काठमाडौँ- सरकारले तोकेबमोजिम प्रारम्भिक बालविकास सहकर्ता (इसीडी शिक्षक) र विद्यालय कर्मचारीलाई तलब नदिएको भन्दै दसैँ अघि देशभर आन्दोलन भयो । दसैँ पेस्की दिँदा केही पालिकाले थपेर दिए भने केहीले आन्दोलन टार्ने उपाय खोजे। तर अहिले पुनः स्थानीय तहले तलब निकासा नगरेको भन्दै देशका विभिन्न भागमा शिक्षक र कर्मचारीहरूले आन्दोलन चर्काएका छन् । इसीडी शिक्षक र विद्यालय कर्मचारीलाई सङ्घीय सरकारले मासिक ८ हजार र स्थानीय सरकारबाट ७ हजार थप गरी १५ हजार दिने घोषणा गरेको भए पनि स्थानीय पालिकाले बेवास्ता गरेको उनीहरूको गुनासो छ । यसरी आन्दोलनको क्रम जारी रहँदा अर्को एउटा पालिकामा भने हालसम्मकै कडा कदम चालेर शिक्षक कर्मचारीले विरोध गरेका छन्। आफ्नो माग पुरा गराउन उनीहरू तालाबन्दी मै उत्रिएका छन् ।
स्थानीय सरकारले थपेर तलब दिनुपर्ने निर्णय कार्यान्वयन नभएपछि हुम्लाको मध्ये भेगमा रहेको सर्केगार्ड गाउँपालिकामा आइतबारदेखि ताला लगाइएको छ। तलब थपेर दिनुपर्ने निर्णय कार्यान्वयन नभएको र गाउँपालिका आफूहरूको मागप्रति गम्भीर पनि नभएको भन्दै बालविकास सहकर्ता र विद्यालय कर्मचारीले ताला लगाएका हुन्।
३२ वटा विद्यालय मध्ये २८ वटा प्राथमिक तथा आधारभूत विद्यालयमा बाल विकासका कक्षा सञ्चालन हुँदै आएको ठाउँमा आफ्ना मागहरू प्रति पालिका उदासीन रहनु दुखको कुरा भएको शिक्षक कर्मचारी बताउँछन्। जिल्लाका अधिकांश पालिकाले आन्तरिक स्रोतबाट व्यवस्था गरेर तलब खुवाएको भए पनि सर्केगार्डले बेवास्ता गरेपछि उनीहरूले यो कठोर कदम चालेका हुन्। फाइल तस्विर