काठमाडौँ- शैक्षिक परामर्श व्यवसायीहरूको सबैभन्दा ठुलो छाता संगठन नेपाल शैक्षिक परामर्श संघ (इक्यान) को अध्यक्षका लागि वर्तमान कार्यसमितिका उपाध्यक्ष शेषराज भट्टराईले उम्मेदवारी घोषणा गरेका छन्। आइतबार सामाजिक सञ्जाल फेसबुक मार्फत भट्टराईले उम्मेदवारी घोषणा गरेका हुन्। आगामी असार ३० गते इक्यानले नयाँ कार्यसमिति चयनका लागि निर्वाचन गर्दै छ।
उम्मेदवारी घोषणा गर्दै भट्टराईले अध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गर्न पाउँदा आफूले सम्मानित महसुस गरेको उल्लेख गरेका छन्। उनले लेखेका छन्,” म ठुलो जोस र समर्पणका साथ तपाईँका अगाडि हाम्रो संस्था इक्यान र सम्पूर्ण अन्तर्राष्ट्रिय शिक्षा उद्योगको विकास र सफलतामा योगदान दिन तयार भएर उभिएको छु। धेरै वर्षदेखि शैक्षिक परामर्श क्षेत्रमा गहिरो संलग्नता भएकोले मैँले परामर्श क्षेत्र, परामर्शदाता र हाम्रा क्षेत्रको संवेदनशीलता र महत्त्व बुझेको छ। ”
भट्टराईले इक्यानमा आफ्नो भिजन ४ मुख्य स्तम्भहरूमा आधारित रहेको बताएका छन्। सक्रिय संलग्नता, पहुँच, व्यापार वृद्धि र नीति वकालतलाई उनले आफ्नो प्रमुख मुद्दा बनाएका छन्। एक उम्मेदवारको रूपमा आफू सँग ‘साहस अनि विश्वास’ र बलियो नेतृत्व विशेषताहरू रहेको हुँदा यो पदको जिम्मेवारी प्रभावकारी रूपमा पूरा गर्न सक्षम रहेको पनि उल्लेख गरेका छन्। आफूले जिम्मेवारी पाए सदस्यको हित र परिवर्तनका लागि काम गर्ने भट्टराईको प्रतिबद्धता छ।