काठमाडौँ- शिक्षक सेवा आयोगले लामो प्रतीक्षा र रस्साकस्सी पछि गत आइतबार आफ्नो वार्षिक कार्यतालिका सार्वजनिक गर्यो। तिहार लगत्तै विज्ञापन खुल्ने आशामा तयारी गरेकाहरू मङ्सिर महिनामा मात्र खुल्ने भएपछि निराश भएरै भए पनि तयारीमा लागेका छन्। उनीहरूलाई आयोगले यो कार्यतालिकालाई राम्रो सँग पालना गरिदिओस् भन्ने अपेक्षा छ। तर पछिल्ला घटनाक्रम हेर्दा यो कार्यतालिका जस्ताको त्यस्तै कार्यान्वयन हुन्छ भन्नेमा शङ्का उत्पन्न भएको छ।
आयोगको कार्य तालिका अनुसार शिक्षक बढुवाको विज्ञापन सबैभन्दा अगाडि गर्ने योजना छ। मङ्सिर महिनामा विज्ञापन खोलेर फागुनमा परीक्षा सक्ने आयोगको तयारी छ। त्यसका लागि आयोगले शिक्षक सेवा आयोग नियमावली संशोधन गर्नुपर्ने हुन्छ। यति बेला शिक्षामन्त्री विदेशमा छन्। मन्त्री पौडेले युनेस्कोको ४१ औ महासभामा भाग लिन नोभेम्बर १० तारिखमा फ्रान्स पुगेका हुन् । शिक्षामन्त्री स्वदेश नहुँदा नियमावली संशोधन हुन ढिला हुने देखिएको छ। यदि त्यसो भएमा आयोगले मङ्सिरमा गर्ने भनेको आन्तरिक बढुवा प्रक्रियाको कार्यतालिका पर धकेलिन सक्छ । यसरी एउटा काम पर धकेलिँदा त्यसले पुरै कार्य तालिकालाई असर गर्न सक्छ।
स्मरण रहोस् आयोग केही महिना अघि सम्म आयोग पदाधिकारीविहीन थियो। त्यही कारण ०७४र७५ देखि शिक्षक पदपूर्ति हुन सकेको छैन । बढुवाका कामहरू रोकिएका छन् । लाइसेन्ससङका काम ०७६ सालमा भएपछि भएको छैन । अझै पनि मन्त्रीको कारण वा अन्य कुनै कारणले शिक्षक पदपूर्ति लगायत आयोगका कामहरू रोकियो भने त्यसले दीर्घकाल सम्म नेपाली शिक्षाको गुणस्तरमा असर पार्न सक्छ।