काठमाडौँ- स्वतन्त्र शैक्षिक परामर्श संघ, नेपाल (फेकन) ले आफ्नो १३ औँ स्थापना दिवसका अवसरमा रक्तदान कार्यक्रम आयोजना गरेको छ। मङ्सिर २९ गते बुधवार डिड्यास योकोसो कन्सल्टेन्सीको प्राङ्गणमा रक्तदान कार्यक्रम आयोजना गरिएको हो । त्यस्तै फेकनले आफ्नो वार्षिक उत्सवकै अवसर पारेर खाद्यान्न वितरण पनि गर्ने जनाएको छ।
मात्र एजुकेसन सँगको संवादमा फेकनका महासचिव राजु निरौलाले सामाजिक उत्तरदायित्व बहन गर्नका लागि कार्यक्रम आयोजना गरिएको बताए। शैक्षिक परामर्श व्यवसायीहरू व्यवसाय गर्ने मात्र नभई यो समाजका लागि पनि जिम्मेवार रहेको बताउँदै उनले अगाडि भने, “कोभिडका कारण अस्पतालहरूमा रगत अभाव देखिएको छ। कतिपय अवस्थामा रगत अभावकै कारण बिरामीको ज्यान नै जाने अवस्था समेत देखिएकाले त्यसको समाधानमा थोरै भए पनि भूमिका खेल्नका लागि हामीले रक्तदान कार्यक्रम राखेका हौँ।” कार्यक्रममा सबैको सक्रिय सहभागिता रहने उनको अपेक्षा छ।
त्यस्तै पुस १ गते फेकनको टोली मुलपानीमा रहेको स्नेहा बाल आश्रम पुगेर त्यहाँ रहेका अनाथ बालबालिकालाई खाद्यान्न वितरण गर्नेछ। १४ जना अनाथ बालबालिकालाई आश्रय दिइरहेको उक्त आश्रमका बालबालिका सँग आफ्नो स्थापना दिवस मनाउनुको उद्देश्य बारे प्रस्ट पार्दै फेकनका अध्यक्ष बासु नेपाल भन्छन्, “हामीले हाम्रो खुसी मनाउनका लागि सामाजिक कार्य गर्ने योजना बनाइरहेका छौँ। रगतको अभावमा अस्पतालमा छटपटाइरहेको बिरामीलाई रगत पुर्याउनु र सहाराविहीन बालबालिकाको अभिभावक बनेको आश्रमलाई केही योगदान गर्नु भन्दा उत्तम वार्षिकोत्सव मनाउने तरिका अरू कुनै होला र ?” त्यस्तै उनी रक्तदान गर्न मिल्ने सबैलाई यो मानवीय कार्यमा सहभागी हुन अपिल समेत गर्छन्।
परामर्श व्यवसायीहरूको छाता सङ्गठनका रूपमा स्थापित फेकनले १३ वर्ष पुरा गरेको छ भने निरन्तर परामर्श व्यवसायीहरूको समस्यामा सारथि बन्ने र पैरवी गर्ने काम गर्दै आएको छ।