काठमाडौँ- बागबजार स्थित ओएसिस अब्रोड स्टडी सर्भिसेस एण्ड कन्सल्टेन्सीले स्वतन्त्र शैक्षिक परामर्श संघ नेपाल (फेकन) को नवनिर्वाचित कार्यसमितिलाई सम्मान गरेको छ। आइतबार ओएसिसको कार्यालयमा आयोजित एक औपचारिक कार्यक्रमका बिच संस्थाले फेकनको नयाँ कार्यसमितिलाई बधाई सहित सम्मान गरेको हो। कार्यक्रममा ओएसिस परिवार, फेकनको नवनिर्वाचित कार्यसमिति र सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो।
उपस्थित अतिथिलाई कार्यक्रममा स्वागत गर्दै ओएसिसका प्रबन्ध निर्देशक राम थापाले फेकन कार्यसमितिलाई बधाई तथा कार्यकाल सफलताको शुभकामना दिए। उनले निर्वाचन प्रक्रिया पश्चात् संस्थामा केही असन्तुष्टिको आवाज सुनिएको भन्दै सबैलाई समेटेर लान नयाँ नेतृत्वलाई आग्रह गरे।
फेकनका महासचिव छविन्द्र ओझाले बधाई तथा सम्मान कार्यक्रम आयोजना गरेकोमा ओएसिसलाई धन्यवाद दिए। उनले आफूहरू जटिल अवस्थामा रहेको हुँदा काम गरेर देखाउन अग्रसर भएको उल्लेख गरे। ओझाले प्राप्त सुझावहरूलाई मनन गरेर संस्थागत हितका काम गर्ने प्रतिबद्धता व्यक्त गरे।
संस्थाका कोषाध्यक्ष दिपेन्द्र पोखरेलले पनि सिर्जनात्मक कार्यक्रम गरेर नयाँ कार्यसमितिलाई काम गर्न हौसला प्रदान गरेको भन्दै ओएसिस प्रति आभार व्यक्त गरे। नयाँ कार्यसमिति काम गरेर आफूलाई प्रमाणित गर्ने उद्देश्य सहित अघि बढिरहेको भन्दै सबै हिसाबमा आफूहरूलाई सहयोग गर्न आग्रह गरे।
कार्यक्रमलाई सम्बोधन गर्दै फेकनका अध्यक्ष राजु निरौलाले सम्मानका लागि ओएसिसलाई धन्यवाद दिए। आफ्नो कार्यसमितिका अगाडी थुप्रै चुनौतीहरू रहेको भन्दै उनले परामर्श व्यवसायीहरूको हितमा काम गर्न सकेको दिन मात्रै आफूहरू वास्तविक सम्मानको हकदार हुने बताए। आगामी असोज सम्म विधान अधिवेशन गरेर हाल देखिएका चुनौती समाधान गरिने प्रतिबद्धता व्यक्त गरेका उनले निर्वाचनमा पराजित व्यवसायीहरूलाई समेत सँगै लिएर अघि बढ्न चाहेको बताए। ‘हाम्रो बिचको प्रतिस्पर्धा चुनाव सम्मका लागि थियो त्यो अब सकियो। एउटै साझा संस्थामा आबद्ध हामीहरूले अब संस्थागत र व्यावसायिक हितका लागि सहकार्य गर्नुपर्छ भन्ने मेरो ठम्याई छ’। उनले भने, ‘त्यसैले म उपस्थित पत्रकार मित्रहरू मार्फत यो सन्देश ति तमाम साथीहरूलाई दिन चाहन्छु। आउनुहोस् हामी सँगै हातेमालो गरेर हाम्रा साझा मुद्धाहरुमा सँगै लडौँ र फेकनलाई अझै बलियो बनाऊँ’। निरौलाले महासंघमा जाने विषयमा विमति नरहे पनि प्रक्रिया नपुर्याई यसअघि निर्णय गरिएको हुँदा त्यसलाई बोक्न नसकिने बताए। यो विषय पनि सदस्यहरूका बिच लगेर व्यापक छलफलपछि टुङ्गाइने उनले बताए।

कार्यक्रम सञ्चालक तथा ओएसिसका सल्लाहकार नारायण राजथलाले कम्तीमा तिन वर्षे कार्यकाल बनाए प्रभावकारी काम हुन सक्ने भन्दै विधान संशोधन गर्दा त्यो कुरा ध्यान दिन सुझाए। उनले नयाँ कार्यसमितिलाई उत्कृष्ट कार्यकालका लागि शुभकामना दिए।
ओएसिसकी अन्तर्राष्ट्रिय सम्बन्ध निर्देशक रेश्मा राजथलाले आफूहरूको निमन्त्रणा स्वीकार गरेर उपस्थित भएकोमा फेकन कार्यसमितिलाई धन्यवाद दिइन। उनले आफू कार्यसमिति भित्र नरहे पनि सधैँ फेकनको साथमा रहने प्रतिबद्धता व्यक्त गरिन्। आफू उपाध्यक्ष पदमा पराजित भए पनि राम्रा कामका लागि सधैँ कार्यसमितिको साथमा रहने र बाटो बिराए आलोचना गर्ने उनको भनाई थियो। उनले सबैलाई मिलाएर संगठित र एकताबद्ध फेकन निर्माण गर्न नयाँ कार्यसमितिलाई सुझाव दिइन।
एक हप्ता अघि निर्वाचित फेकनको नयाँ कार्यसमितिले सम्मान कार्यक्रम अघि आज मात्रै पदभार ग्रहण गरेको थियो।