Matra Education आइतबार, साउन १० २०८३

फेकनको एघारौँ वार्षिक साधारण सभा सम्पन्न, महत्त्वपूर्ण मुद्दामा बहसको सुरुवात

फेकनको एघारौँ वार्षिक साधारण सभा सम्पन्न, महत्त्वपूर्ण मुद्दामा बहसको सुरुवात

  • मात्र एजुकेशन
  • शनिबार, असार १८ २०७९


काठमाडौँ- स्वतन्त्र शैक्षिक परामर्श संघ नेपाल (फेकन) को एघारौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ। शनिवार राजधानीको याक एण्ड यति होटलमा आयोजित कार्यक्रम व्यवसायका विविध आयामहरू माथि छलफल गर्दै सम्पन्न भएको हो। त्यस्तै व्यवसायमा देखिएका विद्यमान समस्या र चुनौतीको सामना गर्न सामूहिक प्रयास गर्ने र व्यवसायलाई मर्यादित अनि व्यवस्थित बनाउने साझा प्रतिबद्धता सहित कार्यक्रम सम्पन्न भएको हो।

शिक्षा राज्यमन्त्री बोधमाया कुमारी यादवको प्रमुख आतिथ्यमा हुने पूर्वनिर्धारित तालिका भए पनि प्राविधिक कारणले उनी उपस्थित हुन नसकेपछि शिक्षा मन्त्रालय अन्तर्गत शैक्षिक प्रमाणीकरण शाखाका उपसचिव ईश्वरी प्रसाद ज्ञवालीको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो। कार्यक्रममा परामर्श व्यवसायीहरूका अन्य विभिन्न छाता संगठनका प्रतिनिधिहरू, विभिन्न अन्तर्राष्ट्रिय विश्वविद्यालय तथा क्याम्पसका प्रतिनिधिहरू, विभिन्न सरकारी- गैरसरकारी संघ संस्थाका प्रतिनिधिहरू, फेकनका सदस्य तथा शुभचिन्तक परामर्श व्यवसायीहरू सहित सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो। फेकनका केन्द्रीय महासचिव राजु निरौलाले सञ्चालन गरेको कार्यक्रममा संस्थाका वरिष्ठ उपाध्यक्ष प्रज्वल बस्नेतले स्वागत मन्तव्य राखेका थिए।

वार्षिक साधारण सभाकै अवसर पारेर फेकनले कोभिड-१९ महामारीका कारण दिवंगत भएका फेकनको अघिल्लो कार्यसमितिकी प्रथम उपाध्यक्ष गीता रिजालका श्रीमान् तथा संस्थाका सक्रिय सदस्य सरोज थापा प्रति श्रद्धाञ्जली अर्पण गरेको थियो। त्यस्तै उनकी धर्मपत्नी रिजाललाई थापाले गरेको योगदानको कदर गर्दै सम्मान समेत गरेको थियो। पतिको निधन पश्चात् पनि धैर्य र साहस बटुलेर निरन्तर कार्यक्षेत्रमा सक्रिय रूपमा काम गर्दै आइरहेको भन्दै उनलाई सम्मान गरिएको संस्थाले जनाएको छ।

कार्यक्रममा शुभकामना सन्देश दिँदै जाल्सानका अध्यक्ष झमकलाल श्रेष्ठले व्यावसायिक हकहितका लागि जाल्सानले सबै संघ संस्था सँग सहकार्य गर्दै आइरहेको र यो निरन्तर जारी रहने बताए। त्यस्तै व्यवसायमा देखिएको नीतिगत समस्या समाधान गर्न सधैँ फेकनसँग सँगै रहने पनि उनले उल्लेख गरे।

