Matra Education बुधबार, भाद्र ३ २०८३

आरपिमुनको ११ औँ संस्करण भव्य रूपमा सम्पन्न

आरपिमुनको ११ औँ संस्करण भव्य रूपमा सम्पन्न

  • मात्र एजुकेशन
  • सोमबार, भाद्र १ २०८३


काठमाडौँ– रिलायन्स एजुकेसन नेटवर्कद्वारा आयोजित नमुना संयुक्त राष्ट्रसंघ (आरपिमुन) को ११औँ संस्करण भव्य रूपमा सम्पन्न भएको छ। तीन दिनसम्म सञ्चालन भएको राष्ट्रिय सम्मेलन रिलायन्स पब्लिक स्कुलको सभाहल, कपनमा आइतबार सम्पन्न भएको हो।

समापन समारोहको अध्यक्षता रिलायन्स एजुकेसन नेटवर्कका सञ्चालक तथा वरिष्ठ चार्टर्ड एकाउन्टेन्ट राजुकुमार सिवाकोटीले गरेका थिए। कार्यक्रममा रिलायन्स एजुकेसन नेटवर्कका सञ्चालक नन्दुप्रसाद कुशवाहा प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए।

कार्यक्रमको सुरुवातमा दुई मिनेटको ध्यान तथा ‘थिम अफ द मन्थ’ बारे परिचर्चा गरिएको थियो। रिलायन्स एजुकेसन नेटवर्कका सञ्चालक समिति सदस्य तथा संस्कृति विभाग प्रमुख दामोदर निरौलाले उक्त परिचर्चा गरेका थिए।

सम्मेलनमा रहेका आठ वटै समितिका उत्कृष्ट विद्यार्थीको घोषणा सम्बन्धित समितिका अध्यक्षमार्फत गरिएको थियो। विभिन्न समितिमा सक्रिय रूपमा सहभागी भई उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीलाई समितिका अध्यक्षहरूले घोषणा गरेका थिए।

समापन समारोहमा उपस्थित सम्पूर्ण अतिथि, सहभागी तथा सहयोगीहरूलाई धन्यवाद ज्ञापन रिलायन्स एजुकेसन नेटवर्कका सञ्चालक समिति सदस्य तथा रिलायन्स पब्लिक स्कुलका प्रधानाध्यापक वसन्तलाल लामिछानेले गरेका थिए।

तीन दिनसम्म सञ्चालन भएको राष्ट्रिय सम्मेलनमा देशभरका २२ वटा विद्यालयबाट २०४ जना विद्यार्थी प्रतिनिधि सहभागी भएका थिए। काठमाडौँको कपनमा आयोजित सम्मेलनमा सहभागी विद्यार्थीहरूले विभिन्न नमुना संयुक्त राष्ट्रसङ्घीय समितिमार्फत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समसामयिक विषयमा छलफल, बहस, वार्ता तथा समस्या समाधानको अभ्यास गरेका थिए।

सम्मेलनमा विद्यार्थीहरूले संयुक्त राष्ट्रसङ्घीय अभ्यासका माध्यमबाट कूटनीतिक क्षमता, नेतृत्व विकास तथा अनुसन्धान सीप अभिवृद्धि गर्ने अवसर प्राप्त गरेका थिए। विभिन्न समितिमा सहभागी विद्यार्थीहरूले विश्वका जल्दा बल्दा विषयमा अध्ययन तथा छलफल गर्दै सम्भावित समाधानका उपाय पहिल्याउने अभ्यास गरेका थिए।

सम्मेलन निर्देशक दिलीप नेपाल र महासचिव रोहित सञ्जेलले ११औँ संस्करण सफलतापूर्वक सम्पन्न भएको बताउँदै आरपिमुनको १२औँ संस्करण आगामी वर्ष अझ भव्य रूपमा आयोजना गरिने जानकारी दिएका थिए।

समापन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष सिवाकोटीले अन्तर्राष्ट्रिय ढाँचामा आयोजना हुने यस्ता कार्यक्रमले विद्यार्थीमा आत्मविश्वास तथा नेतृत्व विकासमा अत्यन्तै राम्रो प्रभाव पार्ने बताएका थिए। कक्षाकोठाको अध्ययनसँगै विद्यार्थीलाई अन्तर्राष्ट्रिय विषयमा छलफल र बहस गर्ने अवसर प्रदान गर्ने यस्ता कार्यक्रमले उनीहरूको व्यक्तित्व विकासमा समेत सहयोग पुर्‍याउने उनको भनाइ थियो।

रिलायन्स एजुकेसन नेटवर्कले विद्यार्थीलाई कक्षाकोठाको ज्ञानभन्दा बाहिर गएर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समसामयिक विषयमा अध्ययन, अनुसन्धान, बहस र समस्या समाधानको व्यावहारिक अभ्यास गराउने उद्देश्यले आरपिमुन आयोजना गर्दै आएको जनाएको छ। यस्ता कार्यक्रमले विद्यार्थीमा विश्वका समसामयिक विषयबारे बुझाइ विस्तार गर्नुका साथै आत्मविश्वास, नेतृत्व क्षमता, कूटनीतिक सीप तथा अनुसन्धान क्षमताको विकासमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

रिलायन्स एजुकेसन नेटवर्कअन्तर्गत आयोजना हुँदै आएको आरपिमुनको ११औँ संस्करणमा देशका विभिन्न विद्यालयबाट आएका विद्यार्थीले तीन दिनसम्म संयुक्त राष्ट्रसङ्घीय ढाँचामा विभिन्न विषयमा छलफल तथा बहस गरेका थिए। कार्यक्रमले विद्यार्थीलाई अन्तर्राष्ट्रिय विषयमा आफ्नो धारणा राख्ने, अरूका विचार सुन्ने र वार्ताका माध्यमबाट समाधान खोज्ने व्यवहारिक अवसर प्रदान गरेको आयोजकले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड