काठमाडौँ- परामर्श व्यवसायीहरूको छाता संगठन स्वतन्त्र शैक्षिक परामर्श संघ नेपाल (फेकन) ले अस्ट्रेलियन भिसा आवेदन सम्बन्धी एक दिने तालिम आयोजना गर्ने भएको छ। भिसा आवेदन प्रक्रियामा पछिल्लो समय देखिएका विभिन्न समस्या तथा चुनौतीहरूको कानुनी समाधान खोज्ने प्रयोजनका लागि तालिम आयोजना गर्न लागिएको संस्थाले जनाएको छ।
शुक्रवार दिउसो १ बजेदेखि राजधानीको हात्तीसारस्थित नेपाल हाउसमा तालिम सुरु हुनेछ। फेकन सदस्य परामर्श व्यवसायीहरूलाई अस्ट्रेलियाको अध्यागमनबारे वकालत गर्दै आएका चर्चित अस्ट्रेलियन अधिवक्ता टोनु घोठानेले अध्यागमन कानुन, भिसाको क्याटेगोरी, अस्ट्रेलियामा पुगिसकेपछि विद्यार्थीमा देखिने समस्या र समाधानको कानुनी उपचारका बारेमा प्रशिक्षण दिनेछन्।
कार्यक्रम बारे जानकारी दिँदै फेकनका सचिव उमेश कुश्वार मात्र एजुकेसन सँग भन्छन्, “सम्भवतः नेपालमै पहिलोपटक आयोजना हुन लागेको यो तालिम धेरै अर्थमा महत्त्वपूर्ण छ। व्यवसायीहरूले अध्यागमन कानुनको बारेमा जानकारी पाउँदा र भिसा क्याटेगोरीको बारेमा विस्तृतमा बुझ्दा विद्यार्थीलाई बुझाउन सजिलो हुन्छ । त्यस्तै पछिल्लो समय परामर्श व्यवसायमा देखिएका विभिन्न समस्याको समाधान पनि कार्यक्रम मार्फत खोज्ने प्रयास हुनेछ। यस अर्थमा व्यवसायी र विद्यार्थी दुवैले यसको लाभ लिन सक्छन्”। उनले सक्रिय सहभागिता जनाउनका लागि मात्र एजुकेसन मार्फत सबै व्यवसायीहरूलाई अनुरोध गरेका छन्।
फेकनले व्यवसायीहरूको क्षमता अभिवृद्धि र हक हितका लागि नियमित यस किसिमका कार्यक्रमहरू आयोजना गर्दै आएको छ।