काठमाडौँ- नेपाल शैक्षिक परामर्श संघ (इक्यान) का उपाध्यक्ष तथा आसन्न निर्वाचनका अध्यक्ष प्रत्याशी शेषराज भट्टराईले आफू अर्जुन बनेर इक्यान चुनावमा होमिँदा आफ्ना पछाडि धेरै कृष्णहरू रहेको बताएका छन् । बिहीबार एक पाँचतारे होटेलमा आयोजित कार्ययोजना प्रस्तुतीकरण तथा शेषराज भट्टराई टिम घोषणा कार्यक्रममा बोल्दै उनले त्यस्तो बताएका हुन् । महाभारतमा कृष्ण सारथि बनेकै कारण अर्जुनले युद्ध जितेको प्रसङ्ग प्रतिकात्मक रूपमा प्रयोग गर्दै उनले आफूले नेतृत्व गर्दै गरेको टिममा शैक्षिक परामर्श क्षेत्रका हस्तिहरू त्यसै गरी सारथि बनेर लागेकाले आफ्नो विजय निश्चित भएको दाबी उनले गरेका थिए।
कुनै समय इक्यान अध्यक्षका लागि सँगै प्रतिस्पर्धा गरेका सरोज कुमार बस्नेत र प्रकाश पाण्डेको समर्थन/ प्रस्ताव लिएर उम्मेदवारी दर्ता गराएका उनले त्यसैलाई आफ्नो पहिलो जित्ने आधार रहेको उल्लेख गरे। समावेशी टिम बनाएको, क्षमता र योग्यता भएकालाई मात्र टिममा समावेश गरेको र संस्थाले बोक्नुपर्ने हरेक मुद्दामा खरो उत्रिएको हुँदा पनि आफूहरू जित नजिक भएको उनको भनाइ थियो। भट्टराईले संस्थामा आफूले महासचिव र उपाध्यक्षका रूपमा खेलेको भूमिकाका कारण पनि इक्यान सदस्यहरूले आफूलाई नेतृत्वमा देख्न चाहेको बताए । निर्वाचन पछि प्राप्त हुने जुन सुकै परिणाम स्वीकार गरेर परामर्श व्यवसायको हितका लागि सधैँ क्रियाशील रहने उनको प्रतिबद्धता थियो।
`यु गाइड, हुइ लिड´ अर्थात् तपाईँ मार्गदर्शन दिनुस् हामी नेतृत्व गर्छौ भन्ने नारा सहित अगाडी बढेको भट्टराईको टिमले सम्मानित इक्यान सदस्य र गतिशील इक्यान बनाउने मुख्य लक्ष्य बोकेको छ। कार्यक्रममा धरौटी रहित व्यवसायको पक्षमा वकालत गरेका भट्टराईले आफू प्रत्यक्ष वैदेशिक लगानी `एफ.डि.आइ´ र एडटेक कम्पनीहरूको विपक्षमा रहेको भनाइ राखे। उनले भने, “शेषराज भट्टराई व्यवसायीका लागि यिनै मुद्दाहरूमा लड्दा आज पनि अदालतको तारिख धाइरहेको व्यक्ति हो। अनि यी मुद्दामा प्रस्ट धारणा आएन भनेर आरोप लगाउने कुनै आधार छ र? हामी कुनै हालतमा हाम्रो व्यवसाय विरुद्ध आउने यी विषयहरूको प्रवेश हुन दिँदैनौँ ” ।
भट्टराईले सिर्जनात्मक एजेन्डाहरू बोकेर आफ्नो टिम अगाडी आएको उल्लेख गर्दै शैक्षिक गन्तव्य विशेष कार्यक्रम चलाउने, डेलिगेसनहरू तथा कार्यक्रमहरूमा विज्ञताका आधारमा कार्यसमिति बाहिरका सदस्यहरूलाई समावेश गर्ने नौलो अभ्यास सुरुवात गर्ने, हप्तामा एउटा तालिम अनिवार्य गर्ने, व्यवसाय वृद्धिका लागि विशेष योजनाहरू ल्याउने, स्मार्ट इक्यान २.० सञ्चालन गर्ने, सबैको पहुँचमा सधैँ हुने कार्यसमिति बनाउने लगायतका योजनाहरू अघि सारेका छन् । आफ्नो लागि इक्यानको नेतृत्व गन्तव्य नभई अझै टाढाको दुरी तय गर्ने यात्रा भएको उल्लेख गरेका उनले सबै चुनावी एजेन्डाहरूलाई काममा परिणत गरेर देखाउने बाचा गरे। आफ्नो सम्बोधनको अन्त्यमा पुनः महाभारतको प्रसङ्ग जोड्दै उनले भीष्म पितामहको भूमिकामा बसेर अर्जुन सही थियो भन्नू भन्दा भोट दिएर समयमै सही निर्णय गर्न इक्यान सदस्यहरूलाई अनुरोध गरे।
कसले दर्ता गराए भट्टराई प्यानल बाट उम्मेदवारी ?
इक्यान निर्वाचनका लागि बिहीबार बिहान भएको मनोनयनमा शेषराज भट्टराई नेतृत्वको प्यानल बाट उपाध्यक्षमा श्रीराम पौडेल, गीता सिवाकोटी र दयाराम थापाले उम्मेदवारी दर्ता गराएका छन्। यस्तै महासचिवमा दीपकराज भुसाल, सचिवमा भवनाथ हुमागाईँ र रत्नबहादुर भट्टराईले उम्मेदवारी दर्ता गराउँदा कोषाध्यक्षमा आशिक कार्की र सहकोषाध्यक्षमा विकल्पराज पोख्रेलले उम्मेदवारी दिएका छन्। कार्यसमिति सदस्यका लागि सुवर्ण बस्नेत, विजयकुमार बस्नेत, रमेश लुइँटेल, उमा खड्का, गोविन्द खनाल, हेमराज थापाले पनि भट्टराई समूहबाट उम्मेदवारी दर्ता गराएका छन्।
आगामी दुई वर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्न असार ३० गते शनिवार इक्यानको निर्वाचन हुँदैछ।

