Matra Education आइतबार, साउन १० २०८३

प्रिय शिक्षक साथीहरू, विद्यार्थीको नङ र कपालको अझै कति चिन्ता लिने ?

प्रिय शिक्षक साथीहरू, विद्यार्थीको नङ र कपालको अझै कति चिन्ता लिने ?

  • मात्र एजुकेशन
  • आइतबार, साउन १ २०७९


वि. सं. २०६९ सालदेखि गाउँकै एउटा निजी विद्यालयबाट शुरु भएको मेरो शिक्षण यात्रा हालसम्म पाँच वटा निजी र तीन वटा सरकारी विद्यालय गरी अहिले आठौँ विद्यालयमा निरन्तर चलिरहेको छ । यो एक दशक लामो अध्यापनका क्रममा थुप्रै तिता मिठा अनुभवहरु र उतारचढावहरु पनि सँगालियो । सुरुसुरुमा धेरै विद्यार्थीहरुलाई गृहकार्य नगरेको निहुँमा, नङ्, कपाल नकाटेको र रङ्ग्याएको निहुँमा, ड्रेस नलगाई अनि फोहोरी भएर आएको निहुँमा, आफूलाई चाहिने शैक्षणिक सामाग्री नलिई आएको निहुँमा र अन्य थुप्रै अनुशासनका पाठहरु सिकाउने नाममा शारिरीक र मानसिक रुपमा सजाय गर्नुप¥यो । आफूले विद्यालयमा पढ्दा र केही निजी विद्यालयहरुमा शिक्षण गर्दा पनि विद्यार्थीले कुनै गल्ती गर्नासाथ समस्या समाधानका लागि शारिरीक रुपमा सजायकै व्यवस्था भएकोले त्यसकै अनुशरण गर्नु कुनै अनौठो अभ्यास पनि थिएन ।

काठमाडौँका केही निजी विद्यालयहरुले थोरै तलबमा पढाउन लगाएर तलब पनि समयमा नदिने भएकाले जुन विद्यालयले अलि बढी तलब दिन्छ त्यसैमा शिक्षण गर्न जानुपर्ने वाध्यता थियो र विद्यालयहरु शैक्षिक सत्र नसकिए पनि छोड्ने गरिन्थ्यो । सोही क्रममा एउटा निजी विद्यालयमा विद्यार्थीलाई हातले छुन समेत नमिल्ने नियम बनाइएको रहेछ । सि. सि. क्यामेरा हुन्थ्यो र विद्यार्थीलाई हात लगाएर सामान्य कुटपिट गरेमा तुरुन्तै स्पष्टिकरण दिनुपथ्र्यो । ठीकै पनि हो, अर्काको शरिरमा हात वा लठ्ठी किन लगाउनु ? अहिले विद्यालयको नाम लिँदा विज्ञापन गरेजस्तो हुन्छ भने अर्को कुरा उक्त विद्यालयले कम्तिमा एक शैक्षिक सत्रसम्म अनिवार्य अध्यापन गर्ने सर्तमा मेरा शैक्षिक कागजातहरु राखेर एउटा अन्तर्वाता दिन समेत वञ्चित गरेकोले नाम उल्लेख गरिरहन उचित ठानिँन । त्यस विद्यालयमा विद्यार्थीहरु प्रत्यक्ष रुपमा सहभागी भएर वा गरेर सिक्ने कुरामा जोड दिइन्थ्यो । किताबमा दिइएका पाठहरु भन्दा पाठ्यक्रमलाई आधार मानेर खोज अनुसन्धानमूलक सिकाइलाई जोड दिइन्थ्यो । ती विद्यार्थीहरु आज विभिन्न क्षेत्रमा अब्बल देख्छु । फेरि केही विद्यालयहरुमा आफैँले यो नपढी वा नलेखी हुँदै हुँदैन, यस्तो हुनैपर्छ अनि यस्तो हुनै हुँदैन भनेर सजाय गर्दै सिकाएको सिकाइको सकरात्मक प्रतिफल त टाढाको कुरा ती विद्यार्थीहरुको जीवनमा खासै सकरात्मक परिवर्तन तथा उन्नति भएको देख्दिन ।

आज शिक्षकले कुटेर विद्यार्थी अङ्गभङ्ग भयो, विद्यालयमा शारिरीक र मानसिक यातना दिइयो अनि विद्यार्थीले आत्महत्या ग¥यो, विद्यार्थीको नङ, कपाल विद्यालयमै काटियो भन्ने समाचार आइरहँदा केही कुरा लेख्न मन लाग्यो । सजाय गर्न सिपालु शिक्षकहरुलाई यो कुरा नपच्न पनि सक्ला । शिक्षकले कपाल किन नकाटेको ? दाह्री किन नकाटेको ? लुगा किन यस्तो लगाएको ? भन्दै दण्ड सजाय गर्नु ठीक होइन रहेछ । के अरुका लागि बाँचिदिनुपर्ने, सिकीदिनुपर्ने हो र ? अरुको स्वतन्त्रता माथि चियोचर्चो किन गर्नु ? सम्मानपूर्वक बाँच्न पाउने हक छैन ? मानव अधिकार छैन ? बाल अधिकार छैन ? फटाईँ गर्नु र अरुलाई दुःख दिनु वा डिस्टर्ब गर्नु पो हुँदैन त ! पढाईसँग दाह्री कपालको के सम्बन्ध हुन्छ ? न त कपालले नपढ नै भन्छ । आफ्नो शरिर कस्तो बनाउने स्वयम् विद्यार्थीलाई जिम्मा दिनुपर्छ । तर यसो भनिरहँदा विद्यार्थीलाई सबै कुराको छुट छ, जस्तै नराम्रो काम गरे पनि हुन्छ भन्न खोजेको चाहिँ होइन । नसा लाग्ने वा सिकाइमा असर पार्ने पदार्थ सेवन गर्नु भएन, अश्लिल शब्दहरुको प्रयोग गर्नु र विद्यालयमा निर्वश्त्र आउनु भएन । अरुलाई असर पुग्ने कुनै पनि क्रियाकलाप नगरी दाह्री, कपाल पालेरै पढ्दा पनि केही बिग्रिँदैन ।

सुकरात, प्लेटो, एरिस्टोटल, आइन्स्टाइन, न्युटन, मार्क्स, भिन्ची, आर्कीमिडिज, पास्कल, कान्ट, वासिङ्टन, सेक्सपियर, भोल्टेयर जस्ता विश्वविख्यात दार्शनिक, वैज्ञानिक, राजनीतिज्ञ, शिक्षाविद, लेखक आदिले कपाल पालेका थिएनन् र ? सबैले इमान्दार भएर आ–आफ्नो काममा ध्यान दिनुपर्छ । विद्यार्थी लडेपछि उ आफैंलाई उठ्न दिनुपर्छ अनि अझ बलियो भएर उठ्छ । कम्तिमा बिस वर्षको भएपछि आफ्नो पेट पाल्ने जिम्मेवारी उसैलाई दिनुपर्छ । अनि अनुशासन उसलाई सिकाउने होइन उ आफैँ अरुलाई अनुशासन सिकाउने भएर निस्किहाल्छ नि जिम्मेवारी बोध भएपछि ।

