काठमाडौँ- दुबईको सि.एस.इ.आई एकेडेमीले काठमाडौँमा एजेन्ट मिट कार्यक्रम सम्पन्न गरेको छ। बिहीबार राजधानीको अर्याल होटेलमा आयोजित एक औपचारिक कार्यक्रमका बिच एकेडेमीले शैक्षिक परामर्श प्रदान गर्दै आएका व्यवसायीहरू सँग जानकारीमूलक सेसन सँगै अन्तरक्रिया गरेको हो। उक्त अवसरमा एकेडेमी र स्वतन्त्र शैक्षिक परामर्श संघ नेपाल (फेकन) बिच सहकार्यको सम्झौता समेत भएको थियो।

फेकनका अध्यक्ष बासु नेपालको अध्यक्षता तथा सि.एस.इ.आई एकेडेमीका सिइओ रोशन गौतमको विशेष आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा फेकनमा आबद्ध परामर्श व्यवसायीहरूको उपस्थिति रहेको थियो। कार्यक्रमको संयोजन फेकनका दुबई विभाग प्रमुख संजित कनौजियाले गरेका थिए भने फेकनका महासचिव राजु निरौलाले सञ्चालन गरेका थिए।

कार्यक्रममा सि.एस.इ.आई एकेडेमीका प्रतिनिधिले कलेजको बारेमा विशेष प्रस्तुति दिएका थिए भने प्रश्नोत्तर सेसन सञ्चालन गर्दै दुबईमा नेपाली विद्यार्थीका अवसर र चुनौती बारे छलफल भएको थियो। उपयुक्त लोकेसन, प्रयोगात्मक सिकाई, सुलभ शुल्कमा गुणस्तरीय शिक्षा, दुबई सरकारको मान्यता प्राप्त संस्था आदि भएका कारण सि.एस.इ.आई एकेडेमी नेपाली विद्यार्थीका लागि रोजाइको गन्तव्य बन्न सक्ने धारणा कलेज प्रतिनिधिहरूले राखेका थिए। नेपाली सञ्चालकहरूकै व्यवस्थापनमा सञ्चालित शैक्षिक संस्था भएका कारण विद्यार्थीका समस्या सम्बोधन सहज रूपमा हुन सक्ने र उनीहरूले अझै बढी सुविधा पाउन सक्ने पनि कार्यक्रममा जानकारी गराइएको थियो।

मात्र एजुकेसन सँग कुरा गर्दै एकेडेमीका सिइओ गौतमले फेकन सँगको सम्झौताले दुवै संस्थाको हित गर्नेमा आफू विश्वस्त रहेको बताए। व्यवसाय प्रवर्द्धनका लागि मात्रै भन्दा पनि नेपाली विद्यार्थीले अन्तर्राष्ट्रिय स्तरमा मान्यता प्राप्त हुने डिग्री लिन सकुन् र त्यसले उनीहरूको भविष्य निर्माण हुन सकोस् भन्ने उद्देश्यले आफू नेपाल आएको उनको भनाइ थियो। दुबईमा शिक्षाको राम्रो अवसर रहेको भए पनि नेपाली विद्यार्थी अस्पष्ट परामर्शका कारण समस्यामा पर्ने गरेको भन्दै त्यसलाई कम गर्न कार्यक्रम फलदायी हुने उनको विश्वास थियो। दुबईमा समस्यामा परेका नेपाली विद्यार्थीलाई सहयोग समेत गर्दै आएका उनी सबै जानकारी लिएर मात्रै वैदेशिक अध्ययनको प्रक्रिया चाल्न सुझाव दिन्छन् ।

कार्यक्रम समापन गर्दै फेकनका अध्यक्ष बासु नेपालले एउटा नेपालीले खोलेको शैक्षिक संस्था सँग सहकार्य गर्न पाउँदा संस्था खुसी भएको बताए। सम्झौता पश्चात् कलेजको व्यवसाय वृद्धिका लागि सहयोग गर्ने भए पनि विद्यार्थी समस्यामा पर्ने, भनेका सुविधाहरू नपाउने आदि भएमा सम्झौता छ भनेर फेकन चुप नबस्ने भन्दै उनले कलेजलाई सचेत पनि गराए। ।
कलेजले प्रतिबद्धता अनुसारकै काम गरे मात्रै यो सहकार्य फलदायी हुने उनले उल्लेख गरे। परामर्श व्यवसायमा पछिल्लो समय विभिन्न समस्याहरू देखिएको र त्यसलाई समाधान गर्न आफूहरू निरन्तर लागेको भन्दै उनले कार्यक्रम अन्त्य गरे।

