काठमाडौँ- विद्यालय उमेर समूहका अधिकांश बालबालिका दसैँको बिदामा पनि तनाबमा देखिन्छन् । खाने खेल्ने र मनोरञ्जन गर्ने समयमा पनि उनीहरू गृहकार्यको बोझले गर्दा तनावमा देखिने गरेका हुन् । विद्यालय खुल्ने हरेक दिन साँझ बिहान किताब कपी फिँजाएर बस्ने बालबालिकाहरू दसैँ तथा अन्य लामो बिदामा पनि किताब कापी फिँजाएरै बसेका देखिन्छन् । गृहकार्यको बोझले गर्दा उनीहरूले आफ्ना अभिभावक तथा साथी सङ्गतिसँग आफ्नो बालापन साट्न नै पाउँदैनन् ।
यसो भन्दै गर्दा गृहकार्यको महत्त्वलाई पनि हामीले भुल्नु हुँदैन। शैक्षिक गुणस्तर परीक्षण केन्द्र (इआरओ) ले सन २०१९ मा गरेको गणित, नेपाली, विज्ञान र अङ्ग्रेजी विषयमा गरेको परीक्षणमा गृहकार्य नगर्नेभन्दा गृहकार्य गर्ने विद्यार्थीको सिकाइ उपलब्धि राम्रो भएको प्रतिवेदन सार्वजनिक गरेको छ । एकातर्फ सरकारी प्रतिवेदनले नै गृहकार्य गर्ने विद्यार्थीको सिकाइ उपलब्धि राम्रो देखाएको छ भने अर्कोतर्फ विज्ञहरू गृहकार्य धेरै दिँदा बालबालिकामा फोबिया भई सिकाइप्रति नै नकारात्मक धारणा उत्पन्न हुने विचार राख्दै आएका छन् । महामारीका कारण बालबालिकाको पठन संस्कृति विकास गर्न गृहकार्य दिँदै आइएको प्रधानाध्यापकहरू बताउँछन् ।
महामारी नभएको अवस्थामा सार्वजनिक बिदाका दिन बाहेक अरू दिन आफ्नो तौलभन्दा झन्डै दोब्बर तौल बराबरको किताब र कापीको भारी बोकेर स्कुल जान्थे हाम्रा विद्यार्थीहरू । बिहान बेलुका शिक्षकले दिएको गृहकार्यका कारण बालबालिका आमाबुबाबाट टाढिँदै गए भन्ने गुनासो सुन्ने गरिन्छ । उनीहरूले आफ्ना सुख दुःख अभिभावकसँग साट्न पाएनन्, फलस्वरूप परिवार तथा सांस्कृतिक परम्पराबाट उनीहरू टाढिँदै गए भन्ने धारणा संस्कृति विदले राख्दै आएका थिए । महामारीका कारण अहिले त झन् विकराल समस्या देखा पर्दै गएको छ । इन्टरनेट तथा अन्य प्रविधिको पहुँचका कारण उनीहरू पश्चिमा संस्कृतिको प्रभावमा परेर दिनप्रतिदिन बाबुआमा भन्दा टाढा हुँदै गएका छन् । इन्टरनेटको अति प्रयोगका कारण बालबालिकालाई सांस्कृतिक पुस्ता हस्तान्तरण गर्न नै मुस्किल हुँदै गएको छ ।
गृहकार्यको चापले विद्यार्थीलाई पाठ घोक्न त सिकाउँछ । तर सिर्जनशील हुनबाट भने रोक्छ । उनीहरूको खेल्ने खाने र मनोरञ्जन गर्ने समयमा गृहकार्यको गर्दा उनीहरूमा नकारात्मक असर पर्ने गरेको शिक्षाविद् विद्यानाथ कोइराला बताउँछन्। त्यसैले पाठ्यपुस्तक एवं गृहकार्यको भरिया बनाउनुभन्दा बालबालिकालाई सिर्जन शील बनाउनु सान्दर्भिक हुन्छ । पढाइ र सिकाइको सम्बन्ध बालबालिकाको मानसिक स्वास्थ्यसँग जोडिएको हुन्छ। अतः पाठ्यभार र विद्यार्थीको उमेर हेरेर कार्यहरू दिनु उपयुक्त हुन्छ।