काठमाडौँ- स्वतन्त्र शैक्षिक परामर्श संघ नेपाल (फेकन) ले चाडपर्वहरूको अवसरमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। शुक्रबार राजधानीको हार्दिक होटलमा आयोजित एक औपचारिक कार्यक्रम मार्फत संस्थाले आफ्ना सदस्यहरू, शुभचिन्तकहरू सहित सम्पूर्ण नेपालीहरूलाई शुभकामना दिएको हो।
फेकनले भर्खरै सकिएको दसैँ, आउँदै गरेको तिहार, छठ, नेपाल संवत् लगायतका पर्वहरूको अवसरमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम आयोजना गरेको थियो। कार्यक्रममा परामर्श व्यवसायीका विभिन्न छाता संगठनका प्रमुख तथा प्रतिनिधिहरू, फेकनका सदस्यहरू र शुभचिन्तकहरूको उपस्थिति रहेको थियो।
चाडपर्वहरूको अवसरमा आयोजित कार्यक्रम भएकाले कम औपचारिक गर्ने प्रयास फेकनले गरेको थियो। कार्यक्रमको सुरुवातमा संस्थाका प्रथम उपाध्यक्ष तथा कार्यक्रम संयोजक प्रज्वल बस्नेतले उपस्थित सबैलाई कार्यक्रममा स्वागत गर्दै उपस्थितिका लागि धन्यवाद दिए। त्यस्तै उनले यी चाडपर्वहरूले सबै परामर्श व्यवसायीको मुहारमा खुसीको बहार ल्याउने विश्वास व्यक्त गरे।
आफ्नो शुभकामना सन्देश पश्चात् बस्नेतले फेकन अध्यक्ष वासुदेव नेपाललाई शुभकामनाका लागि अनुरोध गरे। शुभकामना मन्तव्य राख्दै अध्यक्ष तथा कार्यक्रमका सभापति नेपालले यस किसिमका कार्यक्रमले फेकन सदस्य तथा परामर्श व्यवसायीहरू बिचको एकता अझै मजबुत हुने धारणा राखे। व्यवसायको क्षेत्रमा दैनिक जसो नयाँ नयाँ चुनौतीहरू थपिँदै गएको भन्दै उनले सामूहिक रूपमा तिनीहरूलाई समाधान गर्न आफूहरू सफल हुने विश्वास व्यक्त गरे। आसन्न चाडपर्वहरू सबै परामर्श व्यवसायी तथा नेपालीहरूको लागि सुखद रहोस् भन्ने कामना सहित उनले औपचारिक कार्यक्रम अन्त्य गरे।
त्यसपछि उपस्थित सबै अतिथि तथा सहभागीहरू चियापानमा सहभागी भएका थिए भने अनौपचारिक रूपमा शुभकामना आदानप्रदान भएको थियो।