काठमाडौँ- यतिबेला निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन, नेपाल (प्याब्सन) आफ्नो १५ औँ राष्ट्रिय महाधिवेशनको तयारीमा छ। आगामी चैत ९ र १० गते नेपाल प्रज्ञा प्रतिष्ठानको हल कमलादीमा हुने महाधिवेशनले आगामी तीन वर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्ने छ। २७ जना पदाधिकारी र ३९ जना सदस्य गरी कुल ६६ जनाको कार्यसमिति बनाउनका लागि मनोनयन भइसकेको छ। केही पदमा सर्वसम्मत नेतृत्व चयन भइसक्दा अन्य धेरै पदहरू प्रक्रिया मार्फत नै छनोट हुने देखिएको छ। यद्यपि प्याब्सनको मूल नेतृत्वले भने सबैले अपनत्व ग्रहण गर्नेगरी सहमति मार्फत साझा नेतृत्व चयन गर्ने प्रयासमा रहेको बताउँदै आएको छ।
प्याब्सनको नयाँ कार्यसमिति कस्तो बन्छ र त्यसले संस्थालाई कसरी अगाडी बढाउँछ भन्ने जति चासोको विषय बनेको छ त्यति नै चासो केही निश्चित पदहरूमा को आउँछ भन्नेमा रहेको छ। यस्ता पदहरूमा परेको मनोनयन हेरेर बजारमा विभिन्न अड्कलबाजी पनि सुरु भएका छन्। यस्तै अत्यधिक महत्त्वका साथ हेरिएको एउटा पद हो प्याब्सनको वरिष्ठ उपाध्यक्ष।
१५ औँ राष्ट्रिय महाधिवेशनमा वरिष्ठ उपाध्यक्षका लागि हालका उपाध्यक्षहरू कृष्ण प्रसाद अधिकारी, दिपिका रिमाल थापा र गोपाल प्रसाद आचार्यले उम्मेदवारी दिएका छन् । यही उम्मेदवारीका सन्दर्भमा यो पदका सशक्त दाबेदार कृष्ण प्रसाद अधिकारी सँग उनको उम्मेदवारीका विषयमा कुराकानी गरी मात्र एजुकेसनले यो सामग्री तयार पारेको छ।
भ्याली पब्लिक स्कुलका संस्थापक प्रिन्सिपल कृष्ण प्रसाद अधिकारी लामो समयदेखि शिक्षा क्षेत्रमा क्रियाशील छन्। १४ वर्षको कलिलो उमेरमै शिक्षण पेसा सुरु गरेका अधिकारी उमेरले २२ टेक्दै गर्दा निजी विद्यालय सञ्चालक बनेका हुन्। लगानी साझेदारीमा विद्यालय सञ्चालक हुँदै प्रिन्सिपल बनेका उनी विभिन्न आरोह अवरोह पार गर्दै आज करिब ३ दशकको शिक्षण अनुभव सहित प्याब्सनमा आबद्ध छन्। सानै उमेरदेखि शिक्षणमा रुचि राखेका उनले निरन्तरको मेहनत, आत्मविश्वास, लगनशीलता र श्रीमतीको साथको कारण आजको भ्याली पब्लिक स्कुलको सफलताको जग बसालेका हुन्। विद्यालयका शिक्षक, कर्मचारीको दुख नजिकबाट नियालेका उनी आफू प्याब्सनको अपेक्षित पदमा निर्वाचित भए पहिलो प्राथमिकता दिएर समाधान गर्ने बताउँछन्।
विद्यालय सञ्चालन गर्दै गर्दा सन् २००५ मा स्विजरल्याण्ड पुगेका अधिकारीले त्यहाँको १६ वटा विद्यालय भ्रमण गरी नेपाल फर्किए। त्यो भ्रमणले उनलाई वास्तविक अर्थमा विद्यालय कस्तो हुनुपर्छ भन्ने बुझाइदियो। विद्यालयमा शौचालय, पुस्तकालय, ल्याब आदि हुनुपर्ने रहेछ भन्ने बुझेपछि उनले अभिभावककै सहयोगमा आवश्यक भौतिक पूर्वाधारहरू निर्माण गरे। सोही समयमा आफ्ना शिक्षकहरूलाई आफूले दिएको सेवा सुविधाले खाजा खान समेत कठिन हुने देखेपछि उनले शिक्षक कर्मचारीलाई काम अनुसारको पारिश्रमिक दिने निर्णय लिए। भौतिक पूर्वाधार थप्ने र शिक्षक कर्मचारीलाई उचित सम्मान दिने त्यो निर्णयले उनको विद्यालयको विकासमा ठुलो मद्दत गर्यो। यही मोडल प्याब्सनमा प्रयोग गर्दै देशभरका निजी शैक्षिक संस्थालाई सफल बनाउने उनको योजना छ। स्विजरल्याण्ड सँगै जर्मन, फिनल्यान्ड, अमेरिका लगायत अन्य थुप्रै देश भ्रमण गरिसकेका अधिकारीले त्यहाँको शैक्षिक अवस्थाको अध्ययन गर्नुका साथै नेपालमा त्यसको प्रयोगबारे समेत योजना बनाएका छन्।
२०५१ सालमा प्याब्सन प्रवेश गरेका अधिकारी ८ पटक प्याब्सनमा निर्वाचित भइसकेका छन्। त्यसमा पनि हरेक पटक सबैभन्दा बढी मत प्राप्त गरेर ८ पटक जितेको कीर्तिमान उनले बनाएका छन्। ४ पटक केन्द्रीय सदस्य, २ पटक केन्द्रीय सचिव, एक पटक प्रदेश अध्यक्ष र दुई पटक केन्द्रीय खुला उपाध्यक्ष बनेका उनी आफू योग्य भएकाले नै वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिएको बताउँछन्।
अधिकारीले प्याब्सनका हालसम्मका सबै अध्यक्षको कार्यकालमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका छन्। शिक्षालाई परिवर्तनमुखी बनाउँदै जीवनोपयोगी बनाउनुपर्छ भन्ने धारणा राख्ने उनी नेपालको पाठ्यक्रम, परीक्षा प्रणाली आदिमा पनि परिवर्तन गर्नुपर्ने बताउँछन्। त्यसका लागि नेपाल सरकारको विरोध गर्ने नभई सहकार्य गरेर सामुदायिक र संस्थागत दुवै विद्यालयहरूलाई सुधार गर्ने योजनामा उनी रहेका छन्।
प्याब्सनले भर्खरै खरिद गरेको भवनका लागि महत्त्वपूर्ण योगदान गरेका अधिकारी उक्त भवनलाई निजी शैक्षिक संस्थाहरूको मन्त्रालय बनाउने योजनामा छन् । निजी विद्यालयहरूले अनुसन्धान गर्ने, परीक्षा प्रणाली र पाठ्यक्रम सुधार लगायतका काम त्यहाँबाट गर्ने पनि उनको सोच छ। समग्र संस्थाको नेतृत्व गर्न समय र स्रोत साधन दुवै चाहिने हुँदा आफू त्यसमा सक्षम रहेको उनको दाबी छ। कतिपय पदमा उम्मेदवारी दिएकाहरू आफ्नो स्कुल नै राम्रोसँग चलाउन नसक्ने अवस्थामा भएकाले उनीहरूले संस्थामा कुनै भूमिका खेल्न नसक्ने उनी बताउँछन्। आफू यी सबै समस्याबाट मुक्त भएकाले प्याब्सनमा सदाझैँ सर्वोत्कृष्ट भूमिका खेल्न सक्नेमा उनी विश्वस्त छन्।
के छन् अधिकारी नै वरिष्ठ उपाध्यक्ष बन्नुपर्ने कारण ?
-निजी क्षेत्रका शैक्षिक संस्थाको स्वामित्व र सम्पत्ति बचाउँदै त्यसलाई जनतासँग जोड्न
-विद्यार्थी, शिक्षक कर्मचारी र अभिभावक बिच उत्कृष्ट सम्बन्ध हुने नीति बनाउन
-प्याब्सनका सदस्य विद्यालयहरूलाई उपयुक्त तालिम दिन
-राज्यले निजी विद्यालयलाई हेर्ने विभेदकारी नीतिमा परिवर्तन ल्याउन
-शिक्षक कर्मचारी र विद्यार्थीको इन्सुरेन्सको व्यवस्था गर्न
-प्याब्सनलाई आर्थिक रूपमा समृद्ध बनाउन
-राज्यलाई निजी शैक्षिक संस्थाको समेत दायित्वबोध गराउन
-प्याब्सनलाई शैक्षिक, आर्थिक र अन्य विविध पक्ष बाट सवाल बनाउँदै निजी शैक्षिक संस्थाहरूको मन्त्रालयको रूपमा विकास गर्न
-प्याब्सनलाई सबैको भावना र चाहना सम्बोधन हुने साझा संस्था बनाउन
प्याब्सनको विदेश विभागमा रहेर ५१ जना प्रिन्सिपल र १७८ जना विद्यार्थीलाई अमेरिकामा तालिम गराएका अधिकारी आफू वरिष्ठ उपाध्यक्षमा निर्वाचित भए शैक्षिक सुधारका लागि यस्ता थुप्रै कार्यक्रमहरू गर्ने बताउँछन्। प्याब्सनिष्टहरुको कुनै पनि राजनीतिक पार्टी हुनुहुँदैन भन्ने सोच राख्ने उनी प्याब्सन नै आफूहरूको पार्टी र जाति हुनुपर्ने बताउँछन् । राजनीति भन्दा बाहिर समाज र सेवामुखी व्यवसायको रूपमा प्याब्सनलाई स्थापित गराउन चाहन्छन् उनी । प्याब्सनका सम्पूर्ण मुद्दासँग परिचित भएर समाधान गर्ने आँट , विश्वास र धैर्यता बोकेकाले पनि वरिष्ठ उपाध्यक्षमा आफू निर्वाचित हुनुपर्ने उनको तर्क छ।
यसरी अनुभवले खारिएका, ३ दशकदेखि निरन्तर प्याब्सनमा सक्रिय भएका र संस्थालाई आर्थिक सँगै अन्य विविध पक्षबाट माथि उठाउन लागि परेका कृष्ण प्रसाद अधिकारी वरिष्ठ उपाध्यक्षमा निर्वाचित भए त्यसले संस्थाको गरिमा अझै बढाउने देखिन्छ।