त्यस्तै आइरिनका अध्यक्ष हेमन्त भट्टराईले फेकनको वार्षिक साधारण सभालाई सफलताको शुभकामना दिँदै परामर्श व्यवसायमा पर्याप्त अवसर हुँदाहुँदै पनि चुनौती थपिएको बताए । एउटै काम, सोच र चिन्तनका साथ कार्य क्षेत्रमा रहेको भए पनि विभिन्न संस्थाका रूपमा रहेकोले अझै सोचे जति नतिजा आउने गरी काम गर्न नसकिएको उल्लेख गर्दै उनले संस्थागत तरिका फरक भए पनि व्यवसायीको हक हितका लागि कार्यगत एकता हुँदै आएको स्मरण गराए । धरौटी लगायतका विभिन्न नीतिगत उल्झनहरूले व्यवसाय नै नरहने हो कि भन्ने चिन्ता थपेको उनको गुनासो थियो । राज्यले कर लिएर पनि व्यवसायी प्रतिको जिम्मेवारी बोध नगरेको उनको भनाइ थियो।

परामर्श व्यवसायलाई एकतर्फी रूपमा मात्रै हेर्नु गलत भएको भन्दै नेका उपाध्यक्ष निरज सिटौलाले नेपाली विद्यार्थी विदेश पठाउने मात्र होइन यहाँ ल्याउन पनि सम्भव रहेको उल्लेख गरे । बुद्धिजम, पर्वतारोहण तथा आइटी सम्बन्धी कोर्सलाई उपयुक्त शैक्षिक वातावरण तयार गर्न सके त्यो छिटै सम्भव हुनसक्ने उनको भनाइ थियो।

इक्यानका अध्यक्ष प्रकाश पाण्डेले परामर्श व्यवसायलाई व्यवस्थित र मर्यादित बनाउन आफूहरू पनि लागि परेको उल्लेख गरे। केही हप्ता अघिको सरकारको जग्गा धितो राखेर ऋण लिन नपाउने अव्यवहारिक निर्णयको दृष्टान्त दिँदै उनले मन्त्रालयमा बस्नेहरूले आधारहीन निर्णय गरिदिँदा आफूहरू अदालतको ढोका सम्म पुग्नुपरेको स्मरण गरे। धरौटीको विषय तर्फ संकेत गर्दै उनले मन्त्रालयमा बस्दै गर्दा कानुन थोपर्ने हो कि कार्यान्वयन पनि गर्नुपर्ने हो भन्ने प्रश्न गरे। यद्यपि धरौटीका विषयमा कतै आधिकारिक जानकारी नआएको र कसैले यो विषयमा छलफलका लाग भन्दै नबोलाएको पनि उनले बताए । उनले अगाडी भने, ” कर तिरेकै छौँ, हरेक हिसाबले राज्यको नितिनियम पालना गर्दा पनि हामी हेर्न भ्याउँदैनौ भन्ने नाममा आफ्नो असक्षमता हामी माथि थोपर्ने काम किन हुँदैछ ? धरौटी के कारणले लिने? परामर्श दिनेलाई के को धरौटी ?” मन्त्रालयमा बस्नेलाई सही र गलत के हो भन्ने थाहा नभएको पाण्डेको भनाइ थियो। आफूहरूको व्यवसाय भित्रै पनि मन्त्रालय गएर एक थरी कुरा गर्ने अनि साथीहरूको बिचमा अर्को कुरा गर्ने प्रवृत्ति मौलाएको भन्दै खुसुक्क धरौटी ल्याउनुपर्छ भनेर प्रोत्साहन गर्नेको हात खुट्टा भाँचिन सक्ने चेतावनी उनले दिए। दीर्घकालीन सोचका साथ नआउने नितिनियम मान्य नहुने हुँदा यस्ता विषयमा फेकन सँग आफ्नो संस्थाले निरन्तर सहकार्य गर्ने प्रतिबद्धता उनले व्यक्त गरे ।

त्यस्तै फेकनका पुर्व अध्यक्ष युवराज कटवालले राज्यको नीति भव्य कमेडियनको सो जस्तै भएको बताए । धरौटीकै विषय जोड्दै उनले परामर्श व्यवसाय भित्रै पनि मन्त्रालयमा एक थरी, बाहिर एक थरी कुरा गर्ने मान्छे रहेको भन्दै प्रमाण पुगेको दिन त्यस्ता व्यक्तिहरूलाई नङ्गाउने चेतावनी दिए। शिक्षा मन्त्रालयलाई माइक्रोसफ्ट, याहु, अमेजनले कति धरौटी राखेर सफल भएको भन्ने प्रश्न गरेका उनले सक्छ भने फेक काम गर्नेलाई कारबाही गर्न चुनौती दिए। धरौटीले अपराध न्यूनीकरण नगर्ने भएकाले विदेश पठाए बापत देशभित्र अन्तर्राष्ट्रिय विद्यार्थी पनि भित्राउनुपर्ने नियम बनाई कोटा तोक्न सुझाव दिए ।

कार्यक्रमका प्रमुख अतिथि उपसचिव ज्ञवालीले यस किसिमको बहस भएको ठाउँमा राजनीतिक नेतृत्व वा सम्बन्धित मन्त्री आएको भए अझै प्रभावकारी सुनुवाइ हुने थियो भन्ने धारणा राखे। आफूजस्तो कर्मचारीले मात्रै सुन्दा सवालहरू ठाउँमा नपुग्न सक्ने भन्दै आफूले भने पुर्‍याउने प्रयास गर्ने उनले बताए । आउँदै गरेको नियमावली सचिव, मन्त्रालय वा मन्त्री एक्लैले ल्याउने नभई व्यवसायीहरू सँग छलफल गरेरै आउँछ भन्ने उनको विश्वास थियो। विद्यार्थी नफर्किने समस्याले पनि कतिपय यो पेसाप्रति नकारात्मक भएको भन्दै परामर्श दिँदा त्यो वातावरण निर्माण गर्न उनले सुझाव दिए ।

कार्यक्रम समापन गर्दै कार्यक्रममा सभापति तथा फेकनका अध्यक्ष वासुदेव नेपालले केही गम्भीर प्रश्नहरू उठाए। उपसचिव ज्ञवाली कर्मचारी हो भनेर पन्छिन खोज्ने तर उनी आएपछि नै धरौटी लगायतका विषय आएकाले आफूहरूले शंकाको सुविधा पाउने कि नपाउने भन्ने उनको प्रश्न थियो। आफूहरूले ज्ञवालीलाई अभिभावक हो भनिरहँदा कोभिडको समयमा उनले व्यवसायी समस्यामा पर्दा कहाँ आवाज उठाए र के के गरे भन्ने उनको प्रश्न थियो। मन्त्रालयले सरोकारवाला सँग छलफल नै नगरी मनगणन्ते हिसाबले यिनीहरूलाई पेल्नुपर्छ भन्ने उद्देश्यले नियमावली ल्याउन लागेको भन्दै यदि त्यसो भए त्यसको परिणाम राम्रो नहुने चेतावनी उनले दिए। तथ्याङ्क हेर्ने हो भने विदेश घुम्न जानेले पढ्न जानेले भन्दा धेरै खर्च गर्ने गरेको भए पनि त्यसको भन्दा धेरै विरोध सधैँ परामर्श व्यवसायीको हुने गरेको दुखेसो उनले पोखे। फेकन नीति नियम भित्र बस्नुपर्छ भने मान्यता राख्ने संस्था भए पनि व्यवसाय नै संकटमा पर्ने गरी नीति नियम ल्याइए त्यो आफूहरूलाई सह्य नहुने उनको भनाइ थियो।

एघारौँ वार्षिक साधारण सभाको खुल्ला सत्र मार्फत व्यवसायमा देखिएको ठुलो चुनौतीका विषयमा बहस सिर्जना गर्न फेकन सफल भएको छ।

उक्त कार्यक्रमको फोटोफिचर हेर्न यहाँ क्लिक गर्नुहोस्

 

 

 

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड