काठमाडौँ -कोरोनाको महामारी पछि थलिएको अब्रोड स्टडी अब लयमा फर्कने देखिएको छ। विभिन्न देशहरूले बिस्तारै सिमाना र प्रवेश खुला गर्ने निर्णय गर्दै लगेकाले अब विद्यार्थी तथा परामर्श व्यवसायीहरू आशावादी हुन थालेका छन्। यसैबिच अस्ट्रेलिया बाट एउटा खुसीको खबर प्राप्त भएको छ। प्राप्त जानकारी अनुसार अस्ट्रेलियाको औषधि नियामक निकायले (टिजीए) अनुमति दिएको खोप लगाएका विद्यार्थी न्यु साउथ वेल्स भित्रँदा क्वारेनटिन बस्न नपर्ने भएको छ । राज्य सरकारले गरेको नयाँ घोषणाले त्यहाँ भित्रने खोप लगाएका अन्य मानिस सरह नै विद्यार्थीलाई राखेको छ ।
शुक्रवार एक सूचना जारी गर्दै यस्तो जानकारी दिइएको हो। राज्यका प्रिमीयर डेमीनीक पेरोटेले जारी गरेको सूचनामा न्यु साउथ वेल्सलाई विश्व सँग जोड्न अन्तर्राष्ट्रिय विद्यार्थीहरूले ठुलो भूमिका खेल्ने भन्दै आफू समुदायको यस्तो महत्त्वपूर्ण भागलाई स्वागत गर्न आतुर रहेको बताएका छन्।
अन्तर्राष्ट्रिय विद्यार्थीहरूले अर्थतन्त्रमा मात्रै योगदान गर्ने नभई आफ्नो राज्यको संस्कृतिमा भूमिका खेल्ने र जीवनशैलीमा पनि योगदान गर्ने उनले उल्लेख गरेका छन्। उनकै शब्दमा भन्ने हो भने, “महामारी अघि करिब २ लाख ९० हजार अन्तर्राष्ट्रिय विद्यार्थी राज्यमा रहेका थिए र उनीहरूले करिब ९० हजार रोजगार सिर्जना गरेका थिए”। त्यसैले यो निर्णय पहिलेकै अवस्थामा पुग्नका लागि एउटा ठुलो कोशे ढुङ्गा हुने उनको ठहर छ।
सूचनामा बताइए अनुसार न्यु साउथ वेल्सको परीक्षण परियोजना अन्तर्गत विद्यार्थी लिएर आउने पहिलो चाटर्ड विमान सिड्नीमा ६ डिसेम्बरमा अवतरण गर्नेछ । उक्त विमानमा इन्डोनेसिया,सिंगापुर,भियतनाम,दक्षिण कोरिया,चीन, क्यानडा लगायतका १५ देशका २ सय ५० विद्यार्थी जानेछन् भने दोस्रो चार्टड विमान मार्फत दक्षिण एसिया र भारतका विद्यार्थीहरू लगिनेछ ।