आज निकै समयपछि फुर्सदमा आफ्नो बेलाको विद्यालय जीवन सम्झिएँ । लोडसेडिङको चरम परिचर्चा हुने त्यो बेला, पक्कै पनि सजिलो त थिएन, कमसेकम । अहिलेको इन्टरनेटको बेला, सबै खाले सानातिना खबरहरूसँग प्रायः अपडेट भई रहने म, त्यो बेला हाम्रो अपडेट लोडसेडिङको अनपेक्षित तालिका कति परिमार्जित भयो भन्नेमै प्राय हुन्थे । बेला नै त्यस्तै, टुक टुके वाला फोन, त्यसमाथि नि बाबाले चार्जमा राख्नुभएको बेला यसो छुस्स चलाउन पाइने बेला । अबेलासम्म पढ्ने र बिहानै सबेरै उठेर फेरि त्यही चक्र दोहोरिने कार्यतालिका, त्यसमाथि सबैभन्दा बढी प्रयोग हुने हरफ “फलानोले के भन्लान् , फलानोको छोरो/छोरी र डाक्टर पढ्दैछन्, तिम्रो फलानो साथी त बिहानै उठ्छ र पढ्छ रे ?”
प्राय: यही हरफहरू गुन्जिने बेला त्यो, यद्यपि इख र चाहना ठुलो थियो यी साना आँखामा । डाक्टर बन्ने, आमा बुवालाई फिल्मी शैलीमा देखिएझैँ स्नेह, माया र उपचार गर्ने जस्ता सपना र चाहना नौलो पक्कै थिएनन् एक आम विद्यार्थीमा । अहिलेको झैँ (धेरै) लचिलो र केही हदसम्म विद्यार्थीकै कुरा मात्र पत्याउने अभिभावक पाउन कल्पनाले पनि भ्याउँदैन थियो त्यो समय ; शिक्षक कहिले गलत हुँदैनन् भन्ने छवि जो बनेको हुन्थ्यो । घरमा निकै गाह्रो हुन्थ्यो विद्यालयमा नपढेर सजाय पाएको घटना बयान गर्न । त्यसमाथि, पढाइसँगै आचरणको पाटो सम्झिन्छु , कति कडा अनुशासन र लगनशीलता थिए हामीभित्र । शिक्षक र परिवारको ‘डर ‘ ले नै सही, आचरण र अनुशासन जस्ता कुरा सधैँ प्राथमिकता नै रहे । त्यही भएर हो कि, अहिले पनि मिल्ने साथीभाइसँग भेट हुँदा भन्ने हरफ हो – हाम्रो पालामा त खासै याद गरिने खाले उटपट्याङ केही नगरिएको भएर होला, खासै याद सम्म हुन्नन् धेरै । हुन पनि हो, सरलाई बाटोमा देख्दा फलानो सर आउनुभयो, भा..ग भन्दै लुक्न पुगेको हुन्थ्यो । अध्ययनको लागि श्रोत-अभाव निकै खट्किन्थ्यो, यद्यपि शिक्षक लाई नै पढाइ लेखाइको केन्द्र मानिन्थ्यो ।
अझै ताजा छ त्यो बाल्यकाल– परीक्षाको नतिजा प्रकाशनको दिन, लगभग मस्तिष्कले नै काम गर्दैनथ्यो; खाना रुच्नु त परकै कुरा । चलन नै के थियो भन्दा मार्कशीट हातमा लिने बित्तिकै पर्सेन्ट र मुख्य रूपमा -कति भइयो कक्षामा त्यो हेर्ने परिपाटी हाबी थियो। त्यो एक दिनको नतिजाले गर्दा हिरोसिमा र नागासाकीमा जस्तै बम खस्थे गाली र उपदेशका गोला महिनौँसम्म घरमा । आजकालका प्राय मैले देखे भोगेका छिट्टै आवेगको बाटो पक्रिने, गुनासो र आलोचना सहन नसक्ने अनि निस्फिक्री अनुशासनको विकल्प देख्ने वर्गका स्कुले बालबालिका भन्दा पक्कै पनि सहनशील लाग्छ आफूलाई ती क्षणहरू ।
मनमा केही समय अमिलो पक्कै पर्थ्यो, निकै खडकिन्थ्यो मनका कुना कन्दराहरूमा , यद्यपि जिन्दगी कहिले अमिलो बन्न पाएन आचरणको कुरामा भन्ने आज शिक्षण पेसा अँगाल्दै गर्दा बुझ्दै छु। शिक्षकलाई ‘कुरा लगाउन ‘ बुवा आमा जानुहुँदा निकै डर लाग्थ्यो, जसलाई आजकाल आफै एक शिक्षकको भूमिकामा उभिँदा ‘ समन्वय र साझेदारी ‘ हो भन्ने मान्छु । कम्तीमा गुनासो नै सही, बेलैमा त सम्बोधन हुन्थे भन्ने अन्तर मनबाट महसुस हुन्छ । अहिले त्यही बेला सम्झिँदा निकै फरक पाउँछु, शिक्षण पेसा थालेको १० वर्ष हुन लाग्यो, ६ ओटा संस्थामा कार्यानुभव पनि सँगालियो; कतिपय संस्थामा अभिभावक नदेखेको महिनौँ बित्दथे, फोन बेलैमा उठ्दैनन् अभिभावकका, समन्वय र समझदारी प्रायः अभाव नै लाग्छ । अनि मूलतः मार्कशीटमा ए प्लस आए पनि आचरण र नैतिक पाटोमा प्राय प्रश्न चिन्ह नै धेरै हुन्छन् भन्दा अनुभवले गलत पक्कै मान्दिन , अनि झन् रोचक र पृथक् चाहिँ के भने पहिले झैँ किन थोरै नम्बर आयो भनेर विद्यार्थीलाई सोधिन्न, उल्टै शिक्षकमाथि पनि सम्भावित प्रश्नका थुप्रा बजारिन्छ ।
फरक ट्रेन्ड अनि प्रजातान्त्रिक अभ्यास कहलिन्छ यो अभ्यास आजकाल । अनि मेरो भोगाइ, आचरण जे सुकै होस् तर मेरो छोराछोरीको ए प्लस आए मा खुसी भन्ने मानसिकताको तीव्र विकास भएको पाउँछु। अनि कुनै बेला स्नातक तहमा अध्ययन गर्दै गर्दा मेरा अङ्ग्रेजी विषयका गुरुले भन्नुभएको हरफ सम्झिन्छु: अ स्टुडेन्ट अफ ए ग्रेड इन स्कुल इकजाम क्यान बि अफ सी ग्रेड इन रियल लाइफ ।
मैले यो दस वर्षमा देखेको र भोगेको अर्को दृश्य भनेको परिवर्तनको वेग हो । अहिले एउटा सिक्ने मानसिकता राख्ने विद्यार्थीलाई श्रोत अनेक छन् । घण्टौँ फेसबुक,फ्री फायर, टिक टक आदिमा मोबाइल फोन दिँदा बच्चा भुलियो नि त , चलाओस् नत भन्ने मानसिकता बोकेका अभिभावक भेट्नु वा भेटियो भने त्यो नौलो कुरा पक्कै हैन । त्यसमाथि, आफ्ना बच्चालाई समय दिन नसक्ने, स्कुल पठाएपछि सबै शिक्षककै जिम्मा हो भन्ने मानसिकता बोक्ने, समन्वयमा हातेमालो गर्न असहज मान्ने अभिभावक को जमात पनि पक्कै देखिएकै हो यो केही वर्षको अन्तरमा र यो व्यस्तताको जीवनपद्धतिमा त्यो जमातको सङ्ख्या बढ्दै छ भन्ने कुरामा मलाई दुई मत लाग्दैन ।
पारिवारिक माहौल को प्रतिकूल प्रभाव, आफ्ना बच्चालाई समय दिन नसक्ने अभिभावक, दिए पनि अधुरो समय र स्याहार दिने प्रवृत्ति, समन्वयप्रति कम रुचि राख्ने शिक्षण संस्था र अभिभावक, अनि मैले मासिक शुल्क तिरेपछि मेरो दायित्व यही सकियो भन्ने कमजोर मानसिकता बोक्ने साँघुरो प्रवृत्ति, र अहिलेको ज्वलन्त, मैले नजिकबाट नियाल्दा देखेको भोगेको चाहिँ – आफ्ना बालबालिकामा आएका परिवर्तनहरू लाई नजरअन्दाज गरिदिने, सधैँ सानो, संकीर्ण र यथास्थितिवादी सोचको नजरले बालबालिकालाई हेर्ने प्रवृत्ति, उसलाई आवश्यक परामर्श समय हुँदै नदिने बानी, उसलाई पढाउने शिक्षकलाई विभिन्न तवरले सहयोग गर्न तत्परता नदेखाउने मानसिकता, आदि अहिलेका समकालीन शिक्षाका जल्दो बल्दो समस्या मलाई लागेको छ । यसले स्कुलिङ प्रणाली र समग्रमा आउने अबको पुस्तालाई ए प्लस त जसोतसो देला तर आचरण, सामाजिक समायोजन, स्फूर्ति, सकारात्मक मानसिकता, आदिको क्षेत्रमा के उठ्न सक्ने बनाउला? के हामीले आचरण र संस्कारको पाटो नजरअन्दाज गरेर मार्कशीट कै आधारमा मूल्याङ्कन गर्ने अवस्था न्यायपूर्ण होला? के शिक्षण पेसामा शिक्षक र अभिभावक दुवैको समन्वय र सार्थक प्रयास बिना नै गुणस्तरीय शिक्षाको अवधारणा साकार होला?
अनि मूलतः के हामीले चाहेको आउट कम यही होला र विद्यार्थी र शिक्षा क्षेत्रबाट? ए प्लस ल्याउने बनाउने सम्म मात्रै हाम्रो दायित्व होला? कतै भोलि- भोलि भन्दा आउने सुनौला नक्षत्र/ देशका कर्णधारहरू आलोकाँचो , अव्यवहारिक, अपरिपक्व त निस्किने हैनन्? पक्कै पनि यी कुराहरूमा ध्यान दिनु र उचित सम्बोधन हुनु अपरिहार्य छ । एक पक्षले अर्को पक्षलाई दोष लगाएर पानीमाथिको ओभानो भनेर बन्ने ‘ कम्फर्ट जोन ‘ ले केही समय त चित्त बुझाउँला तर पक्कै समाधानको पर्याय बन्न भने पक्कै सक्दैन ।
मार्कशीट चम्काउने भन्दा पनि एउटा विद्यार्थीको सर्वाङ्गीण पक्ष चम्काउने , दक्ष बनाउने, आचरण र जिम्मेवारी बोध गराउने, सबल र सक्षम बनाउने, दायित्वबोध गराउने, आदि कार्यहरू सबै पक्षबाट बेलैमा हुन पक्कै जरुरी छ । तीन घण्टे परीक्षामा फेल हुँदा त पुनः परीक्षा होला ,तर आचरण र संस्कारको परीक्षामा एक विद्यार्थी चुक्दा पक्कै पनि त्यो ठुलो घाटा बनेर ब्याज सहित आउनेछ र यो पक्षमा आबद्ध सबै पक्षलाई पराजित तुल्याउने छ ।