अर्को कुरा गुगलले एक मिनेटमा देखाइदिने बासी पुराण वा थोत्रे सूचना वर्ष दिनसम्म रटाएर विभिन्न उमेर, रुची, क्षमता र आवश्यकता भएका विद्यार्थीहरुलाई एउटै तराजुमा तौलनु पनि गलत नै हो । सकभर किताब कापी फालेर प्रकृतिमा रमाउन दिँदा हुन्छ । त्यसो गर्न सकिँदैन भने विद्यार्थीले आफ्नै खोज अनुसन्धानबाट सिक्ने वातावरण सिर्जना गरिदिनु पर्दछ । अरुको व्यक्तिगत स्वतन्त्रता माथि बढी नियन्त्रण गर्नु ठीक होइन । कसैले कपाल, दाह्री आदि पाल्नुमा कुनै दैवी, धार्मिक वा आध्यात्मिक कारण पनि त हुनसक्छ नि ! शिक्षक हजाम हो र विद्यालयमै कपाल काटिदिनलाई ? के त्यसो गर्दा विदालय बालमैत्री हुन्छ र ? जवर्जस्ती कपाल काटिदिँदा विद्यार्थीको आत्मसम्मानमा ठेस पुगेर पढाइमा यसले झन नकरात्मक असर पार्न सक्दछ । जवर्जस्ती गरेर कसैलाई संस्कार र व्यवहार सिकाउन सकिँदैन । विद्यार्थीलाई शारिरीक सजाय त झन् गर्नै नमिल्ने रहेछ । यसो गर्दा विद्यार्थी बाहिर सुध्रिएजस्तो देखिए पनि भित्र आक्रमक स्वभाव र बदलाको भावले भरिएको हुन्छ । अर्को कुरा चौघेरामा थुनेर विभिन्न अनुशासनका बाहनामा शारिरीक वा मानसिक यातना दिनलाई विद्यालय कुनै जेल पनि त होइन नि ! शिक्षण सिकाइमा वा विद्यार्थीका बानी व्यवहारहरुमा समस्या सिर्जना भएमा कार्यमूलक अनुसन्धानको माध्यमद्वारा समाधान गर्नु पर्दछ । शिक्षकले विद्यार्थीका नकरात्मक व्यवहारहरुलाई सजायद्वारा नभई अनुसन्धानमा आधारित भएर अप्रत्यक्ष रुपमा परिवर्तन गर्ने प्रयास गर्नु पर्दछ । अन्य शैक्षिक जनशक्ति राम्रो उत्पादन गरिरहेका मुलुकहरुको अभ्यासलाई पनि नियाल्ने बानी बसाल्नु पर्दछ । शिक्षकले सिकाइमा सहजीकरण गर्ने हो, सिक्न उत्प्रेरणा जगाउने हो अनि प्रश्न गर्न र खोज अनुसन्धान गर्न सिकाउने हो । कोरा किताबी ज्ञानलाई जस्ताको त्यस्तै रटाउने र अपराधीलाई आर्मी प्रहरीले सजाय गरेजस्तो गर्ने होइन । मतलब शिक्षक आर्मी वा प्रहरी होइन । फुक्का माटोलाई कुन आकारको मूर्ति बनाउने आफ्नै हातमा भर पर्छ ।

अन्त्यमा, पठनपाठनका क्रममा सिकाइका विभिन्न सिद्धान्तहरुकोे अध्ययन, विश्लेषण र प्रयोग गर्ने प्रयास पनि गरियो । उक्त अनुभवहरुका आधारमा विद्यार्थीहरुलाई शारिरीक वा मानसिक रुपमा सजाय गर्नु अभिशाप रहेछ भन्ने बुझियो । यसले उन्नतिलाई भन्दा अवनतिलाई निम्त्याउँछ । विश्व आविष्कार र विकासको चरम उत्कर्षमा पुगेको वर्तमान परिप्रेक्षमा पनि बाहिरी आवरण र परम्परागत झिना मसिना बोक्रे कुराहरुले मानिसको शैक्षिक अवस्था वा बौद्धिक स्तर निर्धारण गरिरहेको छ हाम्रो समाजमा । पूराना र रुढीवादी विचारहरुलाई समयानुकुल परिमार्जन गर्दै अघि बढ्नु आजको आवश्यकता हो । आफूले जे सिकेको थियो त्यो नै सतप्रतिशत ठीक हो भन्न मिल्दैन । आफूले अनुशरण गरिरहेका कुराहरुलाई पनि गहिरो चिन्तन मनन गर्दै समय सान्दर्भिक बनाउनु पर्दछ । शिक्षकले विद्यार्थीलाई असल नागरिक बनाउने लक्ष्य लिएर अनुसन्धानमा आधारित अध्यापनमा जोड दिनु पर्दछ । राम्रो जनशक्ति उत्पादन गर्ने मामिलामा ठूलो हात शिक्षकको भए पनि अभिभावक, समाज र समग्र शिक्षा प्रणाली पनि त्यत्तिकै जिम्मेवार रहन्छ ।

लेखक श्री जाल्पा माध्यमिक विद्यालय, चिशंखुगढी–४, ओखलढुंगाका शिक्षक  हुन्।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड