Matra Education आइतबार, साउन १० २०८३

इक्यानमा जित्ने आधार सहित विष्णुहरि पाण्डेको प्यानल घोषणा, यी हुन् उम्मेदवारहरू

इक्यानमा जित्ने आधार सहित विष्णुहरि पाण्डेको प्यानल घोषणा, यी हुन् उम्मेदवारहरू

  • मात्र एजुकेशन
  • बुधबार, असार २७ २०८०


काठमाडौँ- शैक्षिक परामर्श व्यवसायीहरूको सबैभन्दा ठुलो छाता संगठन नेपाल शैक्षिक परामर्श संघ (इक्यान) को अध्यक्षका लागि पुर्व अध्यक्ष विष्णुहरि पाण्डेले आफ्नो प्यानल घोषणा गरेका छन्। केही दिन अघि सामाजिक सञ्जाल फेसबुक मार्फत अध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गरेका उनले समूह बनाएर जाँदा आफूहरूको जित सुनिश्चित हुने भन्दै प्यानल घोषणा गरेका हुन्। शैक्षिक परामर्श क्षेत्रका हस्तीहरू समेटेर बलियो प्यानल निर्माण गरेका उनले संस्थाको कुल ४६७ मत मध्ये २५० भन्दा बढी आफ्नो पक्षमा रहेको हुँदा निर्वाचन परिणाम आफ्नो समूहको पक्षमा पर्ने दाबी गर्दै आएका छन्। आगामी असार ३० गते इक्यानले नयाँ कार्यसमिति चयनका लागि निर्वाचन गर्दै छ।

इक्यान भित्र लोकप्रिय छवि बनाएका पुर्व अध्यक्ष पाण्डेले यसअघिको आफ्नो कार्यकालमा २० महिना २० दिनमै नेतृत्व हस्तान्तरण गरेर असल नेतृत्वको उदाहरण पेस गरिसकेका छन्। यसअघि कोषाध्यक्ष, दुई कार्यकाल उपाध्यक्ष समेत बनेका उनी त्यस अध्यक्षमा निर्विरोध निर्वाचित भएका थिए। इक्यानमा सुशासन र इमान्दार नेतृत्वको वकालत गर्ने पाण्डेले आफ्ना केही चुनावी प्रतिबद्धताहरू पनि सार्वजनिक गरेका छन्।

उनले २० महिनामै नेतृत्व हस्तान्तरण गर्ने, प्रत्येक ३ महिनामा पत्रकार सम्मेलन गरेर इक्यानको कार्य प्रगति विवरण सार्वजनिक गर्ने, ६ महिनाभित्र संस्थाको घर खरिदका लागि काम सुरु गर्ने, घरको किस्ता तिर्नका लागि स्थायी स्रोतको व्यवस्थापन गर्ने लगायतका एजेण्डा अघि सारेका छन् । त्यस्तै इक्यानमा तालिम र व्यवसायीक विकासमा जोड दिने, इक्यानका शाखालाई आर्थिक अधिकार दिएर सम्पन्न बनाउने, इक्यानलाई नेता संगठनको रूपमा विकास गर्ने, सरकारसँगको लबिङ पछि धरौटी रोक्ने र जिल्लाहरूमा शाखा खोल्ने अधिकार सुनिश्चित गर्ने समेत उनका एजेन्डाहरू हुन् । इक्यानलाई अन्तर्राष्ट्रिय रूपमा परिचित गराउने र अन्य देशका संगठनहरुसँग पनि कार्यगत मित्रता बढाउने तथा वैदेशिक लगानीमा सञ्चालित कम्पनीहरू र एड टेक अनलाइन संस्थाहरूलाई बन्द गराउने पनि उनका योजनाहरू हुन्।

को छन् पाण्डेको प्यानलमा ?
शैक्षिक परामर्श क्षेत्रमा स्थापित र परिचित व्यक्तिहरूलाई समेटेर पाण्डेले तयार पारेको समूहमा उस्तै प्रभावशाली व्यवसायीहरूले प्रवेश पाएका छन्। भुवन क्षेत्री, लक्ष्मण पौडेल (एन्ड्रयु) र प्रकाश श्रेष्ठलाई उपाध्यक्ष उम्मेदवारका रूपमा अघि सारेका पाण्डेले महासचिवमा वासुदेव दाहाल, सचिवमा फिलिपकुमार डाँगी क्षेत्री र शिव त्रिपाठीलाई उम्मेदवार बनाउने तयारी गरेका छन्। त्यस्तै कोषाध्यक्षमा विनोदकुमार सुवेदी र सहकोषाध्यक्षमा हेमराज सिग्देलले उम्मेदवारी दिने तयारी भएको छ भने कार्यसमिति सदस्यका लागि आशिष रायमाझी, सुरज सिलवाल, मञ्जित ढकाल, सतिन्द्र झा, एसपी भट्टराई, साधना पुडासैनी, शिवप्रसाद अर्याल, सुमन शर्मा जमरकट्टेल र श्रीराम गिरीले पाण्डे नेतृत्वको प्यानलबाट उम्मेदवारी दिने भएका छन्।

पाण्डे जस्तै उम्मेदवारी दिने अन्य व्यवसायीहरू पनि हरेक क्षेत्रमा अब्बल र सक्षम रहेको यो समूहको दाबी छ। समावेशी रूपमा प्यानल बनाएको, संस्थामा पाएको जिम्मेवारी निभाउन सक्ने उम्मेदवार छानेको र इक्यानका तमाम परामर्श व्यवसायीहरूको साथ आफूहरूलाई रहेको हुँदा यो पटक नेतृत्वमा आफूहरू स्थापित हुने पाण्डे प्यानलको दाबी छ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड