Matra Education आइतबार, साउन १० २०८३

२२ वर्षदेखि सञ्चालनमा रहेको विद्यालयको हालत, एउटै कोठामा हुन्छ दुई तहका विद्यार्थीको पढाइ

२२ वर्षदेखि सञ्चालनमा रहेको विद्यालयको हालत, एउटै कोठामा हुन्छ दुई तहका विद्यार्थीको पढाइ

  • प्रभा अर्याल
  • बिहिबार, फाल्गुन ११ २०७९


काठमाडौँ- नेपालमा विद्यार्थीहरूलाई पढ्नको शैक्षिक सुविधा सम्पन्न विद्यालय भवन बनाउने नाममा बर्सेनि करोडौँ बजेट निकासी हुन्छ तर के यसको सही उपयोग भएको होला त ? अब हामीले यो विषयमा व्यापक बहस र खोजी गर्ने बेला आएको छ । हाम्रो देशको अवस्था यस्तो छ कि जहाँ कक्षा कोठाको अभावमा अहिले पनि विद्यार्थीहरू पढ्नका लागि पालो कुरेर बस्नुपर्ने अवस्था छ । यस्तो अवस्था हो विगत २२ वर्षदेखि सञ्चालनमा रहेको जनकपुरधामको एक विद्यालयको ।

धनुषाको जनकपुरधाम उपमहानगरपालिका–८ दशरथ नगरस्थित राष्ट्रिय प्राविमा कक्षा ५ सम्म पढाइ हुने गरेको छ । पढाई कक्षा ५ सम्म भए पनि पढाउनका लागि कक्षा कोठा भने तीन वटा मात्रै छन् ।

पढाउने बेलामा एउटै कक्षाकोठामा २ वटा कक्षाका विद्यार्थी आलो पालो गरेर पढाउनु पर्दा शैक्षिक गुणस्तर खस्किरहेको छ भने विद्यालयको यस्तो दयनीय अवस्थाले गर्दा विद्यार्थीहरूको सङ्ख्या पनि बर्सेनि घट्ने क्रममा छ ।

विद्यार्थीहरूलाई पढाउनका लागि कक्षाकोठाको अभाव त छँदै छ, त्यसमा पनि त्यहाँ भएकै संरचनाको पनि सही र यथोचित व्यवस्थापन हुन सकेको छैन । यसो हेर्दा यो विद्यालय यस्तो लाग्छ कि कुनै भत्किएको घरको भग्नावशेष जस्तै ।

के यो साँच्चै विद्यालय नै हो त भनेर ठम्याउन पनि विद्यालय भित्र छिर्ने मूल गेटको पर्खालको भित्तामा लेखिएको विद्यालयको नाम नै हेर्नू पर्ने हुन्छ । जनकपुर उपमहानगरपालिकाको सँगै रहेको यो विद्यालय हेर्दा यस्तो लाग्छ यसले उपमहानगर पालिकालाई गिज्याइरहेको छ । शैक्षिक क्षेत्र सुधारका जतिसुकै गुणस्तरीय कार्यक्रम ल्याए पनि यहाँको विद्यालयलाई त्यस्ता कार्यक्रम न त कुनै प्रभाव पारेको छ न त कुनै सुधार । अझ दुखको कुरा के हो भने उपमहानगरपालिका भित्रै भएको विद्यालयको हालत यस्तो छ भने नगर र गाउँपालिकामा झन् के होला रु

यो विद्यालय सञ्चालन भएको २२ वर्ष पुगिसकेको छ । वि. सं २०५७ सालमा स्थापना वि.सं २०६६ देखि सरकारी मान्यता पाएर भएर पठनपाठन सुरु भएको यो विद्यालयको अवस्था त यस्तो छ भने हामीले सजिलै अन्दाज गर्न सक्छौ अरू विद्यालयको अवस्था कस्तो छ भनेर ।

दुई दशक भन्दा लामो समय देखि बाँच या मरको अवस्थामा अहिलेसम्म सञ्चालनमै रहे पनि यो विद्यालयले भौतिक पूर्वाधार व्यवस्थापनमा बेवास्ता गरेकै कारणले विद्यार्थी नै जोगाउन समेत मुस्किल परेको छ ।

विद्यालयको भौतिक सुधार हुन नसक्दा अहिले अभिभावकहरूले विकल्प खोज्न थालेको बताउँछिन् विज्ञान विषयकी शिक्षिका सुनिताकुमारी चौधरी । कक्षा कोठा अभाव, सडकसँगै जोडिएर पनि विद्यालयमा वरिपरि पर्खाल नहुँदा असुरक्षा, अत्यधिक फोहर मैला जस्ता विभिन्न कारणले अहिले विद्यार्थी पाउन मुस्किल भएको उनले बताइन् ।

त्यस्तै विद्यालयकी अर्की शिक्षिका पिंकी कुमारी गुनासो यस्तो छ, “उपमहानगरपालिकाको मुख्य बजार क्षेत्रमै भएर पनि भौतिक संरचनाको अभावले विद्यार्थीलगायत शिक्षक, शिक्षिकालाई पठनपाठन गर्न निकै कठिनाइ भइरहेको छ । “एउटा कक्षाको विद्यार्थीलाई पढाउँदा अर्कोले त्यही कोठामा बस्नुपर्छ, त्यो समय अर्को साथीले पढाउने कुरा पनि भएन”, यस्तो समस्या वर्षौँदेखि छ, विद्यार्थी र हामी पनि निराश छौँ, समयको बर्बादी र गुणस्तरीय सिकाइमा समस्या भइरहेको छ ।”

विगत लामो समय देखि यसै विद्यालयमा अध्यापन गराउँदै आएका विद्यालयका प्रधानाध्यापक विन्देश्वर दासको पनि गुनासो अरू शिक्षकहरू जस्तै छ, दास भन्छन् “एउटै कक्षामा फरक फरक दुई कक्षाका विद्यार्थी राखेर पढाउन थालिएको वर्षौँ भइसक्यो, के गर्नु बाध्यता यस्तै छ”, दास भन्छन् “विद्यालयको आम्दानी छैन, अरूलाई भवन बनाएर सहयोग गरिदिन भनेको वर्षौँ भइसक्यो तर कसैले सुनेनन्, अब त थाकी सकेँ ”

कुनै समयमा यो विद्यालयमा एउटै कक्षामा दुई सयसम्म विद्यार्थी हुने गर्थे तर अहिले छ वटा कक्षामा भर्ना हुने विद्यार्थीको जम्मै सङ्ख्या जोड्दा पनि करिब एक सय मात्रै रहेको छ। त्यही भएका सबै विद्यार्थी पनि विद्यालयमा नियमित आउँदैनन् । तथ्याङ्कअनुसार विद्यालयमा कक्षा १ मा १७, कक्षा २ मा १६, कक्षा ३ मा १२, कक्षा ४ मा ६ र कक्षा ५ मा नौ जना विद्यार्थी भर्ना छन् । शिशु कक्षामा भने ४० विद्यार्थी रहेको विद्यालयको अभिलेखमा उल्लेख छ । यहाँ दुई स्थायी, दुई राहत र तीन बाल विकासलाई पढाउने जनशक्ति तथा दुई सहयोगी गरी आठ जना कर्मचारी छन् । विद्यालय नजिकै मुस्लिम धर्मावलम्बीको बसोबास रहेकाले यस विद्यालयमा भर्ना हुने कूल विद्यार्थी मध्ये पाँच सात जनाबाहेक सबै सोही समुदायका बालबालिका रहेका छन् ।

