Matra Education आइतबार, साउन १० २०८३

शिक्षामन्त्री बन्दैछन् शिशिर खनाल, यस्तो छ उनको शैक्षिक सुधारको अभियान देखि शिक्षा मन्त्रालय सम्मको यात्रा

शिक्षामन्त्री बन्दैछन् शिशिर खनाल, यस्तो छ उनको शैक्षिक सुधारको अभियान देखि शिक्षा मन्त्रालय सम्मको यात्रा

  • रमेश लामिछाने
  • मंगलबार, माघ ३ २०७९


काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसद्मा विश्वासको मत लिइसकेपछि अब मन्त्रीपरिषद् विस्तार गर्ने तयारीमा सत्तारुढ दलहरू रहेका छन् । पटक पटक यी दलहरू बिच भएको छलफलपछि राष्ट्रपति, उपराष्ट्रपति, सभामुख र उपसभामुख सहित मन्त्रालय भागबन्डा लगभग टुंगो लागेको छ । प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच निरन्तर भेटवार्तापछि सोमबार साँझ बसेको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा भागबन्डा टुंगो लागेको हो ।

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेका अनुसार आजै १ बजे मन्त्रीहरूको शपथ कार्यक्रम तय भइसकेको छ । संयन्त्रको बैठकले टुंगो लगाएको मन्त्रालयहरूको भागबन्डा अनुसार एमालेले ८, माओवादीले ४, रास्वपा र राप्रपाले ३/३ र जनमत पार्टीले एक मन्त्रालय पाउनेछ । जसपालाई २ मन्त्रालय छुट्टाइएको छ ।

हामीले यहाँ चर्चा गर्न खोजेको शिक्षा मन्त्रालय रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले पाउने भएको छ । स्रोतको दाबी अनुसार उक्त पार्टीको भागमा गृह, शिक्षा र श्रम मन्त्रालय परेको छ। पार्टी सभापति रवि लामिछाने उपप्रधान सहित गृहमन्त्री बनेर सरकारमा गइसकेका छन् भने अब शिक्षा र श्रम मन्त्री तोक्न बाकी छ ।

देशको कुल बजेटको ठुलो हिस्सा ओगट्ने क्षेत्र भए पनि सुधार हुन नसकेको क्षेत्रका रूपमा शिक्षा क्षेत्रलाई लिने गरिन्छ । त्यसमाथि शिक्षा क्षेत्रको विकास बिना समग्र देशको विकास सम्भव नहुने भएका कारण पनि यो मन्त्रालयमा को आउँछ भन्ने कुरालाई चासोका साथ हेरिने गरेको छ । संविधान निर्माण पछि पटक पटक शिक्षामन्त्री र सरकार परिवर्तन भए पनि संघीय शिक्षा ऐन बन्न सकेको छैन । शैक्षिक बेरोजगारको सङ्ख्या उतिकै बढ्दो छ भने अन्य थुप्रै समस्याहरू समाधान गर्नुपर्ने छन् । यस्तोमा शिक्षा क्षेत्र बुझेको व्यक्तिले मन्त्रालयको जिम्मेवारी पाओस् भन्ने आवाज उठ्ने गरेको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीले शिक्षा मन्त्री पाएको खण्डमा उसले काठमाडौँ-६ बाट निर्वाचित सांसद शिशिर खनाललाई मन्त्रालयको जिम्मेवारी दिने लगभग निश्चित छ। पटकपटक पार्टीले विज्ञताको आधारमा मन्त्री बनाउने भनेको छ भने खनाल शिक्षा क्षेत्र बुझेका नेताका रूपमा चिनिन्छन् । सार्वजनिक शिक्षा देशको मेरुदण्ड हो र यो सुधार नभएसम्म देशको शिक्षा क्षेत्रको सुधार हुन सक्दैन भन्ने मान्यता राख्ने खनालले लामो समय `टिच फर नेपाल´ मार्फत देशका ग्रामीण भेगहरूमा तालिमप्राप्त र दक्ष स्वयंसेवी शिक्षकहरू पठाएर योगदान गरेका छन् । त्यतीमात्र होइन उनले सार्वजनिक शिक्षा सुधारका लागि विभिन्न अध्ययनहरू गर्ने, पुस्तकालय निर्माण गर्ने, विद्यालयको भवन निर्माणमा श्रमदान गर्ने लगायत थुप्रै कामहरू गरेका छन् । शिक्षा सम्बन्धी सार्वजनिक कार्यक्रमहरूमा शिक्षा क्षेत्र सुधार गर्ने भिजन र योजना सहित प्रस्तुत हुने गरेका खनालबाट आफूहरूले ठुलो अपेक्षा राखेको शिक्षाकर्मीहरू बताउँछन् ।

खनाललाई यसरी चिन्नुहोस्:
काठमाडौँको गोङ्गबु निवासी खनाल शैक्षिक अभियन्ता, उद्यमी र सार्वजनिक नीतिको विशेषज्ञ हुन् ।विभिन्न देशहरूमा काम गरेर सामुदायिक विकासका क्षेत्रमा लामो अनुभव हासिल गरेका उनले सिद्धार्थ वनस्थली बाट एसएलसी र त्रिचन्द्र कलेज बाट आइएससि अध्ययन गरेका थिए । त्यसपछि अमेरिकाको बृजफोर्ड युनिभर्सिटीबाट राजनीतिक अर्थशास्त्रमा स्नातक र युनिभर्सिटी अफ विस्कन्सिनमा सार्वजनिक नीतिशास्त्रमा स्नातकोत्तर गरेका थिए।

स्नातकोत्तर सक्ने बित्तिकै उनी ‘सर्वोदय अभियान’मा जोडिए। यो २०६१ सालतिरको कुरा थियो। महात्मा गान्धीको विचारधाराबाट प्रभावित भएर सुरु गरिएको यो अभियानको उद्देश्य थियो समस्याग्रस्त गाउँमा गएर सामाजिक रूपान्तरणका लागि श्रमदान गर्नु। त्यसैले नेपाल फर्किँदै गर्दा शिशिरले आफ्नो सुनौलो भविष्यको सपना मात्रै बोकेर ल्याएका थिएनन्। यही अभियानसँग जोडिएर शिशिरको टिमले देशका विभिन्न क्षेत्रका विद्यालयमा रङ लगायो, पुस्तकालय स्थापना गर्‍यो, कतै स्कुल निर्माणमा श्रमदान गर्‍यो। श्रमदानका लागि फिल्डमा निस्किएको शिशिरको टिमलाई त्यतिबेला कच्चा पदार्थ किन्न पैसा हुँदैनथ्यो। शिशिरको टिमले भाटभटेनीमा ‘कार वास सेन्टर’ चलायो। उनीहरूले पानी पुरी बेचेर पनि आर्थिक उपार्जन गरे। अनेक चुनौती सँग जुध्दै उनीहरू विभिन्न अभियान लिएर गाउँ गाउँ पुग्थे।

यसरी गाउँ गाउँ पुग्दा शिशिरले सामुदायिक विद्यालयको शैक्षिक स्थिति निकै दयनीय देखे। सामुदायिक विद्यालयमा आफ्ना छोराछोरी पढाउने अधिकांश अभिभावकको एउटै चाहना हुन्थ्यो, ‘हामीले त पढ्न पाएनौँ, छोराछोरीले पढ्न पाउन्।’ त्यसपछि ‘टिच फर नेपाल’ स्थापना भयो। जसका संस्थापक हुन् शिशिर। यो संस्थाले दुर्गमका सामुदायिक विद्यालयको शैक्षिक स्तर सुधारका लागि स्वयंसेवी शिक्षक उपलब्ध गराउने अभियान थाल्यो। थुप्रै शिक्षकले साथ दिएका कारण यो अभियान लोकप्रिय बन्न पुग्यो।

२०७० सालमा ‘टिच फर नेपाल’ मार्फत ललितपुरको दक्षिणी भेगका १५ वटा विद्यालयमा स्वयंसेवी शिक्षक (फेलो) पठाएर सामुदायिक विद्यालयको स्तर सुधार्ने अभियान थालेका शिशिरको यो अभियान सिन्धुपाल्चोक, धनुषा, दाङ, लमजुङ र पर्सा लगायतका जिल्लामा बिस्तार भयो। शिक्षाको नीतिगत विषयमा सुधारका लागि उनले गिरिराजमणि पोखरेल शिक्षामन्त्री भएका बेला मन्त्रालयसँग जोडिएर काम गरे। यही क्रममा उनले देशको अवस्था बुझ्ने मौका पाए। मन्त्रालयको काम गर्ने शैली, मन्त्रालयमा काम गर्ने मानिस र काम गराउन जाने जनता सबैको अवस्था नियाले। शिशिरलाई लाग्यो, ‘यहाँ हरेक क्षेत्रमा विज्ञको खाँचो छ।’ ३० वर्षदेखि एकैखालका मानिसले सम्हाल्दै आएको राजनीतिमा पुस्तान्तरणको खाँचो देखे। लामो समय व्यवस्था परिवर्तनको आन्दोलनमा होमिएको नेपाली राजनीतिले अब डेलिभरी दिन थाल्नुपर्ने आवश्यकता महसुस गरे। उनलाई लाग्यो, ‘विषयगत विज्ञता भएका व्यक्ति राजनीतिमा आउनु पर्ने आवश्यकता छ। ती विज्ञहरूले राजनीतिमा आउने सही समय यही हो।’

उनले शिक्षा सुधारका सामाजिक संस्था र स्थानीय सरकारमा बसेर काम गर्दा शिक्षाको धरातलका विषयमा सदनमा गएर बोल्ने सपना देखे। यही सपना अनुरूप उनले सुरुमा काठमाडौँ क्षेत्र नम्बर ६ बाट स्वतन्त्र उम्मेदवारी दिने तयारी गरेका थिए। त्यही बेला रवि लामिछानेले नेतृत्व गरेको ‘राष्ट्रिय स्वतन्त्र पार्टी’मा आबद्ध भए र काठमाडौँ ६ बाट उम्मेदवारी दिए।

चुनावमा होमिँदै गर्दा शिक्षा क्षेत्रलाई आफ्नो प्रमुख एजेन्डा बनाएका उनलाई शिक्षा बोकेर चुनाव जितिँदैन, शिक्षाका बारे कम बोल्नु भन्ने सुझाव पनि आएको उनी सम्झिन्छन् । परिवार भित्रै बाट समेत यस्तो सुझाव आए पनि उनले शैक्षिक सुधारलाई नै आफ्नो मुख्य चुनावी एजेन्डा बनाए । सँगै थिए विभिन्न समस्या समाधान गर्ने योजना, उद्यमशील नेपाल बनाउने अठोट र देशका लागि केही गर्ने हुटहुटी । यही कारण त दुई स्थापित पार्टीका चर्चित उम्मेदवारहरूलाई पाखा लगाउँदै काठमाडौँ- ६ का जनताले राजनीतिक पृष्ठभूमि त्यति दरिलो नभएका शिशिरलाई अनुमोदन गर्दै सांसदसम्म पुर्‍याए ।

मन्त्री बनाउने निर्णय गर्ने अधिकार आफ्ना सभापतिलाई दिएको राष्ट्रिय स्वतन्त्र पार्टीले विषय विज्ञलाई मन्त्री बनाउने पार्टीको निर्णय कार्यान्वयन गरेमा अबको केही घण्टामा खनाल शिक्षामन्त्री बन्नेछन् । आजसम्म आफ्नै प्रयासमा शिक्षा क्षेत्रका विविध मुद्दा उठाइरहेका उनले राज्यको तहबाटै शिक्षामा महत्त्वपूर्ण योगदान दिने अवसर पाउनेछन् । प्राप्त जिम्मेवारीलाई कुशलतापूर्वक निभाउँदै आम जनताको अपेक्षा र उनीमाथिको भरोसालाई कायम गर्न ऊनी कति सफल हुनेछन् त्यो भने आगामी समयले बताउला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड