द्वन्दको शाब्दिक अर्थ झगडा, मनमुटाव, मनोमालिन्य हो । दुई पक्ष , समूह तथा विचारका आधारमा आपसमा हुने अन्तरविरोध र असन्तुष्टिको स्थिती तथा वैमनस्यता नै द्वन्द हो । द्वन्द विशेषत: स्रोत र साधनको अपर्याप्तता वा तिनको अविवेकी बितरण, अधिकारको अस्पष्टता, सरोकार व्यक्ति वा समूहको व्यक्तिगत वा सामुहिक दबदबाको स्थितिमा सृजना हुन्छ । द्वन्द सामाजिक विविधतालाई व्यवस्थापन गर्न नसक्दा देखा पर्न थाल्दछ । निश्चित हदसमको द्वन्द्व परिवर्तन ,नविनता र सुधारका लागि आवश्यक मानिन्छ । द्वन्द समाजको अवश्यम्भावी रोग हो । यस्तो रोग सकारात्मक परिस्थितिको निर्माणतर्फ केन्द्रित हुनुपर्दछ । द्वन्द समाजको अभिन्न क्रियाकलाप भएको हुँदा समय , समाज, हावापानी,भौगोलिक अवस्था, तत्कालीन परिस्थिति आदिले पनि द्वन्दको स्वरुप निर्धारण गर्दछ । द्वन्द्वले कसैलाई पनि मुक्त राख्न सक्दैन ।
सामाजिक द्वन्द मूल्यमान्यता , विश्वास, बुझाई र अबधारणामा रहेको भिन्नताको कारण उत्पन्न हुने मनोवैज्ञानिक अवस्था हो । सामाजिक द्वन्द विभिन्न स्वरुप जस्तै कलह, झगडा , मारकाट असहमति ,प्रतिक्रिया , क्रोध ,रिसिबि ,दुश्मनी गालिगालोज , मुद्दामामिला , कुटपिट वा हिंसा र युद्धको रुपमा समाजमा देखिने समस्या हो । त्यस्तै गरि समाजका व्यक्तिहरू वीच एकआपसमा कुरा नमिल्नु , मनमुटाव हुनु , स्वार्थ बाँधिनु सामाजिक विवाद हो । विवाद र द्वन्द बिच कहाँबाट विवाद सकिने र कहाँबाट द्वन्द्व प्रारम्भ हुने भनि कुनै स्पष्ट बिन्दु छुट्याउन गाह्रो हुन्छ । यसर्थ यस लेखमा विवाद र द्वन्द लाई पृथक नगरी समष्टिमा अर्थय्याउनु बान्छनिय हुन्छ ।
द्वन्द सम्बन्धमा प्रचलित विभिन्न दृष्टिकोण
परम्परागत दृष्टिकोण
सन् १९३० देखि १९४० सम्मको अवधिमा विद्यमान रहेको यस परम्परागत धारणामा द्वन्दले संगठनलाई विगार्छ । संगठनको लागी द्वन्द खतरापूर्ण हुन्छ । त्यसैले द्वन्द्व उत्पन्न दिनै हुँदैन र यदि उत्पन्न भइहालेमा जसरी पनि पन्छाउनु पर्छ भन्ने मान्यता रहेको थियो ।
क) मानव सम्बन्धबादि दृष्टिकोण
सन् १९४० देखि १९७० सम्मको अवस्थामा रहेको यस धारणाले द्वन्द्वलाई स्वभाविक प्रक्रियाको रुपमा हेरेको छ । यस धारणाले द्वन्द्वले विकासलाई सम्भव गराउँछ तर द्वन्द्वलाई समयमै समाधान गर्नुपर्दछ भन्ने मान्यता राख्दछ ।
ख)अन्तरक्रियात्मक दृष्टिकोण
सन् १९७० पछि विकसित भएको यस दृष्टिकोणले द्वन्द्वलाई एउटा हदसम्म प्रोत्साहन गरिनु पर्दछ जसले सामाजिक गतिशीलता ल्याउँछ , सगंठनलाई प्रभावकारी रुपमा सञ्चालन गर्न द्वन्द्व आवश्यक छ र हुन्छ भन्ने मान्यता राख्दछ ।
विभिन्न धारणा कर्ताका अनुसार द्वन्दका स्रोतहरू
-मानवशास्त्री : सामाजिक संस्कारमा रहेको विविधता
-अर्थशास्त्री : समानुपातिक वितरण
-राजनीतिज्ञ : राजनीतिक विचारधारा को फरक मान्यता
-मनोवैज्ञानिक : व्यक्ति समूहको उद्देश्यमा रहेको विभेद
विवाद तथा द्वन्दका विशेषता
-दुई वा दुईभन्दा बढी व्यक्ति र पक्षधरको संलग्नता रहन्छ
-सामाजिक मेलमिलाप , सहिषुणता , सम्झदारी ,आवश्यक समन्वय र अन्तरसम्बन्ध कायम नहुँदा प्रकट हुन्छ
-सामाजिक परिवर्तन तथा रूपान्तरणको आधार हो
-न्यायपूर्ण समाज निर्माण र समाजसुधारको आधार हो
-द्वन्द परिवर्तनको वाहक हो
-असमान विचार , फरक मत ,संघर्षका स्थिति , शत्रुपूर्ण अवस्था जुन एउटाको कारणले अर्कोले महसुस गर्ने नैराश्य पूर्ण व्यवहार हो
सामाजिक विवाद तथा द्वन्दका कारण
-एउटाको उद्देश्य विचार र भावनामाथि अर्काको उद्देश्य विचार र भावनाले हस्तक्षेप गर्नु
-समाजमा रहेका स्रोतसाधनको असमान वितरण हुनु
-सामाजिक विभेद असमानता र समाजिक हिंसा
-कमजोर सामाजिक सचेतना
-सामाजिक कुरिति र अपराध बढ्नु
-एकले अर्कोलाई विश्वास र सम्मान नगर्नु
-सामाजिक भेदभाव जन्य व्यवहार कायमै रहनु
-राजनैतिक विचारधाराबीचको चरम संघर्ष
-राजनीतिक हस्तक्षेप
-धर्मको राजनीतिकरण
-कानुनि राज्यको अभाव
-राज्यका विभेदकारी नीतिहरु
-असमावेशीकरण
-सहभागितामुलक शासन प्रणालीक अभाव
-नीतिमा विरोधाभास एवं अस्पष्टता हुनु
समाजिक विवाद तथा द्वन्दका सकारात्मक परीणाम / सामाजिक विवाद द्वन्द किन/कति आवश्यक छ ?
