प्रसङ्ग एउटा कथाबाट: सानो हुँदा एउटा कथा सुनेको थिएँ:
एकादेशमा एउटा विद्यालयमा एउटा अत्यन्त कर्मठ एवम् आज्ञाकारी कार्यालय सहयोगी थियो । उसले दिइएका सबै कामहरू अत्यन्तै लगनका साथ गर्दथ्यो । एकदिन उसलाई हाकिमसाबले चिया ल्याउन लगाउनुभएछ । संयोगवश त्यो दिन चमेना गृहमा कामदार अभाव र अति व्यस्तताले गर्दा चिया पकाउन ढिलो हुन पुगेछ ।हाकिमसाबका कार्यकक्षमा आएका सेवाग्राही चिया नपिईकन फर्किएछन् । यसै झोकमा हाकिमले झोक्किएर ती कार्यालय सहयोगीलाई गाली पनि गर्न भ्याएछन् ।
रिसले चुर ती कार्यालय सहयोगी झोक्किँदै बाहिर निस्किए । निस्कने क्रममा उनले पुरानो सहकर्मी/साथीलाई गेटमै भेट्न पुगेछन् ।
यस क्रममा उनका पुरानो मित्र अनि अनुभव उस्तै भएकै कारणले उनका सहकर्मीले केही त पक्कै भएको छ भन्ने बुझिहाले । जिज्ञासारूपी प्रश्न पूरा हुन नपाउँदै उत्तर आयो, “मैले केही गरेकै छैन । उनिले गरेका ढिलासुस्तीको मलाइ के दोष?”
यत्तिकैमा ती टाठा सहकर्मीले चित्तबुझ्दो जवाफ दिए, “यो कुनै पनि किसिमको जागिर खाएर जस सधैँ पाउँछु भन्नू , सिलाबर को भाँडा जोरेर गतिलो जोहो गरेको भन्नू ,अनि चोली किनिदिन्छु मसँग बिहे गर भनेर भन्नू उस्तै कुरा हुन् ! हरेक कुरामा जस पाउँछु भनेर हुन्न भन्ने सन्देश बेग्लै तरिकाले पायो उसले ।
म, आज सामाजिक विषयको एकाइ परीक्षा चलिरहेको त्यो मौनतामा दिमागको कुनै भागमा याद आएको यो कथाले मेरो व्यक्तिगत शिक्षण पेसा अँगाल्दाको यो सुनौलो नवौँ वर्षमा आइपुग्दा पनि “जस” रुपी सन्तोष खोज्दै व्यग्र यो मनलाई मिल्दोजुल्दो अनुभवले पुनर्ताजगी गरायो । केही बर्सअघि नातावादको, कृपावादको र कतै अहम्तावादको दलदल सफा गर्ने एक्लो एवम् अधुरो प्रयत्नमा त्याग्नुपरेका केही थान जागिरलाई आज नि यस्तै घटना एवम् परिघटनाले बेला बेला झस्काइरहन्छन् ।
आखिर म नै हुँ पढाउने- ” Since no people in society have same opinions, converging ideas; so conflict is an integral part of society. There must be conflict for progress and development.” कता कता गर्व लाग्यो, एवम् चकमन्न अँध्यारो रातपछिको व्यग्र प्रतीक्षापछि देखिएको पहिलो रश्मिको किरणझैँ मन उज्यालो भयो र त्यो दिनको यस्तै सानातिना उतारचढावलाई फकाइ-फुलाइ आफूलाई चित्त बुझाउने बहाना मानेरै भए पनि मैले शान्तिका साथ कतै चैन दिएँ । फरक मत, फरक बिचार, फरक शैली एवम् फरक कार्यकुशलता भएकै कारणले कहीँ कसैप्रति पूर्वाग्रही नहुने आफ्नै मनसित गरेको प्रणले हरेक दिन प्रज्वलित हुनु नै हित लाग्यो ।
यत्तिकैमा परीक्षा सकिएको घण्टीले यी सबै कुरालाई फेरि मनमा समयसापेक्ष रूपमा सकारात्मक तवरले ब्युँताउने सर्तमा म उही हँसिलो मुद्रामा निस्किए । आखिर मेरो सकारात्मक प्रतिबिम्बले मैले सबैमा उमङ्ग र जोस भर्नु जो छ । म त आखिर एक शिक्षक , अनि जिन्दगी र हरेक व्यक्ति मेरा पनि शिक्षक ।।