यसै विद्यालयमा कक्षा ५ मा अध्ययनरत छात्र अरमान अन्सारीले अर्को कक्षासँग बसेर पढ्नुपर्दा सबैभन्दा दुःख लाग्ने गरेको बताए । उनले एउटा सरले पढाएको बेला अर्को कक्षाको विद्यार्थी पर्खेर बस्नुपर्ने वा समय बिताउन कक्षा छोडेर अन्तै जानुपर्ने कारण आफूहरूलाई स्कुल आउन मन नै नलाग्ने गरेको गुनासो गरे । त्यस्तै कक्षा ४ मा अध्ययनरत सृष्टिकुमारी चौधरीले गरिबीका कारण आफू राष्ट्रिय प्राविमा पढ्न बाध्य भएको जनाइन् । “हुनेखाने साथीहरू विद्यालय छोडेर अन्तै पढ्न गइसके तर हामी चाहिँ गरिबीको कारणले यही पढिरहेका छौँ”, सृष्टिले मलिन मुद्रामा भनिन्, “हाम्रा लागि त कोही पनि रहेन छ, विद्यालय राम्रो भए त राम्ररी पढ्न पाइन्थ्यो, भविष्य पनि राम्रो बन्थ्यो होला तर अहिले त विकल्प नभएर यहाँ आउनुपरेको छ ।”

विसं २०६६ मा विद्यालयले सरकारी स्वीकृति पाएसँगै जिम्मेवारी सुरु गरेका प्रधानाध्यापक यादवले विद्यालयको यही दुरावस्थाका कारण प्रतिवर्ष विद्यार्थीको सङ्ख्या घट्दै गएको बताए । उनले भने “गरिब पढ्ने स्कुल भनेर पो हो कि, कसैले यहाँको अवस्था सुधार्न सहयोग गर्दैनन्, यसले विद्यार्थी त घटिरहेकै छन्, सँगसँगै उपमहानगरमै यस्तो अवस्थाको विद्यालय भन्ने गरिन्छ”, ।

यो विद्यालयको अवस्थाका बारेमा वडा र उपमहानगरपालिकाको नेतृत्वलाई थाहा नभएको पनि हैन तर जुन जोगी आए पनि कानै चिरेको भन्ने उखान झैँ जुन व्यक्ती र व्यवस्था आए नि यो विद्यालयको सुधारका लागि न त कुनै पहल भएको छ न कुनै सहयोग ।

उपमहानगर प्रमुख मनोजकुमार साहले भने आफ्नो कार्यकाल सुरु भएको छोटो समयमै आफूले विद्यालयको अवस्था सुधारका लागि पहल सुरु गरिसकेको बताएका छन् । सुरुमा पाँच लाख दिने कुरा भएको र आफ्नो कार्यकालमा विद्यालयको मुहार फेर्ने गरी काम हुने उनले प्रतिबद्धता जनाएका छन् ।

त्यसैगरी वडा नं ८ का अध्यक्ष दिनेशकुमार सिंहले पनि विद्यालयको भौतिक संरचना सुधारका साथै त्यहाँ वरपरको वातावरण पनि विद्यालयमैत्री बनाउन जरुरी रहेकाले सोहीअनुसार सुधारका विषयमा छलफल भइरहेको बताए । उनले विद्यालयलाई विद्यालयजस्तै बनाउने गरी काम हुने धारणा राखेका छन् ।

विसं २०६७ सम्म कक्षा १ को पढाइ हुने यस विद्यालयमा शैक्षिक सत्र २०६७ मा कक्षा २, विसं २०७२ मा कक्षा ३ र २०७३ मा कक्षा ४ र चालु शैक्षिक सत्रदेखि कक्षा पाँचसम्मको पढाइ हुन्छ । प्रधानाध्यापक यादवले आफूले स्थानीय, प्रदेश र केन्द्र सरकारले विद्यालयको अवस्था सुधारमा सहयोग गरे उर्दु शिक्षक र अङ्ग्रेजी माध्यममा पढाइ सुरु गरी विद्यार्थीको आकर्षण बढाउने योजना रहेको बताएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड