काठमाडौँ- परामर्श व्यवसायीहरूको छाता सङ्गठन स्वतन्त्र शैक्षिक परामर्श संघ नेपाल (फेकन) र इम्प्रेसिभ मिडिया प्रालि द्वारा सञ्चालित मात्र एजुकेसन डट कम बिच सहकार्य गर्ने सम्झौता भएको छ। आइतबार फेकनको कार्यालय पुतलीसडकमा फेकनका अध्यक्ष बासु नेपाल र इम्प्रेसिभ मिडिया प्रालि का अध्यक्ष रमेश लामिछानेले सम्झौता पत्रमा हस्ताक्षर गर्दै साटासाट गरे सँगै मात्र एजुकेसन फेकनको अफिसियल मिडिया पार्टनर बनेको छ।
सम्झौता पत्रमा एक आपसमा सहयोग र सहकार्य गर्दै अघि बढ्ने, फेकनका गतिविधिहरूलाई मात्र एजुकेसन मार्फत जनता सामु पुर्याउने, फेकनले गर्ने हरेक कार्यक्रमको ब्यानरमा अफिसियल मिडिया पार्टनरका रूपमा मात्र एजुकेसनको लोगो राख्ने, फेकन सदस्यहरूका गतिविधि प्रचार प्रसारमा समेत सहयोग गर्ने, सदस्यहरूले मिडिया सँग व्यावसायिक काम गर्दा मात्र एजुकेसनलाई पहिलो प्राथमिकता दिने र एक अर्कालाई सहयोग गर्दै अघि बढ्ने लगायतका बुँदाहरू उल्लेख छन्।
फेकन अध्यक्ष बासु नेपालले यो साझेदारीले फेकनलाई अझै सशक्त बनाउने आफूहरूको अभियानलाई सहयोग पुग्ने प्रतिक्रिया दिए। “तपाईँहरू एजुकेसनलाई मात्रै आफ्नो क्षेत्र बनाएर पत्रकारितामा लाग्नुभएको छ। हामी पनि शैक्षिक क्षेत्रमै भएकाले यो साझेदारीले दुवैलाई सहयोग पुग्नेछ भन्ने विश्वास मैले लिएको छु” उनले भने। परामर्श व्यवसायीहरूका समस्या र चुनौतीहरूलाई सम्बन्धित निकायमा पुर्याउन पनि अब अझै बढी सजिलो हुने उनको भनाइ छ ।
फेकनका पदाधिकारी, सदस्य र सल्लाहकारहरूको समेत उपस्थितिमा भएको सम्झौता पछिको सामूहिक तस्बिरहरू हेर्नुहोस्।
