एक करोड धरौटी ल्याउन लागिएको भन्दै परामर्श व्यवसायीहरूले त्यसको विरोध गर्दै आएका छन्।

