काठमाडौँ- शिक्षक सेवा आयोगले आफ्नो कार्यतालिका कार्यान्वयन हुने कुरा दोहोर्याएको छ। लामो प्रतीक्षा र रस्साकस्सी पछि आफ्नो वार्षिक कार्यतालिका सार्वजनिक गरेको आयोगले विज्ञापनको केही तयारी नगर्दा शङ्का उत्पन्न भएको थियो। मङ्सिर महिनामा आयोग खुल्ने भएपछि तयारीमा लागेकाहरू विज्ञापनको सुरसार नहुँदा निराश थिए। आयोगले यो कार्यतालिकालाई राम्रो सँग पालना गरिदिओस् भन्ने उनीहरूको अपेक्षा अब भने पुरा हुने भएको छ। आयोगका सूचना अधिकारी सुदर्शन मरहट्ठाले कार्यतालिका कार्यान्वयन हुनेमा शङ्का नगर्न आग्रह गरेका छन्। त्यस्तै मङ्सिर सकिन अब धेरै दिन नरहेकाले यही तीन दिनभित्र खुला विज्ञापन गर्ने तयारीमा आयोग रहेको उनले बताएका छन् । आयोगले कार्यतालिका अनुसार १७ हजार २ सय २३ शिक्षकको नयाँ पदपूर्तिको खुला विज्ञापन गर्न लागेको हो।
मरहट्ठाका अनुसार यसपालि परीक्षा फारम भराउने काम पनि अनलाइनबाट हुनेछ। पुरानो तरिका बाट फारम भराउँदा समय लाग्ने भएकोले आयोगले यो नयाँ व्यवस्था गर्न लागेको हो। पहिलो पटक आयोगले अनलाइनबाट आवेदन दिन सकिने व्यवस्था गर्न लागेको हुँदा ठुलो सङ्ख्यामा शिक्षकहरूले आवेदन दिँदा पनि समस्या नआउने गरी व्यवस्थित प्रणालीको निर्माण गरिएको उनको भनाइ छ।
आयोगको कार्यतालिका अनुसार मङ्सिर महिनामा बढुवा र खुला विज्ञापन दुवैको परीक्षा विज्ञापन खुलाइनेछ भने कार्तिक महिनामा प्रतिशत निर्धारण गरिसक्ने लक्ष्य छ। त्यस्तै फारम भरेका परीक्षार्थीहरूले फागुनमा सामान्य परीक्षा र जेठमा विषयगत परीक्षा दिनेछन्। आर्थिक वर्ष २०७९/ ८० को असोज/कार्तिक महिनामा मात्रै स्थायी शिक्षक सिफारिस हुने देखिएको छ।
त्यसपछि मङ्सिर महिनामा आयोगले तिनै तहको करार सुची प्रकाशन गर्नेछ भने अध्यापन अनुमतिपत्रको फारम चैतमा खुलेर असारमा परीक्षा र असोजमा नतिजा प्रकाशन भई मङ्सिरमा लाइसेन्स वितरण हुनेछ।