काठमाडौँ- परामर्श व्यवसायीहरूको छाता संगठन स्वतन्त्र शैक्षिक परामर्श संघ नेपाल (फेकन) को नयाँ नेतृत्वका लागि वर्तमान कार्यसमितिका महासचिव राजु निरौलाले अध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गरेका छन्। निरौलाले आफू उक्त पदका लागि उपयुक्त पात्र भएको भन्दै मंगलबार उम्मेदवारी घोषणा गरेका हुन्। आगामी असार २३ गते सम्पन्न हुने १२ औँ वार्षिक साधारण सभा मार्फत आगामी २ वर्षे कार्यकालका लागि फेकनले नयाँ कार्यसमिति चयन गर्नेछ।
उम्मेदवारी घोषणा गर्दै निरौलाले आफूले फेकन भित्र विभिन्न भूमिकामा रहेर काम गरेको र संस्थाले दिएको सबै जिम्मेवारीलाई कुशलतापूर्वक निर्वाह गरेको हुँदा संस्थाको गरिमा र उचाइ अझै बढाउन आफूले नेतृत्व गर्नुपर्ने सोच अनुरूप उम्मेदवारी घोषणा गरेको बताएका छन्। मात्र एजुकेसन सँगको टेलिफोन संवादमा उनी भन्छन्, “यो पटक सहमतिमा नेतृत्व चयन गर्ने भन्ने तयारी संस्था भित्र भइरहेको छ। मैँले महासचिवका रूपमा यो कार्यकाल खेलेको भूमिका सबै व्यवसायी साथीहरूले नजिक बाट नियाल्नु भएको छ। त्यसो हुँदा मेरो नेतृत्वमा नयाँ कार्यसमिति बनाउन साथीहरू सहमत हुनुहुन्छ भन्ने मेरो बुझाई छ। त्यसो हुन नसके पनि लोकतान्त्रिक प्रक्रिया बाट नेतृत्व छान्ने विकल्पका लागि पनि म खुला छु। सबै साथीहरूले आवश्यक साथ र सहयोग गर्नुहुन्छ भन्ने विश्वास सहित उम्मेदवारी घोषणा गरेको छु”। आफू अध्यक्ष बनेर आए संस्थाको उचाइ बढाउने र अझै सुदृढ फेकन बनाउने निरौलाको दाबी छ।
टाउनहल एजुकेसनका सञ्चालक रहेका निरौला विगत १७ वर्ष देखि परामर्श व्यवसायमा आबद्ध छन्। फेकनको सचिव र महासचिव भएर काम गरिसकेको अनुभव निरौला सँग छ। आफूले परामर्श व्यवसाय सँग सम्बन्धित विभिन्न संस्थाहरू तथा नियोगहरूमा राम्रो सम्बन्ध बनाएको हुँदा परामर्श व्यवसायीहरूका विविध समस्या समाधानको ज्ञान र क्षमता आफू सँग भएको उनी बताउँछन्। निरौलाले केही दिनमै आफ्ना कार्ययोजनाहरु सार्वजनिक गर्ने बताए।