काठमाडौँ- स्वतन्त्र शैक्षिक परामर्श सघं नेपाल (फेकन) ले गत माघ १ गतेका दिन विमान दुर्घटनामा परि ज्यान गुमाएकाहरूका नाममा दीप प्रज्वलन गरी श्रद्धाञ्जली अर्पण गरेको छ । मंगलबार पुतलीसडक स्थित स्टार मल अगाडी एक श्रद्धाञ्जली सभा आयोजना गर्दै फेकनले पोखरामा ज्यान गुमाएका सम्पूर्ण स्वदेशी तथा विदेशी नागरिक यात्रुहरूको आत्माको चिर शान्तिको कामना सहित शोकसन्तप्त परिवारजन प्रति समवेदना अर्पण गरेको हो ।
श्रद्धाञ्जली अर्पण पश्चात् मात्र एजुकेसन सँग कुरा गर्दै फेकनका कोषाध्यक्ष अनिल शर्मा पौडेलले दुर्घटना बाट सिङ्गो देशनै शोकाकुल रहेको उल्लेख गरे । `यस कठिन घडीमा संस्थाका तर्फबाट दीप प्रज्वलन गरी मृत आत्माको शान्तिको कामना मात्रै हामीले गरेका छैनौँ, शोकाकुल परिवारलाई धैर्य धारण गर्ने शक्ति प्राप्त होस् भनेर प्रार्थना पनि गरेका छौँ’ उनले भने। यस्ता दुर्घटनाहरू फेरि दोहोरिन नदिनका लागि आगामी दिनमा सचेत रहन पनि फेकनले सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ ।
माघ १ गते बिहान १०ः३२ बजे काठमाडौँबाट पोखराका लागि उडेको यती एयरलाइन्सको विमान १०ः५० बजे दुर्घटना भएको थियो। विमानमा चार जना चालक दलका सदस्य र ६८ जना यात्रु सवार थिए।
