काठमाडौँ- नेपालमा शैक्षिक गुणस्तरको बहस सुरु भएको धेरै भयो। खास गरी नेपाली शिक्षा प्रणालीमा निजी क्षेत्रको प्रवेश सँगै गुणस्तर सुधार भएको तथ्यलाई नकार्न सकिँदैन। तर बर्सेनि राज्यको अरबौँ लगानी हुने सामुदायिक विद्यालयको भने स्तर उकास्नु राज्यलाई फलामको चिउरा चपाउनु जस्तै भएको छ। यद्यपि अपवादका रूपमा संस्थागत विद्यालयलाई नै चुनौती दिने केही सामुदायिक विद्यालयलाई भुल्नु हुँदैन। यस्ता विद्यालयले आफूलाई अब्बल साबित गर्दै उत्कृष्ट प्रमाणित गरेका पनि छन्। तर बाँकी अधिकांश सामुदायिक विद्यालय भने यो भएन वा त्यो भएन को बहानामा अझै पनि अल्झिरहेका छन्। वास्तविकतामा यस्ता विद्यालयहरू आफैँ राजनीतिको सिकार, वि.व्य.स र स्थानीय सरकारको बेवास्ता, शिक्षक र प्रशासनको लापरबाहीको सिकार भएका हुन्छन्। यदि त्यसो हुँदैनथ्यो भने अध्यापन अनुमतिपत्र पाएर, आयोग भिडेर अनि खारिएर आएका शिक्षकहरूले पढाएको विद्यार्थीले किन संस्थागत विद्यालयमा स्नातक पढ्दै गरेको शिक्षकले पढाएको विद्यार्थी सँग प्रतिस्पर्धा गर्न सक्दैन ?
यो प्रश्नको उत्तर सामान्य छ। यस्ता विद्यालयमा अभिभावकले महँगो शुल्क तिर्नु पर्दैन। अनि उनीहरू आफ्नो छोराछोरीको पढाइप्रति चासो दिँदैनन् । त्यहाँको स्थानीय सरकार पनि कर्मकाण्डी मात्रै भूमिका खेल्छ र शिक्षक कर्मचारीलाई “सरकारी काम कहिले जाला घाम” भन्ने झैँ हुन्छ। अनि अन्तिममा नतिजा खोज्दा यी विद्यालय कहिल्यै सामान्य स्तर बाट माथि उठ्न सक्दैनन्।
केही दिनअघि यस्तै एउटा लापरबाहीको घटना बाहिर आएको छ । शैक्षिक भ्रमण जानका लागि पुरा विद्यालय नै बन्द गरेर शिक्षक कर्मचारी निस्किएको घटना। सिन्धुपाल्चोक जिल्लाको इन्द्रावती गाउँपालिका वडा नं ६ मा रहेको श्री सिपा तीनघरे संस्कृत उच्च माध्यमिक विद्यालयका शिक्षक तथा विद्यालय व्यवस्थापन समितिका केही पदाधिकारीहरू भ्रमण जाँदा विद्यालयको पुरा पठनपाठन प्रभावित भएको हो। कक्षा ११ र १२ लाई शैक्षिक भ्रमणको शीर्षकमा गरिएको घुमघाममा पुरा विद्यालय बन्द हुँदा शैक्षिक सत्र सुरु भएको केही समयमै विद्यार्थीहरू घरमै बस्न बाध्य भएका हुन् । यो वर्ष मात्रै होइन विगत वर्षहरूमा पनि विद्यालयले यसो गर्दै आएको एक स्थानीयले बताए।
त्यसो त कोरोनाका कारण झन्डै २ वर्ष शिक्षा क्षेत्र मारमा पर्यो। असोज देखि खुलेका विद्यालयहरू दसैँ, तिहार, छठ लगायतका पर्वमा फेरी बिदा भए। पढाई सुरु भएको २ महिना पनि पुरा नहुँदै शैक्षिक भ्रमणका नाममा घुम्न निस्कनु कतिको जायज होला ? विद्यालयले भनेजस्तै केही सिकाउनकै लागि लगिएको रहेछ भने पनि दुई वटा कक्षालाई सिकाउँदै गर्दा असर परेका १० ओटा कक्षाको जिम्मा कसले लिन्छ होला ?
मात्र एजुकेसनले सम्बन्धित निकायमा यो प्रश्न राखेको छ। विद्यालयका प्रधानाध्यापक पुण्य प्रसाद आचार्यलाई यो विषयमा प्रश्न गर्दा उनले यसलाई सकारात्मक रूपमा लिन आग्रह गरे। “भ्रमणमा म लगायतका केही साथीहरू गएका छैनौ, हामीले अतिरिक्त कक्षा लिएर र बिदाको समयमा पढाएर यसलाई परिपूर्ति गर्नेछौ। हाम्रो +२ चलेकै तल्लो तहका शिक्षक शिक्षिकाहरूले पढाएर हो। उहाँहरूलाई पठाउँदा केही साथीहरू मात्रै छुट्ने हुँदा पठाइएको हो “। कोरोनाको कारण बन्द भएको विद्यालय पुनः बन्द गर्न मिल्थ्यो र ? भन्ने हाम्रो प्रश्नमा उनी अगाडी भन्छन् , “हामीले कोरोनाको समयमा पनि पढाएका छौँ। हाम्रो विद्यालयलाई अन्त बन्द रहँदा पनि खोल्ने हिम्मत त्यति बेला हामीले गरेका थियौँ। त्यसो हुँदा पठनपाठन प्रभावित भएको छैन।” औसत भन्दा बढी नतिजा त कहिल्यै देखिँदैन नि भन्ने हाम्रो प्रश्नमा भने उनले त्यसलाई क्रमशः सुधार गर्दै जाने बताए।
यो एउटा प्रतिनिधिमूलक घटना मात्रै भए पनि यसले हाम्रो समग्र सामुदायिक विद्यालयको अवस्थालाई झल्काएको छ। नतिजा बिस्तारै सुधार हुँदै गर्छ अहिलेलाई आफ्नो खुसी गर्दै गरौँ भन्ने विद्यालय प्रशासन, यस्ता कुरामा सँगै रमाउने विद्यालय व्यवस्थापन समिति र कानमा तेल हालेर बस्ने स्थानीय सरकार रहेसम्म सामुदायिक विद्यालयको गुणस्तर सुधार होला भन्ने आशा गर्न सकिन्न। प्रतीकात्मक तस्बिर