काठमाडौँ- अस्पार्क एजुकेसन नेटवर्कका सिइओ विमलमान राजभण्डारीले नेपाल शैक्षिक परामर्श संघ (ईक्यान) को उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन् । २००८ सालदेखि निरन्तर शैक्षिक परामर्श क्षेत्रमा सक्रिय राजभण्डारीले आफू गुट र समूह रहित इक्यानको पक्षमा रहेको भन्दै स्वतन्त्र उम्मेदवारी घोषणा गरेका हुन्। सामाजिक सञ्जाल मार्फत उम्मेदवारी घोषणा गरेका उनी निरन्तर प्रचार प्रसारमा क्रियाशील छन्।
इक्यानमा दुई जना उम्मेदवारले अध्यक्ष पदका लागि पनि स्वतन्त्र उम्मेदवारी दिएका छन् भने अर्का दुई उम्मेदवारले प्यानल नै बनाएर चुनावी तयारी सुरु गरेका छन्। राजभण्डारी भने यसरी समूह र गुट बनाएर लाग्दा छाता संगठनको भूमिका प्रभावकारी हुन नसक्ने हुँदा आफू स्वतन्त्र नेतृत्वको पक्षमा रहेको बताउँछन्।
‘इक्यानियनका लागि इक्यान’ भन्ने नाराका साथ समग्र शैक्षिक परामर्श व्यवसायीहरूको हितका लागि काम गर्ने लक्ष्यका साथ उम्मेदवारी दिएको राजभण्डारीले बताए । इक्यानमा हुने राजनीतिक सिन्डिकेटलाई तोड्न र आम सदस्यहरूको व्यवसायीक सम्मानका लागि पनि आफ्नो उम्मेदवारी रहेको उनको भनाई छ । इक्यानलाई सबै सदस्यले आफ्नै संस्था हो भन्ने महसुस गराउँदै उनीहरूको क्षमता अभिवृद्धिका लागि विभिन्न गोष्ठी, सेमिनार र तालिममा समान सहभागिताको अवसर दिलाउन कुनै कसर नछाड्ने राजभण्डारी बताउँछन् । त्यस्तै उनले व्यवसायीहरूलाई परिआउने नीतिगत तथा कानुनी अड्चन फुकाउन राज्यका सरोकारवाला निकायसँग निरन्तर समन्वयकारी भूमिका निर्वाह गर्न अग्रपङ्क्तिमा रहेर काम गर्ने बताए ।
शैक्षिक परामर्श व्यवसायमाथि राज्यले अनावश्यक धरौटीको व्यवस्था गर्ने त्रास देखाइरहेको अवस्थामा यसको सशक्त प्रतिवाद गर्न व्यवसायीका एकताको खातिर उपाध्यक्षमा उम्मेदवारी दिन लागेको राजभण्डारीले बताए ।
राजभण्डारीले आफ्नो उम्मेदवारी कोही कसैसँग प्रतिस्पर्धा गर्न नभई व्यवसायीका हितका निम्ति नीति निर्माण, समावेशिता, पारदर्शिता र समृद्ध इक्यान निर्माणको लागि भएका कारण सम्पूर्ण सदस्यहरूलाई मतदान गर्न आग्रह गरेका छन् ।