-सामाजिक मुद्दा तथा मामिलाका खातिर उत्तम विकल्प निर्माण र विकास हुन्छ
-समाजमा तानशाह तथा शोषण , दमनको अन्त्य
-समाजलाई गतिशील एवं स्वस्थ बनाउँछ
-स्रोत साधन तथा सामाजिक लाभको न्यायोचित वितरण
-विकास कार्यमा गुणात्मक वृद्धि हुने
-सामाजिक बिकृती घटाउन मद्दत गर्छ (जस्तै जातीय भाषिक लैङ्गिक वा वर्गीय आधारमा हुने विभेद हटाउन सहयोग गर्छ)
-समाजको निर्णय गर्ने क्षमता अभिवृद्धि हुनुका साथै सामाजिक नेतृत्वको विकास गराउछ
सामाजिक विवाद तथा द्वन्द्वका नकारात्मक परिणाम
-समाजका व्यक्तिहरू बिच मनमुटाव भई सहकार्य हुन छाड्ने
-विवाद चरम भई हिंसात्मक रुप लिनु
-जातीय , भाषीय , धार्मिक र वर्गीय द्वन्द्वको सिर्जना
-सामाजिक विकास निर्माणका कार्यहरुमा अवरोध
-शान्ति सुरक्षा माथि चुनौती थपिन जाने
-राजनीतिक अस्थिरता बढ्ने
-मानव विकास तथा समग्र विकासमा नकारात्मक असर पर्ने
विवाद तथा द्वन्द्व व्यवस्थापनका तरिकाहरु
क ) प्रवर्धनात्मक तरिकाहरु
-सामाजिक चेतनाको अभिवृद्धि गर्ने
-सहभागितामूलक निर्णय प्रक्रिया र विकास पद्धतिको अवलम्बन गर्ने
-सामाजिक धारणा सर्वेक्षण गर्ने
-सामाजिक अन्तरक्रिया एवं संवाद गर्ने
ख ) उपचारात्मक तरिकाहरु
-विवाद तथा द्वन्दको अवस्थाको आकलन गर्ने
-अवस्थाको विश्लेषण तथा विकल्प निर्माण गर्ने
-विवाद तथा द्वन्द्व व्यवस्थापकहरुले एक आपसमा सञ्चार समझदारि र हस्ताक्षर गर्ने
नेपालमा सामाजिक द्वन्द तथा विवादको अबस्था
क) नकारात्मक अबस्था
-समाज राजनीतिक विचारधाराको आधारमा विभाजित छ
-जातीय भाषीय धार्मिक कारणले समेत पनि विवाद सिर्जना भएको छ
-सरकारी कार्यालयको स्थापना लाई लिएर विवाद भएको छ
-राज्यले प्रदान गर्ने सेवा सुविधाको विषयलाई लिएर विवाद
-प्राकृतिक स्रोत साधनको उपयोगलाई लिएर विवाद
नेपालमा सामाजिक विवाद तथा द्वन्द्व समाधानका लागि भएका व्यवस्था
क) संबैधानिक ब्यबस्था
-संविधानको प्रस्तावनामै लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा दिगो शान्ति सुशासन विकास र समृद्धिको आकाङ्क्षा पूरा गर्ने कुरा उल्लेख
-धारा ६ मा नेपालमा बोलिने सबै मातृभाषालाई राष्ट्रिय भाषाको रुपमा मान्यता प्रदान
-भाग ३ मा विभिन्न ३१ वटा मौलिक हकहरुको व्यवस्था
-धारा ५१ राष्ट्रिय एकता र सुरक्षा सम्बन्धी नीतिमा विभिन्न जात जाति धर्म भाषा संस्कृति र संरचना बीच पारस्परिक सद्भाव , सहिष्णुता र ऐक्यबद्धता कायम गरी संघीय एकाइबिच परस्पर सहयोगत्मक सम्बन्धलाई विकास गर्ने
ख) कानुनी व्यवस्था
-स्थानीय सरकार संचालन ऐन २०७४ मा न्यायिक समितिको अधिकार क्षेत्र तोकिएको
-मुलुकी अपराध संहिता ऐन २०७४
-बेपत्ता पारिएको व्यक्तिको छानबिन सत्यनिरूपण तथा मेलमिलाप आयोग २०७१
-मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ नियमावली २०७५
ग) संस्थागत व्यवस्था
-विभिन्न तीन तहको अदालत (संविधानको धारा १२७ मा सर्वोच्च , उच्च र जिल्ला अदालतहरू)
-संवैधानिक इजलासको व्यवस्था ( धारा १२७)
-अन्तरप्रदेश परिषद्को व्यवस्था ( धारा २३४)
-गृहमन्त्रालय
-सत्यनिरुपण तथा मेलमिलाप आयोग
-बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन आयोग
-जिल्ला प्रशासन कार्यालय
– न्यायिक समितिहरु