Matra Education आइतबार, साउन १० २०८३

गैरजिम्मेवार राष्ट्रिय ध्वजावाहक, ‘क्याबिन क्रु’ को विवादले अस्ट्रेलिया हिँडेका विद्यार्थी समस्यामा

गैरजिम्मेवार राष्ट्रिय ध्वजावाहक, ‘क्याबिन क्रु’ को विवादले अस्ट्रेलिया हिँडेका विद्यार्थी समस्यामा

  • रमेश लामिछाने
  • बिहिबार, मंसिर २९ २०७९


काठमाडौँ- राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को गैर जिम्मेवारीका कारण अस्ट्रेलिया उडेका नेपाली विद्यार्थी सहित सयौँ यात्रु समस्यामा परेका छन्। बुधबार राति ९:५० बजेको उडान मार्फत मलेसिया हुँदै अस्ट्रेलियाको यात्रा तय गरेका उनीहरू विमानका ‘क्याबिन क्रु’ को विवादले उडानमा ५ घण्टा ढिलाइ भई मलेसियाको विमान छुटेपछि अलपत्र परेका हुन्।

मात्र एजुकेसनलाई सम्पर्क गरेर एक विद्यार्थीले आफूहरूले पाएको दुखलाई वर्णन गरेका छन्। उनकै शब्दमा खास भएको यस्तो थियो :

“मैँले अस्ट्रेलिया जानका लागि राष्ट्रिय ध्वजावाहक नै छान्नुपर्छ भनेर नेपाल एयरलाइन्सको टिकट काटेको हुँ। नेपाल एयरलाइन्स भन्दा गर्वको महसुस हुनुपर्छ र हामीले आफ्नोलाई प्राथमिकता दिनुपर्छ भन्ने मेरो सोच भने हिजो बाट अन्त्य भएको छ। मलाई हिजो विमानस्थलमा पाएको सास्ती र दुख सम्झँदा नेपाल एयरलाइन्स छानेकोमा पछुतो पनि छ। अध्ययनका लागि अस्ट्रेलिया हिँडेको म खादा माला लगाएर परिवार र आफन्त सँग बिदा भएँ। ७ बजे विमानस्थल छिरेको हामीलाई ११ बजेसम्म यत्तिकै झुलाइयो। १०/ १५ मिनेट भन्दै पटक पटक समय थपियो। बेला बेला ‘क्रु मेम्बर’ आएपनि उनीहरूको व्यवहार यति रुखो थियो कुरा नगरौँ। त्यहाँ उनीहरू र हामी यात्रुहरूबिच विवाद पनि भयो। त्यो व्यवहार असह्य भएर मैँले मोबाइल निकालेर भिडियो पनि खिचेको थिएँ। पछि मलाई प्रहरी लगाएर जबरजस्ती त्यो भिडियो डिलिट गर्न लगाइयो। करिब ११: ३० बजेतिर आज उड्न सकिँदैन हामी होटलमा लगेर राख्छौँ भनियो। हामी यात्रुहरूले मानेनौँ। निकै विवादपछि अन्तिममा कुनै विकल्प नभएको देखेपछि हामी होटल जान तयार भयौँ। तर गाडी चड्ने ठाउँ पुग्न लागेपछि फेरी १ बजेको फ्लाइटमा पठाउने भनेर भित्र बोलायो। भित्र लगेपछि पनि आदिलाई बोर्डिङ पास दिएर फेरी निर्णय नभएको भन्दै रोकिदियो। केही समय पछि फेरी हतार हतारमा माथि पठाइयो। १ बजे भनेको फ्लाइट २ बजे बल्ल हिँड्यो। हामी मलेसिया पुग्दा त्यहाँको ८:५० भइसकेको थियो। ९ बजेर १० मिनेटको फ्लाइट थियो मलेसियन एयरलाइन्सको त्यहाँबाट। तर बोर्डिङ बन्द भइसकेको भन्दै जान दिएन। अब १४ घण्टा कुर्नुपर्ने बाध्यतामा हामी परेका छौँ। यहाँ बस्ने ठाउँको पनि राम्रो व्यवस्था छैन। यो सबै समस्या नेपाल एयरलाइन्सका कारण भएको हो। पटक पटक आन्तरिक समस्या भने पनि के समस्या थियो बुझ्न सकिएन।”

विमान भित्रका यात्रुलाई कहिले जाने, कहिले नजाने भन्दै करिब ५ घण्टा रोकेर उडेको विमानमा खास समस्या के थियो भन्ने यात्रुहरूले पत्तो पाउन सकेनन्। तर हामीले त्यसको खास कारण पत्ता लगाएका छौँ। विमानस्थल निकट विशेष स्रोतले दिएको जानकारी अनुसार ‘क्याबिन क्रु’ को विवादले यो उडान प्रभावित हुन पुगेको थियो। नियमानुसार करार नवीकरण नगरेको भन्दै क्रु भित्रका सदस्यहरूले उडानमा समावेश हुन नमानेपछि समस्या उत्पन्न भएको हो।

यस विषयमा प्रतिक्रिया लिनका लागि नेपाल वायुसेवा निगमका अध्यक्ष युवराज अधिकारीसँग पटक पटक सम्पर्क गर्दा उनले फोन उठाएनन्। त्यसपछि हामीले यही प्रश्न निगमकी प्रवक्ता अर्चना खडकालाई राखेका थियौँ। उनले त्रुटि भएको स्वीकार गर्दै यात्रुलाई परेको असर प्रति निगम क्षमाप्रार्थी रहेको प्रतिक्रिया दिइन्। दुई जनाको करार नवीकरण नभएका कारण समस्या उत्पन्न भएको र पछि व्यवस्थापन सँगको छलफल पछि उडान भएको उनले बताइन्। एयरलाइन्स प्रशासनले आफ्नो कर्मचारी व्यवस्थापन नगर्ने अनि यात्रुलाई सास्ती दिन मिल्छ ? भन्ने हाम्रो प्रश्नमा उनले आफूहरू त्यसप्रति सचेत रहेको र आगामी दिनमा नहोस् भन्नका लागि सजग रहेको उल्लेख गरिन्। उनले समस्या परेका यात्रुहरू अझै समस्यामा भए नेपाल एयरलाइन्सले समन्वय गरेर समाधान गर्ने बताइन्।

आज आयो उडाउँदैनौ भन्ने विज्ञप्ति
यो समस्या भएको भोलिपल्टै (आज) क्याबिन क्रु संघले नवीकरण नगरेसम्म जहाज नउडाउने भन्दै विज्ञप्ति निकालेको छ। संघले व्यवस्थापनले निकटका व्यक्तिहरूको मात्र करार सेवा नवीकरण गरेको तर बाँकीको नगरी काममा लगाएको भन्दै नवीकरण नगर्ने तर तोकिएको भन्दा बढी काम लगाउने गरेकाले सम्पूर्ण क्याबिन क्रु थकान भई बिरामी पर्न गएकाले उडान गर्न असमर्थ रहेको उल्लेख गरेको छ।

आफ्ना समस्याहरू देखाउँदै सयौँ यात्रुलाई अलपत्र पार्ने निगमको क्याबिन क्रु र व्यवस्थापनले यस्ता गतिविधि गरे बापत उचित सजाय भोग्नुपर्दैन ?

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड