Matra Education सोमबार, साउन ११ २०८३

फेकन उपाध्यक्षका लागि सचिव कुश्वारले गरे उम्मेदवारी घोषणा

फेकन उपाध्यक्षका लागि सचिव कुश्वारले गरे उम्मेदवारी घोषणा

  • मात्र एजुकेशन
  • सोमबार, असार १८ २०८०


काठमाडौँ- परामर्श व्यवसायीहरूको छाता संगठन स्वतन्त्र शैक्षिक परामर्श संघ नेपाल (फेकन) को नयाँ नेतृत्वका लागि वर्तमान कार्यसमितिका सचिव उमेश कुश्वारले उपाध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गरेका छन्। कुश्वारले आफूले सदस्य र सचिवका रूपमा यसअघि उत्कृष्ट कार्य गरेको र संस्थालाई अझै बलियो बनाउनका लागि उपाध्यक्ष पदमा आफ्नो आवश्यकता महसुस भएकाले उम्मेदवारी घोषणा गरेको बताएका छन् । आगामी असार २३ गते सम्पन्न हुने १२ औँ वार्षिक साधारण सभा मार्फत आगामी २ वर्षे कार्यकालका लागि फेकनले नयाँ कार्यसमिति चयन गर्नेछ।

सिलिंक एजुकेसनका सञ्चालक कुश्वारले उम्मेदवारी घोषणा गर्दै फेकनलाई परामर्श क्षेत्रका साथै अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउन आफू सफल भएको र त्यसलाई अझै विस्तारित गर्नका लागि उम्मेदवारी दिएको उल्लेख गरेका छन् । कुश्वार अन्तर्राष्ट्रिय क्षेत्रमा राम्रो सम्बन्ध भएका व्यवसायीको रूपमा परिचित छन् । विभिन्न कलेज तथा विश्वविद्यालय, कूटनीतिक नियोग लगायतका निकायमा राम्रो सम्बन्ध भएका उनले फेकनलाई स्थापित गराउन महत्त्वपूर्ण भूमिका खेलेका छन् । फेकनलाई आर्थिक रूपमा सक्षम बनाउन विगतमा विभिन्न क्षेत्रबाट सहयोग जुटाएका उनले आफू उपाध्यक्षमा निर्वाचित भए यसलाई दोब्बर बनाउने योजना रहेको बताएका छन् ।

कुश्वारले संस्थामा काम गर्नका लागि यश अघि दिएको जिम्मेवारीका लागी फेकनका सदस्यहरूलाई धन्यवाद दिएका छन् । त्यस्तै उनले उपाध्यक्ष निर्वाचित भए यसलाई झन् बढवा दिने प्रतिबद्धता जनाएका छन् । कोभिड जस्तो विषम परिस्थितिमा पनि व्यवसायी तथा समस्यामा परेका विद्यार्थीलाई फेकन मार्फत सहयोग गर्न आफ्नो भूमिका महत्त्वपूर्ण रहेको र यस्ता असाधारण परिस्थितिमा चालेको कदम मार्फत छाता संगठनको भूमिका अझै पुष्टि गरेको उनको भनाई छ।

आफ्ना थुप्रै योजनाहरू पूरा गर्न बाकी रहेको भन्दै ती कामहरू पूरा गर्नका लागि उपाध्यक्षको भूमिकामा आउन खोजेको कुश्वारको दाबी छ । कुश्वारले फेकनलाई संगठित, सुदृढ, एकताबद्ध र आत्मनिर्भर बनाउने आफ्नो प्रयासलाई हौसला प्रदान गर्न सबै व्यवसायीलाई अपिल गरेका छन् । साथै, उनले वृहत् शैक्षिक मेलामार्फत फेकनलाई आर्थिक रूपमा सबल बनाउने, व्यवसायीहरूको क्षमता अभिवृद्धि गर्न विभिन्न खालका तालिमहरूको आयोजना गर्ने, फेकनका व्यवसायीहरूलाई अरू व्यवसायीभन्दा अब्बल बनाउने, फेकनलाई अझ स्थापित गर्न भूमिका खेल्ने योजना रहेको बताएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड