काठमाडौँ- रोजगार अनुमती प्रणाली (इपिएस) अन्तर्गत दक्षिण कोरिया रोजगारीमा जानेहरुका लागि सन् २०२१ को भाषा परीक्षा हुने भएको छ।
इपिएस शाखा ग्वार्कोले एक सूचना जारी गर्दै आगामी पुस १ गतेदेखि भाषा परीक्षा हुने जानकारी दिएको हो। शाखाका अनुसार परीक्षा कम्प्युटरमा आधारित (पेपरलेस) हुने छ। उक्त परीक्षा पुस ७ गतेसम्म चल्नेछ।
गत वर्ष भने कोभिडका कारण भाषा परीक्षा हुन सकेन। सन् २०१९ को भाषा परीक्षामा ८४ हजार २ सय १५ जना युवाहरुले सहभागिता जनाएका थिए। उनीहरुमध्ये १२ हजार ९ जनाले परीक्षा उत्तीर्ण गरेका थिए।
उत्तीर्ण गरेका मध्यबाट १० हजार ५० ले दक्षिण कोरिया प्रवेश पाउने बताइएको थियो। तर कोरोनाका कारण उनीहरुले प्रवेश पाउन सकेका छैनन्। लामो समयपछि प्रतिवद्ध कामदार भने लैजान सुरु गरेको छ।
दक्षिण कोरियाले सन् २००८ देखि कोटा छुट्ट्याएर नेपाली कामदार लैजाँदै आएको छ।