काठमाडौँ – सरकारले तोकेबमोजिम ईसीडी शिक्षक (बाल विकास सहजकर्ता) र विद्यालय कर्मचारीको वृद्धि भएको तलब स्थानीय तहले निकासा नगरेको भन्दै देशका विभिन्न भागमा आन्दोलन र विरोध भइरहेको छ।
सरकारले गत जेठ १५ गते घोषणा गरेको ईसीडी शिक्षक र विद्यालय कर्मचारीको तलब सम्बन्धी व्यवस्था स्थानीय तहले बेवास्ता गरेपछि उनीहरू आन्दोलित भएका हुन् । ईसीडी शिक्षक र विद्यालय कर्मचारीलाई सङ्घीय सरकारले मासिक ८ हजार र स्थानीय सरकारबाट ७ हजार थप गरी १५ हजार दिने घोषणा गरेको भए पनि स्थानीय पालिकाले बेवास्ता गरेको गुनासो उनीहरूको छ।
यस विषयमा शिक्षा मन्त्रालयले पनि चासो व्यक्त गरेको भनिए पनि ठोस निर्देशन आउन सकेको छैन । यसरी देशभर आन्दोलन भइरहँदा केही स्थानीय तहले थपेर पुरा तलब दिएका छन् भने कहिले आंशिक त केहीले पुरै बेवास्ता पनि गरेका छन् ।
तलब दिन बेवास्ता गर्ने पालिकाहरूमा यतिबेला शिक्षक कर्मचारीहरूले आन्दोलन र विरोध गरिरहेका छन्। तलब थपेर दिन आनाकानि गर्ने देशभरका पालिकाहरूमा अनिश्चितकालिन विद्यालय बन्द, तालाबन्दी, धर्ना देखि पालिकाको कार्यालयमा धर्ना सम्मका कार्यक्रम अघि सारिएको छ। यसरी आन्दोलन र विरोधका लागि विद्यालय बन्द भएपछि सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घ, नेपालले चासो व्यक्त गरेको छ। विशेष गरी कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका कतिपय विद्यालयका शिक्षक कर्मचारीले आफ्नो माग सम्बोधनका लागि कक्षा सञ्चालन बन्द गराएकामा चासो व्यक्त गर्दै सहजीकरणको लागि आफ्ना सदस्य व्यवस्थापन समितिलाई आग्रह गरेको छ ।
यसअघि एक हप्ता अघि मात्रै शिक्षकका तलब सुविधा स्थानीय सरकारले खुवाउने गरी मुलुकभर शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले परिपत्र गरेको थियो। यति हुँदा पनि तलब नपाएपछि शिक्षक कर्मचारीले पछिल्लो समय विद्यालयमा रहेका ईसीडी कक्षा धमाधम बन्द गर्दै गइरहेका छन् ।
सुदूरपश्चिम प्रदेशको डोटी जिल्लाको आदर्श गाउँपालिका र कर्णाली प्रदेशको हुम्ला जिल्लाको सर्कैगार्ड गाउँपालिकाका ईसीडी कक्षा बन्द भएकाले पुनः सञ्चालनका लागि प्रयासरत रहेको महासङ्घका अध्यक्ष कृष्ण थापाले बताए। त्यसका लागि सम्बन्धित पालिकाको प्रतिनिधि र जिल्ला ईसीडी शिक्षकको सङ्घर्ष समितिका संयोजकबिच छलफल गराई कक्षा सञ्चालनको वातावरण बनाउन महासंघ लागि परेको उनको भनाइ छ। तर आन्दोलनरत पक्ष भने आफ्नो माग सम्बोधन नभए कुनै हालतमा कक्षा सञ्चालन नगर्ने तयारीमा रहेको बुझिएको छ। प्रतीकात्मक तस्बिर