काठमाडौँ- उच्च शिक्षाका लागि विदेशी जाने विद्यार्थीहरूलाई प्रदान गरिने ‘नो अब्जेक्सन सर्टिफिकेट’ (एनओसी) अब विद्यार्थी आफैँले अनलाइनबाट प्रिन्ट गर्न पाउने भएका छन्। आज शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गतको विदेश अध्ययन अनुमति शाखामा आयोजित एक कार्यक्रमका बिच शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोक राईले पहिलो एनओसी जारी गर्दै अनलाइन सेवाको विधिवत् सुरुवात गरेका हुन्।
सरकारले वैदेशिक अध्ययनलाई व्यवस्थित गर्नका लागि भन्दै जारी गरेको ‘वैदेशिक अध्ययन स्वीकृतिसम्बन्धी निर्देशिका, २०७९’ मा व्यवस्था भए बमोजिम यो सेवाको सुरुवात गरिएको हो। एनओसी लिने कार्यलाई सहज, सरल, तथ्यपरक, व्यवस्थित, प्रविधिमैत्री तथा प्रभावकारी बनाउन र विदेशी मुद्रा सटही सिफारिससम्बन्धी कार्यलाई व्यवस्थित गर्ने उद्देश्य निर्देशिकाले राखेको छ । उक्त प्रावधान अनुसार नै एनओसी जारी गर्ने प्रक्रिया पूर्ण रूपमा अनलाइन बनाइएको हो।
मन्त्री राईको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा शिक्षा मन्त्रालयका सचिव रामकृष्ण सुवेदी, राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्मा सहित मन्त्रालय अन्तर्गत विभिन्न शाखामा कार्यरत उच्च पदस्थ अधिकारीहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा बोल्दै एनओसी शाखा प्रमुख वासुदेव वस्तिले नागरिक मैत्री सेवा प्रदान गर्ने उद्देश्य अनुरूप अनलाइन सेवा सुचारु गरिएको बताए। सेवा दिने क्रममा विभिन्न सरोकारवाला शैक्षिक संस्थाको ‘एपिआइ इन्ट्रिग्रेट’ गरी पुरा अनलाइन प्रणाली बाटै सेवा प्रवाह गर्ने प्रयास गरिएको भए पनि ती संस्थाहरूको सफ्टवेयर अभावका कारण ४०% अझै ‘म्यानुअल’ काम गर्नुपर्ने बाध्यता रहेको उनको भनाई थियो। उनले सेवा प्रवाहलाई सुधार गर्दै उत्कृष्ट बनाउने क्रममा सेमिअनलाइन बाट अनलाइन गरिएको र बिस्तारै यो प्रक्रिया पुरा हुने विश्वास व्यक्त गरे। वस्तिले शाखाको सेवा प्रणालीलाई यो अवस्थामा पुर्याउन भूमिका खेल्ने सबैलाई धन्यवाद दिए।
शिक्षा मन्त्रालयका सचिव रामकृष्ण सुवेदीले आफू मन्त्रालयमा आएपछि दोस्रो खुसीको दिनमा रहेको उल्लेख गरे। शैक्षिक सत्रको सुरुवातमै पाठ्यपुस्तक सबैको हातमा पुग्दा पहिलो खुसी मिलेको र आज शिक्षा मन्त्रालयको सेवा प्रवाह गर्ने एनओसी शाखाले अनलाइन गर्न सफल हुँदा अर्को खुसी थपिएको उनले बताए । १० महिना अघि मन्त्रालय आउँदा आफूले पहिलो निर्देशन यही कामका लागि दिएको स्मरण गर्दै उनले फेस लेस, पेपर लेस र क्यास लेस सुविधा प्रदान गर्ने आफ्नो सपनाले मूर्त रूप लिएको उल्लेख गरे। यो सुरुवात मात्रै भएको हुँदा केही समयमा थप सुधार हुने उनको भनाई थियो। उनले यो महत्त्वपूर्ण दिनलाई शिक्षा मन्त्रालयको प्रतिमान परिवर्तन र नयाँ गन्तव्य तर्फको यात्राको सुरुवातको दिनका रूपमा लिनुपर्ने विचार राखे।
अनलाइन सेवा प्रणाली उद्घाटन पश्चात् मन्त्री राईले भाषण गर्ने कार्यक्रम भन्दा परिणाममुखी कार्यक्रममा जोड दिनुपर्छ भन्ने आफ्नो मान्यता रहेको र त्यस्तै कार्यक्रम आयोजना गरिएको पाउँदा खुसी लागेको उल्लेख गरे। यसअघि एनओसी लिनका लागि सेवाग्राही विद्यार्थी र अभिभावकहरूले भोगेको समस्या आफूले प्रत्यक्ष अनुभव गरेको भन्दै ती सबै समस्या अब समाधान हुने विश्वास व्यक्त गरे। विद्यार्थी आफैँले एनओसी प्रिन्ट गर्न सक्ने भनेको तारिफयोग्य काम भएको भन्दै उनले यो कामका लागि खट्ने सबै धन्यवादको पात्र भएको बताए। ४०% काम अझै म्यानुअल गर्नुपर्ने हुनु दुखद भए पनि सुरु भएपछि सुधार हुँदै जाने र त्यसलाई ९९% पुर्याउन मन्त्रालयले खेल्नुपर्ने भूमिकाका लागि आफू तयार रहेको उनले बताए।
मात्र एजुकेसनले एनओसीमा विद्यार्थीले भोगेको समस्यालाई प्राथमिकताका साथ उठाउने र सम्बन्धित निकायको यसबारे ध्यानाकर्षण गराउने गर्दै आएको थियो।
