काठमाडौँ- शिक्षा मन्त्रालयले जारी गरेको ‘वैदेशिक अध्ययन स्वीकृतिसम्बन्धी निर्देशिका–२०७९’ मा असहमति राख्दै परामर्श व्यवसायीहरूले विरोध जनाएको एक हप्ता बढी भयो। यस बिचमा उनीहरूले विभिन्न माध्यम बाट विरोध जनाउने देखि मन्त्रालयमा डेलिगेसन जाने तथा प्रधानमन्त्री सम्मलाई ध्यानाकर्षण गराउने गर्दै आएका छन्। अब भने यो विषयमा व्यवसायीहरू मात्रै नभई विद्यार्थीहरूले समेत आवाज उठाउन थालेका छन्। यो निर्देशिकाले प्रभावित विद्यार्थीहरूले हिजो र आज नयाँ वानेश्वरमा आन्दोलन गर्दै निर्देशिका खारेजीको माग गरेका हुन्।
निर्देशिकामा उल्लेख कतिपय व्यवस्थाले नेपाली नागरिकको नैसर्गिक अधिकार हनन गर्ने परामर्श व्यवसायीहरूको दाबी छ। खासगरि निर्देशिकामा उल्लेख गरिएको उच्च शिक्षा (स्नातक र त्यसभन्दा माथि) को परिभाषा नमिलेको, एनओसी लिँदा परामर्शदाताले सिफारिस पत्र दिनुपर्ने, विदेश जानुअघि यहाँको परीक्षा पास गरेको हुनुपर्ने प्रावधान प्रति व्यवसायीहरूको विरोध छ। त्यस्तै भाषा लगायतका कोर्समा एनओसी नदिने तथा स्नातक भन्दा तलका कोर्सहरू पढ्न विदेश जान नपाइने प्रावधान पनि व्यवसायी तथा विद्यार्थीहरूको टाउको दुखाइको विषय बनेको हो।
हिजो र आज वानेश्वरमा आन्दोलन गरेका विद्यार्थीहरूले निर्देशिका खारेजीको माग गर्दै प्रदर्शन गरेका हुन्। उनीहरूले ‘शिक्षा हाम्रो भविष्य हो’, ‘हामीलाई एनओसी चाहियो’ लगायत लेखिएको प्लेकार्ड बोकेर प्रदर्शन गरेका हुन्।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शिक्षा मन्त्रालयको जिम्मेवारी सम्हालेको समयमा गत फागुन १८ गते निर्देशिका स्वीकृत भएको थियो । यो निर्देशिका गत वैशाख २ गतेदेखि लागू भएको छ ।