काठमाडौँ- स्वतन्त्र शैक्षिक परामर्श संघ नेपाल (फेकन) ले बिहीबार अनाथ बालबालिकालाई खाद्यान्न वितरण गरेको छ । संस्थाले आफ्नो १३ औ वार्षिक उत्सवका अवसरमा उक्त कार्य गरेको हो । वार्षिक उत्सव मनाउन सामाजिक कार्य गर्ने फेकन कार्यसमितिको निर्णय अनुसार हिजो रक्तदान कार्यक्रम गरेको फेकन आज खाद्यान्न सहित मुलपानीमा रहेको स्नेहा बाल आश्रम पुगेको हो ।
फेकन महासचिव राजु निरौलाले मात्र एजुकेसनलाई दिएको जानकारी अनुसार करिब १ महिनालाई पुग्ने सामग्री वितरण गरिएको छ । संस्थाले आश्रमलाई दाल, चामल लगायतका खाद्यान्न सामग्रीका साथै साबुन, स्याम्पु लगायतका १५ थरी दैनिक उपभोग्य सामग्री प्रदान गरेको छ ।
कलाकार समेत रहेका आश्रम सञ्चालक सुलेमान शङ्कर इकु ले फेकनलाई धन्यवाद दिए । १४ जना बालबालिकाको अनुहारमा मुस्कान ल्याउने काम गरेको र मानवीय धर्म निभाएको भन्दै आफूसँग कृतज्ञता ज्ञापन गर्ने कुनै शब्द नरहेको उनले बताए । साथै भविष्यमा पनि संस्थाले सहयोग गर्ने अपेक्षा उनले राखेका छन् । विशेष गरी उनले आफ्नै लगानीमा निर्माण गर्न लागेको आश्रम भवनमा सहयोगको आशा उनले राखेका छन् ।